Wednesday, March 30, 2016

ट्वान्टी–२० विश्वकप सेमिफाइनल: कोहली र गेलको परीक्षा आज

काठमाडौं,चैत १८ । आयोजक भारत र वेस्ट इन्डिजबीच बिहीबार मुम्बईमा ट्वान्टी–२० विश्वकपको सेमिफाइनल भिडन्त हुँदा उच्च फर्ममा रहेका विराट कोहलीले पाउँदै आएको वाहवाही खोस्नेमा क्रिस गेल प्रतिबद्ध छन् ।आक्रामक ओपनरले प्रतियोगिताको पहिलो खेलमा इङ्ल्यान्डविरुद्ध विजय हासिल गर्दा ११ छक्कासहित अविजित शतक बनाएका थिए । तर, त्यसपछि एकपटक मात्र ब्याटिङ मौका पाउँदा उनी चार रनमा समेटिए ।

समूह चरणमा पाकिस्तानविरुद्ध अर्धशतक तथा अस्ट्रेलियाविरुद्ध अविजित ८२ रन बनाउँदै भारतलाई दुवै खेलमा विजय दिलाएका कोहली प्रतियोगितामा सबैभन्दा ठूलो स्टारका रूपमा स्थापित भएका छन् । मुम्बईको वाङ्खडे रंगशालाको फ्ल्याट विकेट ब्याट्सम्यानका सधँै प्रिय हुने गरेको छ । त्यसैले आयोजक र २०१२ को च्याम्पियनबीच हुने अन्तिम चारको खेल ठूला सट खेल्नेहरूबीचको पनि भिडन्तमा प्रमाणित हुनेछ । नागरिक दैनिकमा समाचार छ ।

‘म क्रिस गेल के हो भनेर देखाउन चाहन्छु,’ गेलले मंगलबार विपक्षीलाई चुनौती दिँदै भनेका थिए, ‘मैले प्रतियोगितामा दुईपटकमात्र ब्याटिङ गर्ने मौका पाएको छु । तर, सेमिफाइनल मेरा लागि प्रतियोगितामा सुरुआतजस्तै हुनेछ । ब्याटबाट उच्च प्रदर्शन गर्दै म टोलीको जितमा महत्वपूर्ण योगदान गर्न चाहन्छु ।’

३६ वर्षे गेलले प्रतियोगितामा सर्वाधिक १ सय ८४ रन बनाएका कोहलीलाई ‘विश्व विजेता’ का रूपमा बयान गरे पनि बिहीबारको खेलमा दुवै टोलीले त्यस्ता व्यक्तिगत प्रतिभालाई धेरै वास्ता नगर्ने बताए । ‘क्रिस गेल सधै सकारात्मक खेलाडी हो । आफूविरुद्ध कसले बलिङ गरिरहेछ भन्ने उसलाई वास्ता हुँदैन,’ गेलले भने, ‘क्रिस गेलले खाली आक्रमण गर्न जानेको छ । ट्वान्टी–२० क्रिकेट र क्रिस गेलको स्वभाव पनि यस्तै हो ।

भारतका प्रशिक्षक रवि शास्त्रीले आफ्ना बलरहरू गेलबाट सचेत रहेको बताउँदै उनलाई धेरै खुल्न नदिने बताए । ‘हाम्रा बलरले गेललाई लक्ष्य बनाएर खेल्नेछन्,’ बुधबार पत्रकार सम्मेलनमा शास्त्रीले भने । कोहलीले लगातारको उच्च प्रदर्शनबाट आफूलाई क्रिकेटका महान हस्तीमा प्रमाणित गर्दै लगेको भारतका पूर्व अलराउन्डर शास्त्रीको भनाइ थियो । ‘विश्वकपको यो अवस्थासम्म आइपुग्दा कोहलीलाई जस नदिइरहन सकिन्न । उनको कडा मिहिनेत र उच्च प्रदर्शन हाम्रा लागि सधँै महŒवपूर्ण रहँदै आएको छ,’ शास्त्रीले भने, ‘कोहलीले कुनै दिन आफूलाई क्रिकेटको सर्वकालीन महान हस्तीमा उभ्याउने छन् ।’

२००७ मा सम्पन्न पहिलो संस्करणको विजेता भारत ट्वान्टी–२० विश्वकपको दुई संस्करण जित्ने पहिलो टोली बन्ने अभियानमा बिहीबारको खेल जितेर एक कदम नजिक पुग्न चाहन्छ । त्यसका लागि टोलीलाई घरेलु मैदानको फाइदा पनि हुनेछ । त्यसो भए प्रेरणादायी कप्तान महेन्द्रसिंह धोनीले पनि उच्च अवस्थामा रहँदा संन्यास घोषणा गर्न पाउने थिए । धोनीले यही विश्वकपपछि संन्यास लिने योजना बनाइरहेको भारतीय सञ्चारमाध्यममा जनाइएको छ ।

पहिलो खेलमा न्युजिल्यान्डसँग स्तब्ध भए पनि भारतले त्यसपछि लगातार तीन खेलमा विजय हासिल गर्दै सेमिफाइनल सुरक्षित गरेको थियो । ठिक विपरीत वेस्ट इन्डिजले भने सुरुका तीन खेल जितेर अन्तिम चारमा ठाउँ पक्का गरिसकेपछि अर्थहीन खेलमा कमजोर मानिएको अफगानिस्तानलाई नतिजा सुम्पिएको थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts