Sunday, April 24, 2016

२२ घण्टापछि उद्धार गरिएका सोनिसलाई सेनाले निशुल्क पढाउने

काठमाडौं,बैशाख १२ । नेपाली सेनाले गत वर्षको भूकम्पमा परेर बाँच्न सफल नाबालक सोनिस अवाललाई स्नातक तहसम्म पढ्दा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेको छ । ‘गोरखा भूकम्प’ को एक वर्ष पुगेको दिन पारेर सैनिक मुख्यालयमा आइतबार आयोजित कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले अवाललाई शैक्षिक वृत्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । भक्तपुर मूलढोका निवासी श्याम अवालका सुपुत्र सोनिसलाई स्नातक तहसम्मको शिक्षा प्राप्त गरुन्जेल लाग्ने सबै खर्चको व्यवस्था मिलाइने सेनाले जनाइएको छ । अघिल्लो वर्ष वैशाख १२ गतेको भूकम्पमा परेका अवाललाई नेपाली सेनाको प्रयासमा २२ घन्टापछि सकुशल उद्धार गरिएको थियो ।

अभिभावकले छनोट गरेको विद्यालयमा कक्षा ५ सम्म शिक्षाआर्जन गर्दा सोनिसलाई लाग्ने सबै खर्च नेपाली सेनाले उपलब्ध गराउने तथा त्यसपछि वीरेन्द्र आवासीय महाविद्यालय भक्तपुरमा स्नातक तहसम्म अध्ययनको व्यवस्था मिलाइने सेनाले जनाएको छ । सेनाले भूकम्प गएको २२ घन्टापछि सकुशल उद्धार गरेको नाबालक अवालको तस्बिरले विश्वभर चर्चा पाएको थियो । भूकम्पबाट घर भत्किएर बिचल्लीमा परेको अवाल परिवारको जग्गाको लालपुर्जा नभएका कारण सरकारबाट प्रदान गरिने अनुदान हालसम्म प्राप्त गर्न नसकिएको उनकी आमा रस्मिलाले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग गुनासो गरे ।

नेपाल टेलिभिजनबाट प्रस्तुत प्रधानमन्त्रीसँग सिधा कुराकानी कार्यक्रममा सबैले धेरथोर राहत पाएको तर आफूले जग्गाको लालपुर्जा नभएका कारण राहत पाउन नसकेको भन्ने रस्मिलाको चिन्तालाई शान्त तुल्याउँदै प्रधानमन्त्रीले भने, ‘प्रमाणको कुरा होइन, मान्छेको कुरा हो, घर भत्किएको कुरा हो, तपाईंले सहयोग पाउनुहुन्छ ।’

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts