Friday, May 13, 2016

‘मेरा बाँच्ने दिन रहेछन्, कसो कसो खुकुरी झिक्न सकेँ

काठमाडौं,जेठ १ । ‘मेरा बाँच्ने दिन रहेछन्, कसो कसो खुकुरी झिक्न सकेँ र त्यसैले प्रहार गरेपछि भालु भाग्यो तर त्यति बेलासम्म मेरो पिँडुलाको मासु लुछिसकेको थियो। अनुहार रक्ताम्य बनाइसकेको थियो र बाँच्ने आशा सकिएको थियो,’ चलचित्रको कथाजस्तो लाग्ने यो भनाइ आजको गोरखापत्रमा छापिएको नौधन राईको हो।

सोलुखुम्बुको दुर्गम गाविस गुदेँल–९ का ५८ वर्षीय राईलाई जङ्गलमा घाँस काट्न जाँदा भालुले आक्रमण गर्‍यो। घटना दुई साताअघिको हो। भालुसँग लडाइँ जितेर धन्न बाँचेका राईको चार घण्टा टाढा सोताङ स्वास्थ्य चौकीमा उपचार हुन नसकी अवस्था नाजुक भएको समाचार गोरखापत्रले वैशाख १९ गते सम्पे्रषण गरेपछि बाँच्ने बाटो खुल्यो। दाताको सहयोगमा हेलिकोप्टरबाट उहाँ राजधानी आइपुगे।

‘एक्कासि बुट्यानबाट आएर झम्टियो, नआत्तिने कुरै भएन तर तुरुन्तै सम्हालिंदै बँच्ने उपायतिर मन गयो, लडाइँ नै भयो। ’ उपचारका लागि राजधानी आइपुगेका राई भरसक त्यतिबेलाको कुरा सम्झन चाहदैनन्। ‘त्यति ठूलो भालु कहिल्यै देखेको पनि थिइनँ, कालको मुखबाट फर्केको त्यो कुरा के सम्झनु,’ उनले भने।

‘कम्मरमा खुकुरी भिरेको थिएँ। दापबाट खुकुरी निकाल्न नपाउँदै भालुले लछारपछार गर्‍यो, खुकुरी निकाल्न सकेँ र त्यसपछि भालुको अनुहारमा हिर्काएँ, भालु भाग्यो तर डर भागेन,’ उनले थपे, ‘जस्तै भए पनि बाँच्न मन हुँदोरहेछ। घिस्रिएर जङ्गलबाट निस्किएँ, गुहार मागेँ। मानिस आए। मेरो शरीरभरि रगत थियो। छिमेकीहरूले बोकेर सोताङ अस्पताल पुर्‍याए पनि त्यहाँ उपचार सम्भव नभएपछि फेरि बाँच्ने आशा हरायो।’

समाचार छापिएकै आधारमा दावाग्लाल्जेन शेर्पाले हेलिकोप्टरबाट उनलाई उद्धार गरे। ‘मैले मानवीय भावनाले उहाँलाई बचाउन हेलिकोप्टरबाट काठमाडौँ ल्याएँ।’ सोलुखुम्बुकै लुक्लाका समाजसेवी शेर्पाले राजधानीको शिक्षण अस्पताल महाराजगञ्ज ल्याउँदा राईको घाउ पाक्न थालिसकेको थियो। ड्रेसिङ र प्रतिजैविक औषधि दिइयो।

जनावरले टोकेको घाउका लागि टिचिङ अस्पतालले रेबिज समेतका लागि टेकु अस्पताल पठायो। शेर्पाका अनुसार टेकुले रेबिजका सुई लगाउँदै वीर अस्पतालामा पठायो र वीर अस्पतालले मासु लुछेको त्यस ठाउँमा शल्यक्रिया गर्नुपर्ने तर त्यसका लागि धेरै समय लाग्ने जानकारी दियो। बस्न समस्या भएपछि शेर्पाले बौद्धको एक गेस्टहाउसमा राखेर शिर मेमोरियल बनेपाका चिकित्सकसँग त्यहाँ उपचारका लागि परामर्श गरिरहँदा राई घर फर्कन हतार गरिरहेका छन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts