काठमाडौं,मंसिर २५ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपीडितका नाममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनीलगायत आफ्ना नातागोता र पार्टी कार्यकर्तालाई चीन भ्रमणमा पठाउँदै छन्। सिचुवान प्रान्तको कुन्मिङ र छेन्दुङ सहरको ७ दिने अवलोकन भ्रमणमा मन्त्री बस्नेतकै छोरीद्वय संगम र ववितासमेत छन्।
अाजकाे कान्तिपुर दैनिकमा खबर छ– भूकम्पपीडित जिल्लाका १५ देखि ३० वर्षसम्मका युवाका लागि चीन सरकारले व्यवस्था गरेको अवलोकन भ्रमणमा पार्टी अध्यक्ष प्रचण्डकी छोरी–नातिनी स्मिता प्रधान, दृष्टि केसी, सन्ध्या केसी र प्रतिमा पाठक छन्। यस्तै, पार्टी केन्द्रीय सदस्य अञ्जना विसंखेकी छोरी स्वस्तिका र स्वकीय सचिव एवं जाजरकोट पार्टी कार्यकर्ता ललित बुढाकी पत्नी लक्ष्मी गिरी पनि छन्।
मन्त्री बस्नेतका गाडी चालक किरण बोगटी र मन्त्री पत्नी सत्या पहाडीकी फुपूका छोरा सूर्य गुरुङकी पत्नी पनि चीन सयर गर्दै छन्। स्रोतका अनुसार चीनले भूकम्पीय क्षेत्र कुन्मिङ र छेन्दुङको अवलोकनका लागि निम्तो पठाएको थियो। १४ जिल्लाबाट ४ जनाका दरले छनोट गरिए पनि बाँकी कोटामा पार्टी नेता तथा गृहका कर्मचारीका आफन्त छानिएको छ। टोली शुक्रबार चीन जाने र पुस २ मा स्वदेश फर्किने कार्यक्रम छ।
मन्त्रीको सचिवालयमा पासपोर्ट लिन आएकी धनगढीकी जयन्ती जोशी चीन घुम्न जान पाएकोमा निकै खुसी देखिइन्। भूकम्पपीडितको नाममा आएको कोटामा जान लागेको बारेचाहिँ आफूलाई जानकारी नभएको उनले बताइन्। अखिल क्रान्तिकारीका सीटीईभीटी एकाइ कमिटी अध्यक्ष सुरजसिंह ठकुरी पनि टोलीमा परेका छन्। उनी चितवन निवासी हुन्।
सचिवालयका शाखा अधिकृतद्वय धर्मराज न्यौपानेकी छोरी सवनम र चित्रजंग शाहीका छोरा अनमोल पनि परेका छन्। गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले दुई देशका युवाबीच भूकम्पबाट बच्ने उपायबारे विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको बताए। तर, पार्टी कार्यकर्ता र कर्मचारीका नातागोता छनोट भएका बारे भने उनले अनविज्ञता प्रकट गरे।
अध्यक्ष प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले अध्यक्षकी नातिनी छनोट भएको बारे थाहा नभएको बताए। भूकम्प अति प्रभावित जिल्लाहरू मकवानपुर, ओखलढुंगा, रामेछाप, सिन्धुली, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, काठमाडां, ललितपुर र गोरखाबाट पनि एमाओवादी कार्यकर्ता र आफन्त नै छानिएका छन्।
No comments:
Post a Comment