Wednesday, January 13, 2016

वित्तिय इतिहासमानै पहिलोपटक ६ बैंक एकैचोटी गाभिने

काठमाडौं,पुष ३० । दुईवटा वाणिज्य र चारवटा विकास बैंक गरी एकैपटक ६ वटा बैंक गाभिने भएका छन् । यसरी गाभिनेमा नेपाल क्रेडिट एन्ड कमर्स बैंक, कुमारी बैंक, इन्फ्रास्ट्रक्चर बैंक, एपेक्स डेभलपमेन्ट बैंक, इन्टरनेसनल डेपलपमेन्ट बैंक र एक्सेस डेभलपमेन्ट बैंक छन् ।

नेपालको वित्तीय क्षेत्रको इतिहासमा एकैपटक ६ वटा बैंक तथा वित्तीय संस्था मर्जरमा जान लागेको यो पहिलो पटक हो । यसभन्दा अगाडि पाँचवटा बैंक तथा वित्तीय संस्था मर्जरमा गएका थिए। मर्जर २०७३ असार मसान्तभित्र पूरा हुने लक्ष्य लिइएको छ ।

यो राष्ट्रबैंकले २०७४ असार मसान्तभित्र र्पुयाउनुपर्ने वाणिज्य बैंकको चुक्ता पुँजीभन्दा २१ करोड रुपैयाँले बढी हो । मर्जरपछि संस्थाको निक्षेप ८१ अर्ब १२ करोड र कर्जा ६४ अर्ब ८८ करोड हुनेछ ।

मर्जर सम्बन्धी सम्झौतामा बैंकका अधिकारीहरूले बुधबार हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा एनीसी व्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रपन्न निरौला,कुमारीका मर्जर समिति संयोजक डा.शोभाकान्त ढकाल, इन्फ्रास्टचरका अध्यक्ष इमानसिंह लामा, एपेक्सका अध्यक्ष विष्णुप्रसाद बास्तोला, इन्टरनेसनलका अध्यक्ष माधवप्रसाद भट्ट र सुप्रिमका अध्यक्ष चन्द्रप्रसाद बास्तोलाले हस्ताक्षर गरेका छन् ।

यसभन्दा अगाडि एनसीसीसँग इन्फ्रास्ट्रचर, एपेक्स, इन्टरनेसनल र सुप्रिम विकास बैंकले मर्जरमा जाने सम्झौता गरिसकेका थिए। बुधबार पुन ६ वटै संस्थाले आठ अर्ब २१ करोड चुक्ता पुँजी पुग्नेगरी मर्जरमा जाने सम्झौता गरेका हुन् ।

राष्ट्रबैंकले वाणिज्य बैंकको पुँजी आठ अर्ब र्पुयाउनुपर्ने नीति लिएपछि मर्जरबाट पुँजी र्पुयाउने घोषणा यी संस्थाले गरेका हुन् । मर्जरपछि सेयर स्वाप रेसियो कति हुने भन्ने निर्धारण भने बैंकको सम्पत्ति र दायित्व मूल्यांकन (डीडीए)पछि तय गरिनेछ ।

एनसीसी व्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रपन्न निरौलाले मर्जरपछि बन्ने बैंकमा कुमारीबाट अध्यक्षसहित तीनजना, एनसीसीबाट दुईजना र बाँकी चारवटा संस्थाबाट एकजनाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने जानकारी दिए । ’अहिले सेयर स्वाप अनुपात र मर्जरपछि बन्ने बैंकको नाम टुंगो लागेको छैन’ ,निरौलाले भने, ’सेयर स्वाप डीडीएपछि र नाम मर्जर समितिले टुंगो लगाउने छ ।’

