काठमाडौं,पुष २५ । कांग्रेस नेतृत्वका लागि वरिष्ठ नेता शेरबहादुर देउवा चुनावी मैदानमा होमिइसकेका छन् । बानेश्वरको सम्पर्क कार्यालयबाट उनले आफ्नो देशव्यापी चुनावी अभियान थालेसँंगै संस्थापन पक्षमा भने छट्पटी सुरु भएको छ । सभापतिको उम्मेदवारका विषयमा संस्थापन पक्ष आन्तरिक कलहमै अलमलिएको छ ।
‘अर्को पक्ष (देउवा समूह) चुनावी मैदानमा उत्रिसकेका बेला संस्थापन पक्षबाट उम्मेदवार तय नगर्दा जिल्लामा जवाफ दिनै समस्या परेको छ’, संस्थापनपक्षका बद्री पाण्डेले कान्तिपुरसंँग भने, ‘संस्थापन पक्षबाट उम्मेदवार को हो भन्ने प्रश्न आउँछ ।’आजको कान्तिपुरमा खबर छ ।
संस्थापन पक्षमा उम्मेदवारको विषयलाई लिएर सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलबीच टकरावकै स्थिति छ । पौडेल सभापतिको उम्मेदवार आफै हुने भन्दै देशव्यापी अभियानमा उत्रिसकेका छन् । अनौपचारिक तहमा उम्मेदवार घोषणा गरेर दौडधुप थालेका पौडेललाई रोक्न कोइराला पनि अघि बढेका छन् । पौडेलसंँगको असन्तुष्टि साँध्नकै लागि कोइराला शुक्रबार विराटनगरको कार्यक्रममा उपस्थित भएनन् । पौडेल नेतृत्वमा रहेका पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले संविधानका विशेषताबारे प्रदेश नम्बर १ का कार्यकर्तालाई प्रशिक्षण दिन कार्यक्रम आयोजना गरेको थियो । प्रमुख अतिथिमा कोइरालालाई बोलाइएको थियो । उनलाई लैजान पौडेल निवासमा पुगेका पनि थिए । तर उनी स्वास्थ्यका कारण जनाउँदै गएनन् । ‘जे पनि उनी नजानुमा पौडेलसंँगको असन्तुष्टि नै मुख्य कारण हो’, संस्थापन पक्षका एक नेता भन्छन्, ‘सल्लाह नै नगरी उम्मेदवार घोषणा गरेर प्रचारमा लागेको भन्दै कोइराला पौडेलसंँग चिढिएका छन् ।’
स्रोतका अनुसार शुक्रबारको कार्यक्रम रोक्न कोइरालाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका थिए । तर संस्थापन पक्षकै केन्द्रीय सदस्यहरूको असन्तुष्टिले बैठक आइतबार सारियो । प्रतिष्ठानले पुस ७ र ८ गते धनगढीमा आयोजना गरेको यस्तै खालको कार्यक्रममा पनि कोइराला गएका थिएनन् । पौडेलले यो प्रशिक्षण कार्यक्रम सातवटै प्रदेशमा गर्ने तयारी गरेका छन् । यो कार्यक्रममार्फत आफ्नो तयारीलाई देशव्यापी बनाउने उनको योजना छ । कोइराला पनि देशव्यापी अभियान थाल्ने तयारीमा छन् । उनले हालै पश्चिमाञ्चलका जिल्ला घुमेका थिए । उनी मध्यपश्चिम क्षेत्र जाने तयारी गर्दैछन् ।
कोइरालाको दोहोर्याउने सुर
गत असोज २५ गते प्रधानमन्त्रीको निर्वाचनमा कोइरालाले प्रतिस्पर्धा गर्नुको मुख्य उद्देश्य नै पार्टी सभापतिका लागि तयारी हो भन्ने मत कांग्रेसभित्र प्रबल छ । प्रधानमन्त्रीमा कांग्रेसले प्रतिस्पर्धा नगरेको भए कोइराला राष्ट्रपति बन्थे । राष्ट्रपति भए पनि पार्टीको बागडोर कोइराला परिवारबाट बाहिरिन्थ्यो । राष्ट्रपति हुने इच्छा हुँदाहुँदै पनि पार्टी नेतृत्व कोइराला परिवारबाट बाहिर जान नदिनकै लागि उनले प्रधानमन्त्रीको निर्वाचनमा जोखिम लिएका हुन् । देउवा या पौडेलको नेतृत्वमा पार्टी गए फेरि कोइराला परिवारमा आउन नसक्ने बुझाइ उनको छ । गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनको अन्तिम क्षणमा पार्टीको विरासत कोइराला परिवारबाट बाहिर जान नदिन सुशीललाई सचेत गराएका थिए । गिरिजाप्रसादको जोड छोरी सुजाताप्रति थियो । आफ्नो जीवकालमै उनले सुजातालाई नेतृत्वमा स्थापित गर्ने प्रयास थालेका थिए । पार्टीभित्रका वरिष्ठहरूलाई पन्छाएर गिरिजाप्रसादकै जोडमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारमा सुजाता उपप्रधानमन्त्री भएकी थिइन् । पार्टीमा पनि उनलाई महामन्त्री बनाउने चाहना थियो । तर भ्याएनन् । गिरिजाप्रसादको देहावसनपछि सुशीलको लगाव सुजातामा भन्दा वीपी पुत्र शशांकप्रति छ । कांग्रेसका एक पदाधिकारीका अनुसार कोइराला चुनाव जितेर सभापति भए शशांकलाई कार्यबाहक दिने योजनामा छन् । गिरिजाप्रसादले सुशीललाई पनि त्यही बाटोबाट कार्यबाहक सभापति दिएरै नेतृत्वमा स्थापित गरेका हुन् । ‘त्यही बाटोमा सुशील लागेको देखिन्छ’, संस्थापन पक्षकै एक केन्द्रीय सदस्यले भने, ‘सुशील आफू सभापति बन्ने र केही समयपछि कार्यबाहक दिएर शशांकलाई नेतृत्वमा ल्याउने योजनामा छन्, नत्र उनी उम्मेदवार किन हुने भन्ने प्रश्न छ ।’
सुशीलको यो योजना सुनाउँदा उपसभापति पौडेलको जवाफ छ, ‘नेतृत्व स्थापित गराउने कुरा उम्मेदवार भएर मात्रै हुँदैन होला । चुनाव पनि जित्नुपर्ला ।’ पौडेलको यो आशय आफूले साथ नदिए कोइरालाले चुनाव जित्दैनन् भन्ने हो । शशांकलाई नेतृत्वमा स्थापित गराउन उनले चुनाव जित्नुपर्छ । पार्टी सञ्चालनको कार्यशैली र प्रधानमन्त्री निर्वाचनमा प्रतिस्पर्धा गरेका कारण कोइरालालाई पछि हटाउन संस्थापन पक्षका दोस्रो पुस्ताका नेता लागेका छन् । दोस्रो पुस्ताका नेतालाई जुधाएर कोइराला आफै अघि बढ्ने वातावरण बनाउन लागेको स्रोत बताउँछ । ‘सभापतिमा सिटौला, सिंह, महत, केसी, सुजातासम्मले दाबी गरेका छन्’, कोइराला निकट एक सदस्यले भने, ‘उहाँ नउठ्दा एकले अर्कोलाई नमान्ने अवस्था आउन सक्छ । त्यसैले पनि उहाँ उठ्नुको विकल्प छैन ।’ ती सदस्यका अनुसार कोइरालाले जिल्ला अधिवेशन सकिनसाथ आफै उम्मेदवार घोषणा गर्नेछन् ।
पौडेल मनाउन कोइरालाका विकल्प
पौडेलको साथ लिन सुशीलले आफ्नो कोटरीभित्र दुई विकल्पमाथि चर्चा चलाएका छन् । महाधिवेशन लगत्तै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने र त्यतिबेला सरकारको नेतृत्वमा पौडेललाई अघि बढाउने कोइरालाको पहिलो योजना छ । ‘त्यतिले मात्रै सहमत नभए कोइराला केही समयपछि पौडेललाई कार्यबाहक सभापति दिन तयार हुनेछन्’, स्रोत भन्छ, ‘त्यतिबेला शशांकलाई महामन्त्री बनाउन उनी तयार हुन्छन् ।’ कोइरालाले पौडेललाई प्रधानमन्त्रीका लागि आससमेत देखाइसकेका छन् । प्रधानमन्त्री हुने विश्वस्त आधार भए पौडेल पार्टी नेतृत्वमा भन्दा सरकारतिरै बल गर्ने कोइराला निकट स्रोतको दाबी छ । तर पौडेल स्वयम् भने प्रधानमन्त्रीमा भन्दा पार्टी नेतृत्वमै आफू अघि बढ्ने बताउँछन् ।
वीपी पुत्रलाई स्थापित गर्ने कोइरालाको चाहनासँंगै नेतृत्वमा उदाउन चाहिरहेका संस्थापन पक्षकै महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, रामशरण महतसमेत संशयमा छन् । सिंह, सिटौला, महत, कोइराला परिवारका नाता सम्बन्ध पर्ने महेश आचार्य, अर्जुननरसिंह केसी लगायतका नेता कोइराला परिवारमा नेतृत्व स्थापित गर्ने सुशीलको चाहनालाई साथ दिने पक्षमा छैनन् । कोइरालापछि सिंह, सिटौला, महत, केसीले समेत नेतृत्वमा दाबी गर्दै आएका छन् । सिटौला कोइरालालाई यसैपटक ‘ब्याक’ गराएर आफै अघि बढ्ने योजना बनाइरहेका छन् । पौडेल भए आफूले नछाड्ने सिटौलाको भनाइ छ ।
१२ औं महाधिवेशनमा एक पटकका लागिमात्रै मत मागेका सुशीललाई आफ्नै समूह मिलाउन चुनौती छ । सुशील कार्यबाहक र सभापतिका रूपमा सात वर्षभन्दा बढी नेतृत्वमा रहे । तर पार्टीलाई संस्थागत ढंगले अघि बढाउन नसकेको उनीमाथि मुख्य आरोप छ । सभापति भएर पाँच वर्ष पुरा गर्दासमेत केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन नसकेको, महत्त्वपूर्ण कार्यसम्पादन समिति नबनाई विधानमै व्यवस्था नभएको पदाधिकारी बैठकलाई संस्थागत गरेको, भ्रातृसंस्था विघटन गरी अधिवेशन गर्न नसकेको, पार्टीका ४२ विभाग क्रियाशील बनाउन नसकेको आरोप अहिले उनीमाथि लागेको छ । तर कोइराला परिवारमै नेतृत्व ल्याउन चाहने समूह यी आरोपको खण्डन गर्छन् । दोस्रो संविधानसभामा कांग्रेसलाई ठूलो पार्टी बनाएको र सुशीलकै नेतृत्वमा संविधान जारी भएको घटनालाई उनीहरू ऐतिहासिक ठान्छन् । केन्द्रीय सदस्य मिनेन्द्र रिजाल सभापतिले अर्को उम्मेदवार नभनेसम्म कोइरालालाई उम्मेदवार मान्नुपर्ने अवस्था भएको बताउँछन् ।
पौडेलको दाउ
‘मैले तपाईलाई धेरैचोटी सहयोग गरेँ । सभापति र प्रधानमन्त्री बन्नुभयो । अब मेरो पालो हो, मलाई सहयोग गर्नुहोस्’, केही समयअघि महाराजगन्जस्थित निवासमै पुगेर पौडेलले भनेका थिए । पौडेलको यो भनाइमा सुशीलको जवाफ थियो, ‘पख्नुहोस्, साथीभाइसँंग सल्लाह गरेर निर्णय लिउँला ।’ पौडेलले शुक्रबार विराटनगरमा स्थानीय सञ्चारकर्मीसामु आफू सभापतिको उम्मेदवार भएको मात्रै बताएनन्, सभापति कोइराला उम्मेदवार नहुने पनि भनिदिए । उनको यो अभिव्यक्ति कोइरालालाई दबाब दिने उद्देश्यबाट आएको थियो । पौडेलको यसै साता भएको भारत भ्रमण पनि सभापतिको उम्मेदवारसँंगै जोडिएको कांग्रेसका जानकारहरू बताउँछन् ।
देउवा असन्तुष्टि भित्र्याउँदै
१२ औं महाधिवेशनमा पराजित देउवा यसपटक जसरी पनि कोइराला परिवारबाट नेतृत्वको बागडोर आफ्नो हातमा ल्याउने रणनीतिका साथ अघि बढेका छन् । देउवाको तयारी क्रियाशील सदस्यता वितरणदेखि नै हो । क्रियाशील सदस्यता वितरण गर्ने क्रमदेखि नै उनले आफ्ना समूहका केन्द्रीय सदस्यदेखि जिल्ला सभापतिहरूलाई परिचालन गर्दै आएका थिए । क्रियाशील सदस्यता सम्बन्धी अहिले देखिएको विवादको मुख्य चुरो पनि त्यही हो । अधिकांश जिल्लामा देउवापक्षीय सदस्यहरूले आफ्नो पकड बलियो बनाउन एकपक्षीय रूपमा क्रियाशील सदस्यता वितरण गरेको आरोप सभापति कोइरालाको छ । त्यसैले उनी नयाँ क्रियाशील सदस्यतालाई मताधिकार नदिने पक्षमा उभिएका हुन् ।
देउवाले आफ्नो समूहलाई ‘इन्ट्याक्ट’ बनाएर राखेका छन् । संस्थापन पक्षका असन्तुष्टलाई ठाउँ दिएर तान्ने कसरतमा उनी तल्लिन छ । संस्थापन पक्षका नेताहरू कोइरालाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै देउवा समूहमा गएका पनि छन् । संस्थापन पक्षमा रहेका केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, श्याम घिमिरे अहिले देउवा क्याम्पमा छन् । कोइरालाले घिमिरेलाई आफ्नो विश्वासपात्रको रूपमा केही समय अघिमात्रै केन्द्रीय सदस्य बनाएका थिए । त्यस्तै युवा नेताहरू विश्वप्रकाश शर्मा, मोरङका पार्टी सभापति एवं सांसद अमृत अर्याल, केशवकुमार बुढाथोकी अहिले देउवातिर छन् । देउवा पक्षमा लागेकाहरू भने यो बीचमा संस्थापन पक्षमा आएका छैनन् । अर्जुननरसिंह केसी नै देउवा पक्षबाट महामन्त्रीमा चुनाव लड्ने करिब निश्चित छ । केसी देउवा पक्षमा लाग्ने भएपछि भाइ जगदिशनरसिंह केसी पनि उतैतिर ढल्केका छन् ।
No comments:
Post a Comment