कुनै समय उनको स्टारडमको यस्तो डंका थियो। फिल्म चल्न र दर्शक तान्न पोस्टरमा उनको ठूलो पोस्टर काफी हुन्थ्यो। त्यो एउटा सुनौलो समय थियो अभिनेता राजेश हमालका लागि। उनी नेपालका पहिला सुपरस्टार हुन्। त्यो समय कति हलमा उनको बाहेक अरुको फिल्म चल्दैन्थे। समयसँगै त्यो दौर सकियो। समय यस्तो पनि आयो कुनै समय सबैका ‘हाइ हाइ’ हमालमाथि नेपाली फिल्मको दिशा मोड्नमा उदासिन भएको आरोप लाग्न सुरु भयो, अझै लागिरहेको छ।
राजेश अहिले लामो अन्तरालपछि फेरि कुनै फिल्मका कारण चर्चामा छन्। ‘बागमती’ फिल्मको ट्रेलर रिलिजपछि राजेशको वक्सअफिसमा ‘कम्ब्याक’ हुने आँकलन फिल्मी क्षेत्रले गरेको छ। उनी स्वयम फिल्मलाई लिएर विशेष उत्साहित छन्। फिल्म प्रचारको कुनै प्लेटफर्मलाई उनले ‘नाईं’ भनेका छैनन्। आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको ‘बागमती’को कुराकानीमा हमाल यस्तो सुनिए।
१. के राजेश अझै पनि त्यही राजेश हो?
हो, राजेश अझै पनि त्यही राजेश हो र त्यही राजेश नै रहिरहने छ।
२. ‘बागमती’मा पनि तपाईंले पहिलेका फिल्ममा झैं कपाल हल्लाइरहेको देखिन्छ। स्टाइल त्यस्तै। यसले त्यो तपाईको ‘शंकर हूँ म शंकर’ भन्ने स्टाइलसँग दर्शकलाई ‘नोस्टालजिक’ बनाउँछ जस्तो लाग्छ?
यसको स्वाद अलि बेग्लै छ। विगतका फिल्म हेर्ने दर्शकहरुलाई ‘नोस्टाल्जिक’ बनाउन सक्छ।
३. धेरैलाईचाँहि तपाईले ‘बागमती’ किन गर्नु भो भन्ने छ?
एउटा बेग्लै स्वाद दिन बनाइएको चलचित्र छ। बेग्लै स्वाद दिने चलचित्र भेटाउँदा कलाकारलाई त गरूँ भन्ने लागिहाल्छ। यसको टिम राम्रो छ। यसको कथावस्तु एवम् सम्पूर्ण चिजले नै आकर्षित गर्या हो मलाई।
४. फिल्मका निर्देशक दक्षिण भारतका हुन् भनेर प्रचार गरिएको छ। टिजर र ट्रेलरमा पनि जून तरिकाले तपाईलाईं देखाइएको छ त्यसले फिल्ममा तपाईंलाई जून स्टारडम दिलायो त्यसैलाई नै प्रयोग गरिएको देखिन्छ?
चलचित्र ‘बागमती’बाट दर्शकहरुले बेग्लै स्वाद पाउनुहुन्छ। फिल्ममा दर्शकले पहिला जस्तो राजेश पाउनुहुन्थ्यो यसमा पनि त्यस्तै पाउनुहुन्छ तर केहि फरक स्वादमा ।
५. सन्नी केरलालाई निर्देशकका रुपमा कस्ता रहेछन्?
अहिले मैले सम्पूर्ण चलचित्र हेरिसकेको छु। त्यो हेरपछि समग्रमा उहाँको काम उत्कृष्ट छ, एकदमै राम्रो। मैले यो चिज पूरा चलचित्र हेरिसकेकाले पूर्ण आत्मविश्वासका साथ भन्दैछु।
फिल्मको कथा, मेरो काम मात्र दर्शकले फरकरुपमा पाउनुसँगै फिल्मको स्टाइल, टेकिङ् र मेकिङ्का हिसाबले गरेको फरक कामलाई दर्शकहरुले पाउनुहुनेछ।
६.पछिल्लो समय तपाईंलाई लिएर ‘कमब्याक’ शब्दको प्रयोग धेरै नै भइरहेको छ, भयो। तपाईंले यसलाई ‘कम्ब्याक’ होइन भन्नु भएको छ। तपाईंलाई यो शब्द तपाईंको फिल्महरुले जून खाले वक्स अफिस रिजल्ट दिन्थे त्यही दोहोर्याउने हिसाबले भनिएको हो जस्ता लाग्दैन्?
सायद त्यहि एङ्गल नै समातेर भन्नुभएको हुनसक्छ। ‘बागमती’मा मेरो जबरदस्त प्रस्तुति छ र त्यो एउटा लामो अन्तरालपछि आउँदैछ भनेर त्यसैलाई नै ‘कम्ब्याक’ भनिएको होला। तर वास्तविक्तामा त म यो क्षेत्र छोडेर कतै गएकै छैन्। म यही नै छु। यसमा ‘बागमती’ले एउटा नयाँ आयाम ल्याउँछ कि जस्तो लाग्छ।
७.तपाईंले पूरै फिल्म हेरिसक्नुभाछ। त्यो चरित्र म आफूले गरेको हूँ भनेर एउटा दर्शकमात्र भएर मनन गर्दा फिल्म सकिएपछि फिल्मको ‘ओभरअल इम्प्रेसन’ तपाईंमा के पर्यो?
असाध्यै सकारात्मक। एउटा चलचित्र नै हेरें भन्ने ह्याङ् दर्शकलाई चलचित्र सकिएपछि हुनुपर्छ। त्यसैलाइ राम्रो चलचित्र मानिन्छ। मलाई पनि त्यसको ‘ह्याङ्’ हुनुपर्छ भन्ने लाग्छ। ‘बागमती’ हेरेपछि मलाई पनि त्यसको विषयवस्तु, प्रस्तुतिले पछ्याइ रह्यो। ‘बागमती’मा त्यो प्रभाव छोड्ने क्षमताचाँहि छ।
८.लगभग एक दशक अघि हुनुपर्छ। पत्रकार विजयकुमारलाई दिएको अन्तरवार्तामा तपाईंले भन्नु भएको थियो: ‘तपाईंले मलाई मैले अभिनयको पराकास्टा नाघेका कुनै पाँच फिल्मको नाम भन भन्नु भयो भने त्यो मसँग छैन् भन्नु भएको थियो। आजको स्थितिमा के छ?’
त्यो भन्नुको तात्पर्य अलि बेग्लै नै छ। त्यसको पछिको ‘सेन्टेन्स’ अलि बुझिएन होला। मैले भनेको थिएँ, ‘अन्तराष्ट्रिय स्तरमा, मैले मेरोमात्र भन्दिन, मलाई लाग्छ आजको दिनसम्म समग्र नेपाली चलचित्र नै त्यसतर्फ पुग्न सक्या छैन्। मैले त्यति भन्ने हिम्मत राँखे। मैले भने। मैले त्यो एउटा वृहत चित्र हेरेर भनेको थिएँ। नेपालको सन्दर्भमा नेपाली दर्शकको सन्दर्भमा हेरेर भन्ने हो भने मेरा चलेका थुप्रै चलचित्र छन्। मलाई आज दु:ख लाग्छ कि हामीले त्यो स्तरमा पुग्ने गरि बनाउँन सकेका छैनौं।
९. तपाईको फिल्मको ट्रेलरबाट दर्शकहरुमा फिल्मप्रति एक किसिमले आकर्षित छन्?
हाम्रो ट्रेलरले असाध्यै ठूलो प्रभाव छोडेको छ। हाम्रो टिमलाई जुन हिसाबले ट्रेलर बन्या छ, त्यही अनुपातमा फिल्म बनेको छ कि छैन भन्ने ठूलो डर र खुलदुली थियो। अहिले सम्पूर्ण टिमले चलचित्र हेरसकेपछि ट्रेलरले दर्शकहरुमा जून किसिमको प्रभाव परेको छ, फिल्म हेरिसकेपछि दर्शकहरु निराश हुनुहुने छैन्।
१०. अहिले रिलिज नहुँदै ‘बागमती २’को कुरा आइरहेको छ। खास कुरा के हो?
बागमती हेरिसकेपछि हेर्नेहरुले प्रस्टरूपमा बुझ्नुहुन्छ कि यो चलचित्रको दोस्रो भाग बनाउनुपर्ने चिज र कारणहरु छन्। त्यसकारण पनि रिलिज अगावै पार्ट २ को घोषणा गरिएको हो। फिल्ममा म छु।
११. यसपटक फिल्मको प्रचारमा तपाईंको सक्रियता बढि देखिएको छ। काठमाडौं बाहिरपनि तपाईं प्रचारका लागि जानुभयो? के कारणले यो उत्साह देखिएको हो प्रचारमा?
कलाकारको नाताले खटिहालिन्छ। अरु भनेको निर्माण टिमले तपाईंलाई लिएर हिड्न कतिको उत्साहित हुन्छ त्यसमा भर पर्छ। ‘बागमती’का निर्माताहरुमा यस्तो यस्तो गर्ने कुरामा उत्साह थियो। कलाकारका हिसाबले म पछि हुने कुरै भएन। यो सबै निर्माताहरुको उत्साह र काम गर्ने जाँगरले हो।
-kala.setopati.com
No comments:
Post a Comment