उनले सेयर स्वाप तय गर्न नेपाल चाटर्ड एकाउन्टेन्स संस्था (आईक्यान)को विज्ञटोलीको सहयोग लिने जानकारी दिए । अहिले एनसीसी बैंकको व्यवस्थापन राष्ट्रबैंकले नियन्त्रणमा लिएको छ । राष्ट्रबैंकबाट व्यवस्थापन सम्हाल्न खटाइएका निरौलाले मर्जर प्रक्रिया पूरा भएपछि एनसीसीबाट राष्ट्रबैंक र्फकने जानकारी दिए। उनले भने, ’नयाँ सञ्चालक समिति आएपछि राष्ट्रबैंक फर्कन्छ ।’

कुमारी बैंकमा पनि हालैमात्र अध्यक्ष रहेका नुरप्रताप राणाले राजीनामा दिएका छन्। बैंकमा प्रमुख कार्यकारी अधिकृत पद रिक्त छ । यस्तै एनसीसीमा पनि प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले राजीनामा दिए पनि पद रित्त छ भने सञ्चालक समितिको काम राष्ट्रबैंकले खटाएको टोलीले गर्दै आएको छ ।

मर्जरपछि बन्ने संस्थामा प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने तयारी मर्जर समितिको छ। ’हाम्रो तयारी विदेशी भए पनि विज्ञ व्यक्ति प्रमुख कार्यकारी अधिकृतमा ल्याउनेछ’ ,मर्जर समितिका एक सदस्यले भने ।

एनसीसीसहित अन्य चारसंस्थासँग मर्जरमा जाने भएपछि कुमारीको आठ करोड २० लाख रुपैयाँको संस्थापक सेयरको कारोबार बुधबार भएका छ । बुधबारै कुमारीको तीन करोड २८ लाख रुपैयाँको साधारण सेयरको पनि कारोबार भएको छ ।

मर्जर सम्झौतापछि बिहीबारदेखि कुमारीको कारोबार हुँदैन भने एनसीसीसहित अन्य संस्थाको सेयर कारोबार यसभन्दा अगाडि नै रोकिएको छ । सम्झौता हुने दिन कुमारीको सेयर मूल्य प्रतिकित्ता चार रुपैयाँले घटेर तीन सय ८५ रुपैयाँ भएको छ भने कुमारी बैंक संस्थापकको प्रतिकित्ता तीन रुपैयाँ घटेर एक सय ९२ रुपैयाँमा आएको छ ।

कुमारी बैंकका मर्जर समिति संयोजक डा. शोभाकान्त ढकालले एनसीसीसँग सबै विषय मिल्ने भएकोले मर्जरमा जाने सम्झौता गरेको बताए ।
राष्ट्रबैंकले बैंकको चुक्ता पुँजी बढाउने नीति लिएपछि वाणिज्य वाणिज्य बैंक आपसमा मर्जरमा जाने घोषणा गरेको यो तेस्रो पटक हो ।

यसभन्दा अगाडि माछापुच्छ्रे र जनता तथा बैंक अफ काठमाण्डू र लुम्बिनी बैंकले पनि मर्जरमा जाने घोषणा गरेका छन्।असोज मसान्तको अपरिस्कृत वित्तीय विवरणअनुसार एनसीसीको चुक्ता पुँजी दुई अर्ब दुई करोड रुपैयाँ छ । यस्तै कुमारीको दुई करोड ४३ करोड छ ।

बैंकले १२ करोड २७ लाख मुनाफा कमाएको थियो। यस्तै कुमारी बैंकले चार करोड ८६ लाख नाफा कमाएको थियो । यस्तै इन्फ्रास्ट्रचरको चुक्ता पुँजी ८२ करोड ७५ लाख छ। बैंकले असोज मसान्तमा एक करोड ६१ लाख कमाएको थियो ।

एपेक्सको चुक्ता पुँजी ६६ करोड ६५ लाख छ भने बैंकले असोज मसान्तमा चार करोड ४३ लाख नाफा गरेको थियो । सुप्रिप डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ८१ करोड छ भने असोज मसान्तमा तीन करोड नाफा गरेको थियो । इन्टरनेसलन डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ७० करोड छ । यसले एक करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

-www.aarthiknews.com/

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts