Wednesday, March 16, 2016

पेट्रोलियममा नाफाखोरीको मिलेमतोमा यसरी लुटिन्छ उपभोक्ताका अर्बौं रुपैयाँ

काठमाडौं,चैत ४ । पेट्रोलियम पदार्थ आयात, ढुवानी, भण्डारण र वितरण व्यवस्थित नहुँदा नेपाली उपभोक्ता बर्सेनि अर्बौं रुपैयाँ नाफाखोरीको सञ्जाललाई लुटाउन बाध्य छन्। नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अनुसार विभिन्न तहमा अनेक बहाना गरी उपभोक्ताबाट मासिक १५ करोड ३७ लाख रुपैयाँ लुटिइँदै आएको छ।

नेपाललाई इन्धन उपलब्ध गराउँदै आएको भारतीय सरकारी निकाय इन्डियन आयल कर्पोरेसन (आइओसी) का कर्मचारी, आइओसीबाट निगमको भण्डारणसम्म ढुवानी गर्ने व्यवसायी, ट्यांकर चालक, निगमका कर्मचारी र व्यवसायीको जालोले इन्धन खरिददेखि बिक्रीसम्म मिलोमतोमा तेल नै नदिई यत्रो रकम असुलिरहेका छन्।

अझ आश्चर्य त यो तथ्य सरोकार निकाय सबैलाई थाहा भए पनि उपभोक्ताको हितमा कोही बोल्दैनन्, सबै आँखा चिम्लन्छन्। एसोसिएसनले आयल निगमबाट डिलरले खरिद गरेको प्रति १२ हजार लिटर (एक ट्यांकर) पेट्रोलियम पदार्थमा २ सय लिटर कम हुने गरेको लिखित पत्र हालै आपूर्तिमन्त्री र आयल निगममा पेस गरेपछि यो रहस्य खुलेको हो।

एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले हस्ताक्षर गरी आपूर्तिमन्त्री गणेशमान पुन र निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बुझाएको पत्रमा तेल कम दिने समस्या समाधान नभए कम हुने परिमाण बिक्री लागत खर्चमा राखी खुद्रा बिक्री मूल्य कायम गरेर मात्र बिक्री गर्ने चेतावनी दिइएको छ।

आयल निगम र डिलरबीच मासिक ९ करोड लिटर डिजेल र २ करोड ५० लाख लिटर पेट्रोल गरी करिब ११ करोड ५० लिटर इन्धन किनबेच हुन्छ। कागजमा यही परिमाण उल्लेख भए पनि निगमले मासिक १९ लाख १६ हजार ६ सय लिटर कम पेट्रोलरडिजेल दिने गरेको एसोसिएसनको दाबी छ। अर्थात् पम्प व्यवसायीले निगमबाट प्रतिट्यांकर २ सय लिटर कम तेल पाउँछन्। यसको अर्थ पम्पवालाले १२ हजार लिटरकै रकम भुक्तानी गरे पनि निगमले ११ हजार ८ सय लिटर मात्र तेल खन्याइदिन्छ।

निगमबाटै कम तेल आएको दाबी गर्ने व्यवसायीले उल्लिखित परिमाण पेट्रोलियम पदार्थबापत वार्षिक १ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ आयल निगमलाई बुझाउँछन्। उक्त रकम व्यवसायीले खल्तीबाट नभई उपभोक्ताबाटै असुलिरहेका हुन्छन्।

आइओसीबाट पेट्रोलियम पदार्थ खरिददेखि उपभोक्ताको सवारीसाधनमा भर्दासम्म क्यालिब्रेसन, स्रिंकेज, ट्यांकरबाट चोरी, क्वान्टिटी भेरिएसन, भण्डारण, टफअफ, वर्किङ लसजस्ता बहानामा निगम, ढुवानीकर्ता र व्यवसायीले अघोषित नाफा कमाइरहेका छन्। निगमले पम्पबाट फाइदा लिन्छ, पम्पवाला कम परिमाण तेल दिएर उपभोक्ता ठग्छन्। आजको नागरिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts