काठमाडौं,जेठ १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा फेरि सत्ता समिकरण परिवर्तनको खेलमा जुटेका छन् । वर्तमान सत्ताको मुख्य घटक एमाओवादीलाई वाहिर निकालेर नयाँ सत्ता समिकरण निर्माण गर्ने प्रयासमा असफलता हात लागेपछि केही दिन कांग्रेस सभापति देउवा सुस्ताएका थिए । पहिलो प्रयास असफल भएपछि पार्टी वाहिरवाट मात्रै होइन भित्रैबाट समेत अलोचना बेहोरिरहेका देउवाको यो दोस्रो कदम अत्यन्त गोप्य ढंगले चालेका छन् ।
आजको समयबद्व साप्ताहिकमा खबर छ । एमाले र माओवादी केन्द्र बाहेकै बहुमत जुटाउने अभियानमा देउवा छन् । गैरकम्युनिष्टहरुलाई एकै ठाउँमा जुटाएर नयाँ सत्ता समिकरण निर्माण गर्ने अभियानअन्तर्गत कांग्रेस सभापति देउवाले गोप्य रुपमा विभिन्न प्रभावशाली नेताहरुलाई जिम्मेवारी दिएका छन् । समाचार स्रोतका अनुसार सर्वप्रथम पुर्वपञ्चहरुका पार्टी राप्रपा र राप्रपा नेपाललाई एकीकरण गराउने रणनीति रहेको छ । दुई राप्रपाको संसदमा ३८ सिट छ । यो जिम्मेवारीका लागि देउवाले आफ्ना निकटस्थ अर्जुन नरसिंह केसी, पशुपति शमशेर राणालाई जिम्मा दिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहका निकट सहयोगी प्रभाकर शमशेर राणा दुई राप्रपा एकीकरणका लागि घनिभूत रुपमा लागेका छन् । यही अभियानअन्तर्गत उनी पूर्व युवराज्ञी हिमानी शाहलाई लिएर चीन भ्रमण गएका छन् । सत्ता समिकरण परिवर्तनको अघिल्लो प्रयास चीनका कारण असफल भएको बुझाई देउवाको छ । त्यसैले उनले चीनलाई आफ्नो पक्षमा लिनका लागि प्रभाकर शमशेर कार्ड प्रयोग गरेको समाचार स्रोतले जनाएको छ । यसैगरी विभिन्न मधेसी दलहरुको एउटै मोर्चा निर्माण गर्ने रणनीति अनुरुप कांग्रेस सभापति देउवाले संवाद अघि बढाएका छन् । यसको संयोजन अमरेशकुमार सिंह, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, शरतसिंह भण्डारी, संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ लगायतले लिएका छन् । नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईसँग संवाद अघि बढाउनका लागि प्रदीप गिरिलाई जिम्मेवारी दिइएको छ ।
अध्यक्ष प्रचण्डले धोका दिएका कारण माओवादी केन्द्र फुटाउने रणनीतिमा देउवाको किचन क्याविनेट छ । जसका लागि बाबुराम भट्टराईसँग परामर्श गर्न प्रदीप गिरिलाई जिम्मेवारी दिइएको हो । संविधान निर्माणका क्रममा बाबुराम र देउवाबीच दूरी बढेको थियो । यो दुरीलाई नघटाएसम्म मधेसीदलहरुको समर्थन प्राप्त गर्न सजिलो नहुने सल्लाह सभापति देउवालाई प्रदीप गिरिले दिएका थिए । संविधान जारी हुना साथ मधेसी आन्दोलनका पक्षमा जुन नारा दिएर डा भट्टराई एमाओवादीबाट अलग भई स्वतन्त्र अभियानमा लागेका थिए, त्यही नारा यतिबेला कांग्रेसले बोकेको छ । यसलाई संयोग मात्रै मानिएको छैन ।
संसदमा सबै मधेसीदलहरुको सिट संख्या ५२ रहेको छ । दुई राप्रपाको ३८ र सबै मधेसीदलको ५२ गरी संसदमा ९० सिट छ भने नेपाली कांग्रेस एक्लैको दुई सय छ सिट छ । यो मिलाउँदा करिवकरिव बहुमत पुग्छ । आगामी असार मसान्तभित्र यो काम फत्ते गरिसक्ने रणनीति देउवाको छ । यो रणनीति अन्तर्गत यतिबेला पशुपतिशमशेर राणा भारतमा र प्रभाकर शमशेर राणा चीनमा छन् ।
समाचार स्रोतका अनुसार साना पार्टीहरुको भ्यागुताको धार्नी पु¥याएर प्रधानमन्त्री बन्न देउवा इच्छुक थिएनन् । उनी फेरि एकपल्ट माओवादी केन्द्रलाई वा एमालेकै माधव नेपाल पक्षलाई प्रयोग गर्ने रणनीतिमा थिए । तर, यो रणनीति फेरि पनि असफल हुने सूचना उनले भारतीय दूतावासबाटै पाए । केपी शर्मा ओलीले निकट भविष्यमै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने कुरा आएपछि गैरकम्युनिष्टहरुको मोर्चा बनाएर बहुमत जुटाउन कांग्रेस सभापति देउवालाई नेपाली सेना र भारतबाट दवाव आएको थियो । गत बुधबार एउटा जमघटमा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्ना निकटस्थहरुसँग भने–‘प्रधानमन्त्री ओली नेपाली सेनाद्वारा जति रुचाइएका नेता हुन्, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड त्यति नै नरुचाइएका नेता हुन् । त्यसैले देउवाले गरेको सत्ता समिकरण परिवर्तनको पहिलो प्रयास असफल भएको हो, अब विकल्प खोज्नुपर्छ, त्यो विकल्प माधव नेपाल हुनसक्छन् । ’
सत्ता समिकरण परिवर्तन जस्तो महत्वपूर्ण अभियानमा समेत सभापति देउवाले आफूहरुलाई सुइँकोसम्म नदिएको र दरवारियाहरुको मात्रै भरपरेको भन्दै नेपाली कांग्रेसभित्र असन्तुष्टि शुरु भएको छ । देउवा पक्षकै नेताहरु खुमबहादुर खड्का, गोपालमान सिंह लगायतका नेताहरु असन्तुष्ट बनेका छन् । यो असन्तुष्टिका कारण वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष केही बलियो हुँदै गएको छ । सभापति देउवा प्रमुख अतिथि रहेको कार्यक्रममा भन्दा वरिष्ठ नेता पौडेल प्रमुख अतिथि रहेको कार्याक्रममा कार्यकर्ताहरुको भीड बढ्न थालेको छ । गत महाधिबेशन, संसदीय दलको निर्वाचनमा देउवालाई साथ दिएका सांसदहरु समेत पौडलकहाँ आउजाउ गर्न थालेका छन् । यसरी पौडेल कहाँ जानेहरुमा खुमबहादुर निकटस्थ साँसदहरु धेरै छन् । देउवासँग वार्गेनिङका लागि खुमबहादुरले यो ट्रिक खेलेका हुन् या साँच्चै पौडेल शक्तिशाली बन्दै गइरहेका हुन् यकिन गर्न नसकिने एक नेताले बताए ।
यता विधान बमोजिम पार्टी संगठनलाई पूर्णता दिन असफल भएका सभापति देउवा भ्रातृ संस्थाको अधिबेशन गराउन पनि असफल हुने संकेत देखिएको छ । दुई महिनाअघि सम्पन्न केन्द्र्रीय समितिको बैठकले छ महिनाभित्र नेवि संघ, नेपाल तरुण दल र नेपाल महिला संघको महाधिबेशन गराउने निर्णय गरेको थियो । यी तीन वटा संगठनको महाधिबेशन २०६४ साल यता भएको छैन । तर, महाधिबेशसनका लागि कुनै तयारी भएको छैन । सभापति देउवाले खासै चासो लिएका छैनन् । फेरि पनि पूर्व सभापति सुशील कोइरालाले जस्तै मनोनित गरे भातृ संगठनको केन्द्रीय तदर्थ समिति परिवर्तन गर्ने रणनीतिमा सभापति देउवाको किचेन क्याविनेट रहेको समाचार स्रोतले जनाएको छ । देउवाको किचन क्याविनेटमा अराजनीतिक पृष्ठभूमिका राणा ठकुरीहरुको हालीमुहाली रहेका कारण खासै सूचना बाहिर आउने गरेको छैन ।
No comments:
Post a Comment