Monday, April 4, 2016

अफगानिस्तानमा १५ नेपाली बन्दी हैसियतमा

मानव तस्करको चंगुलमा परेर दिल्ली ट्रान्जिट हुँदै अफगानिस्तान लगिएका २१ नेपालीमध्ये ६ जना आफ्नै बलबुतामा दलालको पञ्जाबाट उम्किएर दिल्ली आइपुगेका छन् ।

एक महिने भिसा सकिन १२ घण्टा मात्रै बाँकी रहेपछि आफूहरुलाई लुकाएर राखिएको बन्दीगृहजस्तो कोठाबाट गत बिहीबार राति १२ बजे भागेर काबुल विमानस्थल पुगेको र त्यहाँबाट आफन्तले खर्च हालेर पठाएको टिकटबाट सिधैं दिल्ली आइपुगेको पीडित कामदारले बताए । सोमबार बाराखम्बा रोडस्थित नेपाली दूतावासमा आफूलाई अफगानिस्तान पठाउने एजेन्टका बारेमा उजुरी दिन आएका कामदारले काबुल बिमानस्थल नजिकैको बन्दकोठामा अरु १५ नेपाली गैरकानूनी अवस्थामा उद्धार पर्खेर बसिरहेको बताएका छन् ।

दुतावासमा काउन्सिलर यादव खनालले गैर कानूनी उपाय र सञ्जालमार्फत अफगानिस्तान पुगेका पीडित कामदारले काबुलमा अड्किएका अरु साथीभाइलाई समेत घरफिर्ता गर्न समन्वय चाहिरहेको बताए ।

जनही बढीमा १०  लाख रुपैयाँसम्म बुझाएर सुरक्षागार्ड काममा हिंडेका नेपालीमध्ये सन्तकुमार लावती(मोरङ), यादव गुरागाईं(मोरङ), रविन घिसिङ(मोरङ), प्रकाश बिक(म्याग्दी), किसन सुनुवार(म्याग्दी) र दिनेश खाती(भक्तपुर) छन् । पीडित कामदारले दिएको उजुरी आधारमा मीना नाम गरेकी शान्ति थापा(काठमाडौं), सागर गहतराज बिक(भक्तपुर), पदम बुढाथोकी(धनकुटा), आरके लिम्बू इजम(काठमाडौं) र सुनिल प्रधान(दार्जिलिङ)सहितका एजेन्टले २१ नेपालीलाई दिल्लीको बाटो हुँदै काबुल लगेका हुन् । ‘हामी त फँस्यौं, घरबारै उठ्ने गरी डुब्यौं,’ मोरङ, उर्लाबारीका यादवले भने, ‘अरु नेपाली दाजुभाइले अफगानिस्तान जाने भनेर सपना नदेख्नुहोस् भन्नका लागि हामी दुतावासमा कुरा राख्न आएका हौं ।’

उनका अनुसार अहिले पनि दिल्लीमै रहेका एजेन्टहरुले एक महिनाभित्र थप ८० नेपालीलाई काबुल पुर्‍याउन ‘सेटिङ’ गरिरहेका छन् ।

अहिले काबुल विमानस्थल नजिकैको बन्दीकोठामा मुस्किलको दैनिकी बिताइरहेका पीडितमध्ये पथरी, मोरङका रुद्र पोखरेलले ‘जे जसरी हुन्छ, घर फर्कन आफूहरुले चाहेको’ कान्तिपुरलाई फोनमा बताए । ‘हामी १५ जना यो बन्दीकोठामा छौं, अहिले पनि आफ्नै घरबाट खर्च मगाएर बिहानबेलुकाको दालरोटी खाइरहेका छौं,’ नेपाल प्रहरीका अवकाशप्राप्त कर्मचारी पोखरेलले भने, ‘हामीलाई यहाँ राखेको २ महिनाभन्दा बढी भएको छ, सबैजना भिसाविहीन बनेका छौं ।’ उनका अनुसार, काबुलमा रहेकी एजेन्ट शान्ति थापा(मीना) पनि एक सातादेखि सम्पर्कहीन रहेको र अरु एजेन्टले फोनमा ‘तिमेरको काम भैहाल्छ, चिन्ता नगर’ भन्दै कुराइरहेका छन् ।

बिहान–बेलुका बन्दीकोठामा आउने अफगानीले खाना पकाएर दिने गरेको र बाहिर कतै जान नसकिने अवस्था रहेको उनले बताए । सुरक्षागार्डको काम दिलाउने भनेर आफूबाट एजेन्टले साढे ६ लाख रुपैयाँ लिएको उनले बताए ।
काबुलमा बन्दीसरह जीवन बिताइरहेका नेपालीमा निरबहादुर महत(सुनसरी), नरबहादुर मगर(मोरङ), कुमार थापा(सुनसरी), रुद्र पोखरेल(मोरङ), ऋषि बस्नेत(उदयपुर), सरोज थापा(गोरखा), किरण थापा मगर(गोर्खा), हिराबहादुर थापा मगर(गोर्खा) र केशव गड्यौले(मोरङ) छन् । यसैगरी, हिरा तामाङ घिसिङ(हेटौंडा), सुरेश सापकोटा(भक्तपुर), लीलबहादुर गुरुङ(तनहुँ), बिजय परियार(गोर्खा), बिनोद गिरी(सिन्धुपाल्चोक) र गोपाल कुँवर(पर्वत) छन् ।

अफगानस्तान मामला पाकिस्तानले हेर्दै आएकोमा काबुलमा बन्धक रहेका नेपालीबारे इस्लामावादस्थित दुतावासलाई पनि जानकारी गराइएको छ । तर, उद्धार समन्वयको बिस्तृत प्रकृयाबारे छलफल हुन बाँकी रहेको दुतावासका अधिकारीले बताए । काबुलबाट फिरेका पीडितले दिल्लीमैं लुकिछिपी बसिरहेका एजेन्टको खोजी तथा कारबाहीका लागि दिल्लीको राजीव चोक प्रहरी चौकीमा पनि निवेदन दिएका छन् ।

यता दिल्लीस्थित नेपाली दुतावासको ‘नो अब्जेक्सन लेटर’ पाएपछि मात्रै दिल्लीको अफगान दुतावासले नेपालीलाई भिसा दिने भएकाले यसमा समेत थप कडाइ गर्ने तयारीमा नेपाली दुतावास लागेको छ । काउन्सिलर यादव खनालका अनुसार, सरकारले बैदेशिक रोजगारीमा खुला नगरिसकेको अवस्थामा अब आइन्दा भने औपचारिक कार्यक्रम अथवा अमेरिकी–बेसका सुरक्षित रोजगार निकायका हकमा मात्रै ‘नो अब्जेक्सन लेटर’ दिनु उपयुक्त भनेर दुतावासले निर्णय गर्ने भएको छ ।

Source : ekantipur.com

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts