काठमाडौं,पुष ३ । हालका सुवास नेम्वाङको हैसियत नेकपा (एमाले) को स्थायी समिति सदस्य मात्रै हो । त्यो पनि एमाले अध्यक्ष खड्ग ओलीले टीका लगाएर दिएको । उनी इलामबाट निर्वाचित सांसद् पनि हुन् र पूर्व सभामुखको हैसियत त उनको हो नै । तर उनै नेम्वाङ यतिखेर संसद् सचिवालयमा सभामुख नै झैं गरी नियमित रूपमा आउने–जाने मात्रै होइन, संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको कार्यकक्ष नै कब्जा गरेर बस्ने गरेका छन् ।
संविधानसभाको अध्यक्षको हैसियतले मलाई कार्य कक्ष चाहियो भन्दै उनले महासचिव भट्टराई, संसद् सचिवालयका अन्य सचिव एवम् कर्मचारीलाई नियमित रूपमा दबाब दिने गरेका छन् । विधानतः एउटा सभामुख निर्वाचित भइसकेपछि पूर्व सभामुखले संसद् सचिवालयमा कार्यकक्ष मागेको यो नै पहिलो पटक हो । आफूलाई कानूनको विद्यार्थी एवम् अधिवक्ता समेत रहेको बताउने नेम्वाङको कार्यशैली देखेकाहरु भन्छन् ‘हैन यी लिम्बू किन यत्ति साह्रो लिच्चड बन्नुपरेको होला ।’
नेम्वाङले महासचिव मनोहर भट्टराईको कार्यकक्ष कब्जा गरेपछि भट्टराई भने अर्का सचिव मुकुन्द शर्माको कार्यकक्षमा बस्ने गरेका छन् । मलाई कार्यकक्ष चाहियो, म यहीं बसेर लेखपढ गर्छु, नयाँ सभामुखलाई सहयोग गर्छु भन्दै उनले लिंढेढिपी कस्ने गरेका छन् । नयाँ सभामुख ओनसरी घर्ती भर्खर सभामुख बनेको, केही पनि नजानेको भन्दै उनले संसद् सचिवालयको काममा बढी दक्खल राख्ने र अनावश्यक हस्तक्षेप समेत गर्ने गरेका छन् ।
माओवादीको बहुमत हुँदा संविधान जारी गर्न नदिएका र पछिल्लो पटक एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने शर्तमा पेलपाल गरेर संविधान जारी गराउने काममा सफल भएको धक्कू लगाउँदै नेम्वाङ आफू हिजो, आज र भोलिको समेत संविधानसभाको एक मात्र अध्यक्ष भएको दाबी गर्दै आएका छन् । मैले नगरेको भए संविधान कहाँ कसरी बन्थ्यो र भन्दै उनले महासचिवको कार्यकक्षमा एमाले निकटका पत्रकारको घेरा लगाएर गफ दिने गरेका छन् । संसद् सचिवालयको क्यान्टिनबाट खाना, खाजा, चिया, कफीको समेत अर्डर लगाउँदै बस्ने नेम्वाङको दैनिकी भने सभामुख घर्तीले बैठक चलाउन नजानेको, नसकेको तथा कुनै कानूनको ज्ञान नभएको भन्दै गफ चुटेर बित्ने गरेको छ ।
म जस्तो कानूनको जानकारलाई पाखा लगाएर एमाले, एमाओवादीले गल्ती गरे, यस्तो अवस्थामा म भएको भए कति सहज रूपमा काम अगाडि बढ्नेथियो भन्दै उनले दैनिक जसो नै एमाले पत्रकारसँग गुनासो गर्ने गरेका छन् । दश वर्षभन्दा लामो समय संसद् सचिवालयमा राज गरेका नेम्वाङलाई पद छाड्नुपर्दाको पीडा सतहमा देखिएको भन्दै सचिवालयका कर्मचारी भने उनको कार्यशैली गलत भएको टिप्पणी गर्छन् । काठ घरका अधिकांश कर्मचारीले नेम्वाङको तरिका र प्रवृत्तिलाई कुर्सी मोहको पराकाष्ठाको रुपमा लिएका छन् ।
संसद् सचिवालयको नेतृत्व गर्दा चलाएको कमाउ धन्दा समेत खोसिएको, पद तथा प्रतिष्ठा समेत गुमेको छटपटी स्वरुप त्यसैको तिर्सना मेट्न भने पनि उनी नियमित आएका होलान् अर्का एक कर्मचारी प्रतिप्रश्न गर्छन् । उनले पछिल्लो पटक आफू कार्यरत रहँदाका कर्मचारीको सरुवा गरेको भन्दै वर्तमान सभामुखसँग समेत आक्रोश व्यक्त गरेका छन् । एमाले भित्र नेम्वाङलाई लालगेडीको रुपमा चिनिन्छ । खड्ग ओलीले उनलाई लालगेडी नाम दिएका छन् भने नेम्वाङले ओलीलाई बुढाको संज्ञा दिने गर्छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
No comments:
Post a Comment