Sunday, April 10, 2016

लोडसेडिङ अन्त्य: घोषणा मात्रै, चालू आर्थिक वर्षमा ५० मेगावाट मात्रै थपिने

काठमाडौं,चैत २९ ।  प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका छन्। तर, सरकारको कामगराइले लोडसेडिङ अन्त्य गर्न अझै धेरै वर्ष लाग्ने देखिएको छ।

सरकारी अनुमानमा आगामी हिउँदमा उच्चतम विद्युत् माग एक हजार चार सय २३ मेगावाट छ । हिउँदमा अहिले सञ्चालित, भारतबाट आयात हुने, एक वर्षभित्र निर्माण सकिने र सौर्य तथा वायु ऊर्जाबाट गरी एक हजार ६७ मेगावाट आपूर्ति हुनेछ। बाँकी अपुग मागमा सम्भव भएसम्म अन्य नवीकरणीय ऊर्जाबाट आपूर्ति गर्ने सरकारको योजना छ।

फागुनमा जारी सरकारको अवधारणापत्रमा एक वर्षभित्र निजी क्षेत्रका करिब दुई सय मेगावाटका आयोजना निर्माण सम्पन्न हुने अनुमान थियो। तर, करिब एक सय ५० मेगावाट मात्रै आपूर्ति हुने भएको छ। भारतबाट विद्युत् आयात बढाउन नेपालतर्फको प्रसारण लाइन क्षमता छैन। नेपाल विद्युत् प्राधिकरणका अनुसार हरेक वर्ष विद्युत् माग १० प्रतिशत बढिरहेको हुन्छ। तर, उत्पादन कम छ।

भारतबाट विद्युत् आयात अनिश्चित

सरकारले एक वर्षभित्र आधारभूत रूपमा लोडसेडिङ अन्त्य गर्न भारतबाट पाँच सय ८० मेगावाट विद्युत् आयातको लक्ष्य राखेको छ। विद्युत् आयात गर्न ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर प्रसारण लाइन निर्माण सकिएको छ। तर, ढल्केबरमा २२० केभी सबस्टेसन निर्माण अनिश्चित छ भने आन्तरिक प्रसारण लाइनको क्षमता पनि छैन।

चालू आर्थिक वर्षमा ५० मेगावाट मात्रै थपिने

सरकारले चालू आर्थिक वर्ष ०७२/७३ मा एक सय २० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने अनुमान गरेको छ। तर, ५० मेगावाट मात्रै थपिने अवस्था रहेको नेपाल विद्युत् प्राधिकरण स्रोतले बताएको छ। चिनियाँ लगानीमा निर्माणाधीन ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ए जलविद्युत् आयोजना चालू आवमा नसकिने निश्चित भएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts