Monday, June 6, 2016

‘कुन दिन दशा लागेर उपराष्ट्रपति भइएछ’ : पूर्वउपराष्ट्रपति झा

काठमाडौं, जेठ २५ । ‘कुन दिन दशा लागेर उपराष्ट्रपति भइएछ । न कुनै सुविधा छ, न कुनै सरकारी रेस्पोन्स, मानसिक तनाव मात्र बढायो यो पदले ।’ गौरीघाट बौद्धद्वार मार्ग, घर नम्बर ४४६/१४ को दोस्रो तलामा सोमबार बिहान पुग्दा पूर्वउपराष्ट्रपति परमानन्द झा निकै तनावमा देखिए । २०७२ कात्तिक १५ मा सेवानिवृत्त भएपछि उनी लाजिम्पाटको सरकारी निवासबाट गौरीघाटमा रहेको आफ्नै निवासमा सरे । सरकारी सुविधा भन्दै सरकारले चालकसहितको एउटा गाडी दियो । तर, चालकको पारिश्रमिक आएन । इन्धन छैन । पूर्वविशिष्ट पदाधिकारीको सुरक्षाको मापदण्डअनुसार ११ जना सेना खटिए । तिनको बसोबासको व्यवस्थासमेत उनैले आफ्नै घरमा मिलाउनुपर्‍यो ।

पूर्वराष्ट्रपतिलाई भने सरकारले घर, सुरक्षाकर्मी, चालक, सहयोगी सबै उपलब्ध गराएको छ । उनलाई भने कानुन बनेको छैन भन्दै टार्ने गरेको झाको आरोप छ । पूर्वउपराष्ट्रपतिको हैसियतमा कुनै आर्थिक सुविधा छैन । सरकारी चालकदेखि सुरक्षाकर्मीसम्मको भार उनकै जिम्मेवारीमा आयो । समस्या सुनाउन प्रधानमन्त्रीसँग डेढ महिनादेखि भेट्न खोज्दा कुनै प्रतिक्रिया आएन । कानुन मन्त्रीलाई नै भेटौं न त भन्दा समय पाएनन् उनले । उनी तनावमा रहनुको कारण यिनै थिए ।

‘मेरो सुरक्षा र पदीय सम्मान राख्नु राज्यको जिम्मेवारी हो भने सोहीअनुसारको प्रबन्ध हुनुपर्‍यो,’ उनले भने, ‘यी सबै मैले न्यायाधीशको पेन्सनबाट गर्नुपर्ने हो भने मलाई न चालक चाहियो न सेनाको सुरक्षा, सबै फिर्ता लगे हुन्छ ।’ सरकारी सम्मानसाथ भएको बिदाइ समारोहमा सरकारी सुविधा भन्दै दिएको चालक जयनारायण ठाकुरको मासिक पारिश्रमिक नदिनु अनि जानकारी नै नदिई अवकाश दिने घटनाले उनको चित्त बढी कुँडिएको रहेछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts