काठमाडौं,चैत १६ । नेपाली कांग्रेस महाधिवेशन सम्पन्न भएपछि सरकारको विकल्पमा चिया चर्चा सुरु भएको हो। तर वर्तमान सरकार सरकार परिवर्तन गर्न कांग्रेस अग्रसर भएमा उसलाई तत्कालको अवस्थामा बहुमत पुर्याउन कठिन छ। संसद्मा कायम ५ सय ९७ मध्ये विपक्षमा २ सय ४९ सांसद छन्। बाँकी ४८ मत बटुल्न कांग्रेसलाई सजिलो छैन। पहिलो विकल्पमा सुविधाजनक बहुमतका लागि वर्तमान गठबन्धनबाट एमाओवादी बाहिरिनुपर्ने हुन्छ, तर अहिले त्यो सम्भावना छैन।
एमाओवादीबाहेकको विकल्पका लागि कम्तीमा पनि सत्तारुढ गठबन्धनबाट फोरम लोकतान्त्रिक, राप्रपा र राप्रपा नेपाल बाहिरिनुपर्ने हुन्छ। राप्रपा नेपालको २५, फोरम लोकतान्त्रिकको १४ र राप्रपाको १२ मत जोड्दा कांग्रेसको पक्षमा सामान्य बहुमत अर्थात् तीन सय मत पुग्छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।
तर, राप्रपा नेपाल र राप्रपा तत्काल ओली सरकार परिवर्तनको पक्षमा छैनन्। राप्रपा नेपालका अध्यक्ष कमल थापा १८ र १९ चैतमा वीरगन्जमा हुने केन्द्रीय कमिटी विस्तारित बैठकमा वर्तमान सरकारलाई थप बलियो बनाउनुपर्नेसहितको राजनीतिक प्रस्ताव पेस गर्ने तयारीमा छन्।
पार्टीबाट एकजनाले मात्र सरकारमा प्रतिनिधित्व गरे पनि राप्रपाले तत्कालै राष्ट्रिय सरकार गठनको विषयमा केही बोलेको छैन। ‘अहिलेको सरकारको विकल्प सोच्नेगरी नीति बनाउने तहमा हामी पुगेका छैनौं, हामी जहिले पनि राष्ट्रिय राजनीतिको आवश्यकताअनुसार भूमिका खेल्छौं,’ राप्रपा सहप्रवक्ता किरण गिरी भन्छन्, ‘तर संघीयताको टुंगो लागेपछि मात्रै चुनावमा जानुपर्छ, त्यसका लागि प्रमुख तीन दल एक ठाउँमा हुनुपर्छ।’
No comments:
Post a Comment