शिखरमा पुगेको आन्दोलन ‘ब्रेक’ नगर्न आग्रह
काठमाडौंः नेपाल सरकार र चीन सरकारबीच १५ बुँदे संयुक्त विज्ञप्तीमा हस्ताक्षर भएको एक दिन पुरा नहुँदै मधेसी दलका नेताहरु लैनचौरस्थित भारतीय दूतावासमा पुगेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु ब्रेक फास्ट लिन भन्दै बिहीबार बिहानै भारतीय दूतावासमा पुगेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग पारवहनसहितका महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेपछि दुई देशले बुधबार संयुक्त विज्ञप्ती निकालेका थिए ।
भारतीय राजदूत रणजीत रेको निम्तोमा ब्रेक फास्ट लिन लैनचौर पुगेका मधेसी दलका नेताहरुले आन्दोलनलाई शिखरमा पुर्याएर ‘ब्रेक’ नगर्न आग्रह गरेका थिए ।
होलीको शुभकामना लिनदिन बोलाइएको ब्रेक फास्ट भेटवार्तामा नेताहरुले यसअघि पनि भारतकै कारण आफूहरुको आन्दोलन ‘ब्रेक’ भएको गुनासो गरेका स्रोतको दाबी छ ।
‘होलीको अवसरमा शुभकामना लिएका छौं । नयाँ वर्षबाट सुरु हुने हाम्रो आन्दोलनलाई शिखरमा पुर्याएपछि ‘ब्रेक’ नगरियोस्’, रेसँगको भेटवार्तामा मधेसी दलका नेताको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘नयाँ वर्षबाट हामी अर्को चरणको कडा आन्दोलन गर्छौं, यो आन्दोलन निचोडमा नपुगुन्जेल रोकिँदैनौ ।’
चीनसँगको नेपालको सहमतिको एक दिन नबित्दै आफ्नो सक्रियता बढाएका भारतीय राजदूत रेले दूतावासमा आएका मधेसी मोर्चाका नेताहरुसँग आन्दोलनका भावी कार्यक्रमबारे जानकारी मागेका
थिए ।
आन्दोलनका कार्यक्रबारे राजदूत रेले जिज्ञासा राखेपछि मोर्चाका नेताहरुले यसअघिको आन्दोलन पनि निचोडमा नपुगि सकिएकाले यो पटक भने निचोडमै पुगिछाड्ने जबाफ दिएका थिए ।
भारतीय दूतावासमा ब्रेक फास्ट लिन उपेन्द्र यादव, महन्थ ठाकुर, राजकिशोर यादव, अनिल झा र राजेन्द्र महतोसहितका मधेसी दलका नेताहरु पुगेका थिए ।
Source: annapurnapost.com
No comments:
Post a Comment