रियो दि जेनेरियो,पुष ४ । नेतृत्वमाथि भ्रष्टाचारको अभियोग लागेपछि ब्राजिलका महान् फुटबलर पेलेले राष्ट्रिय फुटबल संघ (सीबीएफ) मा परिवर्तनको माग गर्दै खुलापत्र लेखेका छन्। फुटबल संघको नाममा लेखिएको खुला पत्रमा पेलेसँगै अर्का चर्चित पूर्वखेलाडी जिकोले पनि हस्ताक्षर गरेका छन्। सीबीएफका अध्यक्ष मार्को पोलो डेल नेरोले अमेरिकामा भ्रष्टाचारको मुद्दा खेपिरहेका बेला पेलेको यस्तो विचार बाहिर आएको हो।
७४ वर्षीय डेल नेरो गत अप्रिलमा मात्र सीबीएफका अध्यक्ष बनेका थिए। त्यसअघि तीन वर्ष सीबीएफ अध्यक्ष रहेका ८३ वर्षीय जोसे मारिया मारिन विभिन्न १२ वटा अभियोगमा मुद्दा लडिरहेका छन्।
विश्व फुटबल महासंघ (फिफा) मा भएको भ्रष्टाचारको विषयलाई लिएर अमेरिकी अनुसन्धान निकायले छानबिन गरिरहेका बेला मारिन र डेल नेरो दुवै तानिएका हुन्।’हामी मार्को पोलो र समितिका अन्य निर्देशकको राजीनामा माग गर्दछौं। स्वतन्त्र र प्रजातान्त्रिक निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्वको माग पनि गर्दछौं’, पेलेद्वारा हस्ताक्षरित उक्त पत्रमा उल्लेख छ।
वर्तमान तथा पूर्वखेलाडीको पहलमा पत्र लेखेर सामूहिक दबाब दिइएको बताइएको छ। पत्रमा हस्ताक्षर गर्ने कुल एक सय ३० जनामध्ये हालसालै सन्न्यास घोषणा गरेका रोजेरियो सेनी, टिटे र प्रसिद्घ संगीतकार सिको बुवारिक पनि छन्।
यसैगरी पत्रमा भ्रष्टाचारको आरोप लागेका पदाधिकारीविरुद्घ अनुसन्धान थाल्नसमेत सरकारी निकायलाई अनुरोध गरिएको छ। पाँच पटकको विश्वकप विजेता ब्राजिलले सन् २००२ यता यो प्रतियोगिताको उपाधि जित्न सकेको छैन। ब्राजिल गत विश्वकपको सेमिफाइनलमा जर्मनीसँग ७-१ गोलले पराजित भएको थियो।
-अन्नपूर्ण पोष्ट
No comments:
Post a Comment