Sunday, June 12, 2016

लोकमानसिंहको जिकीर- प्रधानन्यायाधीशसँग मेरो नाता छ, त्यसैले मेरो मुद्दा हेर्न मिल्दैन

काठमाडौं,जेठ ३० ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले कायम मुकायम प्रधानन्यायाधीश सुशीला कार्की नातेदार भएकाले आफूविरुद्धको अवहेलना मुद्दा हेर्न नमिल्ने जिकिर गर्दै सर्बोच्च अदालतमा निवेदन दिएका छन् । तर, प्रधानन्यायाधीश कार्कीले भने लोकमान कार्कीसँग आफ्नो आउ-जाउसमेत नभएको र नाता पर्छ भन्ने कुरा थाहा पनि नभएको बताएकी छन् ।

अख्तियार र दीक्षितसँग सम्बन्धित फाइल झिकाउन आदेश

साझा यातायातका सञ्चालक कनकमणि दीक्षितकी श्रीमती शान्ता दीक्षितले लोकमानविरुद्ध सर्बोच्चमा अदालतको अवहेलना मुद्दा दायर गरेकी थिइन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्ण बैठकले निर्णय नगरी कसैलाई बयान लिन नबोलाउनू वा पक्राउ नगर्नू भन्ने यसअघि सर्बोच्च अदालतले दिएको आदेशविपरित आफ्ना पतिलाई अख्यितारले पक्राउ गरेको भन्दै शान्ताले लोकमानविरुद्ध अवहेलना मुद्दा दायर गरेकी थिइन् ।

सोही मुद्दा प्रधानन्यायाधीश कार्कीको इजलासमा परेको छ । तर, आइतबार लोकमानका वकील करुणकर मल्लिकले सात पुस्ते विवरण पेश गर्दै कार्कीद्वयसँग नाता सम्बन्ध रहेको जिकीर गरेका थिए । तर, उनीहरुबीच के नाता पर्छ भन्ने स्पष्ट खुलाइएको छैन ।

नाता सम्बन्ध भएको जिकीरसहितको निवेदन पढेपछि प्रधानन्यायाधीश कार्कीले यसअघि पनि अख्तियारका मुद्दा आफूले हरेको तर विगतमा नाता सम्बन्धबारे जानकारी नगराएको बताइन् । ‘मलाई त उहाँ (लोकमान) नाता पर्नुहुन्छ भन्ने पनि थाहा छैन । न त हाम्रो आवतजावत नै छ,’ प्रधानन्यायाधीश सुशीला कार्कीले इजलासमा प्रश्न गरिन्, ‘मैले यसअघि पनि अख्तियारका मुद्दा हेरेकी छु, त्यतिबेला किन यस्तो निवेदन ल्याउनुभएन ?’

उनले अख्तियार र दीक्षितसँग सम्बन्धित सबै फाइल झिकाउन आदेश दिएकी छन् ।

पुस्तावली अवैध भएको दाबी

दीक्षितका वकिलहरुले भने अख्तियार प्रमुख कार्कीले पेश गरेको पुस्तावली अवैध भन्दै कार्कीकै इजलाशमा उक्त मुद्दाको सुनुवाई हुनुपर्ने जिकीर गरेका थिए । अंशमा हक लाग्ने नाता सम्बन्ध भएमामात्रै मुद्दा हेर्न नमिल्ने तर, सुशील र लोकमान अंशियार नभएकाले मुद्दा हेर्न मिल्ने उनीहरुले तर्क गरे ।

दीक्षितका वकिल रमेश बडालले लोकमानले दिएको पुस्तावली अवैधानिक भएको, सात पुस्ताभित्रको अंशियार भएमा मात्र मुद्दा हेर्न नमिल्ने व्यवस्था नियमावलीमा उल्लेख गरिएको र यो अदालतको अवहेलना सम्बन्धी मुद्दा भएकाले प्रधानन्यायाधीश कार्कीले आफ्नै इजलाशबाट सुनुवाइ गर्न मिल्ने तर्क गरे ।
-अनलाइनखबर

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts