काठमाडौं,जेठ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको केहि समयमा नेपालले पानी जहाज किनेर विभिन्न सागरहरुमा चलाउने बताएका छन् । अखिल नेपाल महिला संघको प्रथम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल अब विकासको बाटोमा अघि बढ्ने बताएका हुन् ।
उनले भने, अन्य देशले जहाज चलाएका छन्, हामीले चलाउन नहुने हो र ? नेपालले आफ्नो पानीजहाज किन्न सक्दैन ? आफ्नो जहाजमा सामान ल्याएर आफ्नै रेलमा देशसम्म सामान ल्याइन्छ । अबको केहि वर्षमा प्रशान्त महासागर र हिन्द महासागरमा नेपाली झण्डा गाढेका जहाज चल्नेछन् ।
आफ्नो सरकारले तिब्र गतिमा देश विकास गर्ने कार्यक्रम अघि सारेको ओलीले बताए । त्यहि अनुसार नयाँ बजेट ल्याउन लागेको पनि उनले स्पष्ट पारे । उनले छिमेकी देशहरुसंगको पारवहन सम्झौता पनि कार्यान्वयन भइसकेको संकेत दिए ।
काठमाडौंका हिँडेको रेल नजिकै आइसक्यो, अब हामीले हाम्रो बाटो बनाएर यहाँ सम्म ल्याउनुपर्छ, ओलीले थपे । उनले आफुले प्रस्तुत गरेको निति कार्यक्रमले देशका विपन्न जनतालाई सम्बोधन गरेको दाबी गरेका छन् ।
साथै बजेटले साझा विकासलाई अगाडी सार्ने उनले बताए । उनले भने, गाउँगाउँमा रोजगारी दिने हाम्रो लक्ष्य छ । अब गाउँ गाउँ समृद्ध बन्नेछ र ठाउँठाउँमा हाइड्रोपावरमा जनताको सेयर राखेर उनीहरुको आथिर्गक स्थिति राम्रो बनाउने हाम्रो योजना हो । देशको आर्थिक वृद्धिदर ज्यादै न्युन भएको भन्दै त्यसलाई बढाउन आफु लागीपरेको उनले बताए । अहिले एक प्रतिशत पनि नभएको आर्थिक वृद्धिदर आगामी वर्ष ६ प्रतिशत पुर्याउने लक्ष्य लिएको उनको भनाई थियो ।
उनले एमालेका कार्यकर्तालाई कुनै गुटमा नलाग्न आग्रह गरे । देश बनाउने विषयमा, राम्रो काममा सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो ।
उनले भने, एमालेको नेतृत्वमा देशमा विभिन्न उपलब्धि भएको छ, देशको राष्ट्रिय राजनितिक तथा प्रशासनिक क्षेत्रमा एमालेको अग्रता छ । त्यसैले यो समयमा एमाले हुनुमा गर्व गर्नुपर्छ । एमालेभित्रै गुटबन्दी हुनु ज्यादै असोभनिय कुरा हो । उनले पार्टी र सिंगो देशलाई अगाडी बढाउनको लागि नेतृत्वमा आएको बताए ।
– www.chakrapath.com
No comments:
Post a Comment