काठमाडौं,मंसिर १८ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार सिलवाल निलम्बित हुनुभएको छ । मदिरा खाएर डिस्को सञ्चालक, कर्मचारी तथा सर्वसाधारणसँग झगडा गरी उल्टै कुटाई खाएको आरोपमा सिलवाललाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
डिएसपी सिलवालले बुधबार राति पुतलीसडकस्थित एक डिस्कोमा प्रवेश गरी एक हजार छ सय रूपैयाँको मदिरा खाएको तर पैसा तिर्न आनाकानी गर्नुका साथै उल्टै प्रहरी हुँ भन्दै धम्की दिएका थिए ।
उनको धम्कीपछि डिस्को सञ्चालकले प्रहरी कण्ट्रोलमा फोन गरी उनको हर्कत तथा दादागिरीका विषयमा उजुरी गरेको थियो । उनको दादागिरी नरोकिएपछि डिस्कोका वाउन्सर र गार्डले हेल्मेट र रड प्रहार गरी घाइते बनाएको छ ।
डिएसपी सिलवालको निधार र मुखमा चोट लागेको छ । राजधानीका विभिन्न स्थानमा होटल व्यवसाय सञ्चालन गर्दै आएका सिलवाल महानगरीय प्रहरी वृत दरबारमार्ग प्रमुखबाट समेत हटाइएका प्रहरी अधिकारी हुन् ।
सो घटनाको छानबिनका लागि महानगरीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मधु पुडासैनीको संयोजकत्वमा छानविन समिति गठन भएको छ । गोरखापत्रमा खबर छ ।
No comments:
Post a Comment