Tuesday, December 1, 2015

यस्तो छ प्रचण्डको ८ प्रदेशको नयाँ प्रस्ताव

काठमाडौं,मंसिर १६ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय प्रदेशको सीमांकनसम्बन्धी असन्तुष्टि हटाउन आठौँ प्रदेशको प्रस्ताव गरेका छन् । सरकार, प्रमुख प्रतिपक्षी कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच निर्णायक वार्ता हुने भनिएको एक दिनअघि मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकमा ‘राजनीतिक तथा संगठनात्मक प्रस्ताव’ पेस गर्दै प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन् । उनले मधेसी, आदिवासी जनजाति र थारू समुदायका माग पूरा गर्न झापासहित वा झापाबाहेक मोरङ, सुनसरी, सिरहा, सप्तरी, उदयपुर मिलाएर आठौँ प्रदेश बनाउन सकिने प्रस्ताव राखेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

‘प्रदेश–१ मा झापा, मोरङ, सुनसरी तीनवटै जिल्ला र त्यसका सम्पूर्ण भागहरू राखिएकोमा त्यसमा परिमार्जन गर्नुपर्दछ,’ प्रचण्डको दस्ताबेजमा उल्लेख प्रस्ताव उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘झापासहित वा झापाबाहेक मोरङ, सुनसरी, सिरहा, सप्तरी, उदयपुर मिलाएर आठौँ प्रदेश बनाउन सकिन्छ ।’

आठाैं प्रदेश बनाउँदा हालको २ नम्बर प्रदेशमा पर्सादेखि धनुषासम्मका जिल्लाका अतिरिक्त मकवानपुर, सिन्धुली र उदयपुरका ती प्रदेशसँग जोडिने चुरे क्षेत्रलाई समावेश गर्नु उपयुक्त हुने प्रचण्डको प्रस्ताव छ । उनले यो विकल्पमा सहमति जुट्न नसके प्रदेश नम्बर २ सँग भाषिक, सांस्कृतिक सामीप्य रहने मोरङ, सुनसरीको दक्षिण–पश्चिम भागलाई प्रदेश २ मा राख्नुपर्ने प्रस्ताव पनि राखेको केन्द्रीय सदस्यले जानकारी दिए ।

५ नम्बर प्रदेशमा कैलाली र कञ्चनपुरका थारू बाहुल्य क्षेत्रलाई समावेश गर्नुपर्ने र त्यो प्रदेशमा रहेका पहाडी जिल्लालाई ४ नम्बर प्रदेशमा राख्नुपर्ने प्रस्ताव प्रचण्डले राखेका छन् । ‘उक्त प्रदेशमा रहेको पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, रुकुमलाई त्यहाँबाट हटाई प्रदेश नं। ४ मा राख्नुपर्दछ,’ प्रचण्डको दस्ताबेजमा भनिएको छ । अघिल्लो मंसिरमा सुरु भएर पटकपटक स्थगित हुँदै आएको केन्द्रीय समिति बैठकमा प्रचण्डले ४३ पृष्ठ लामो प्रस्ताव पेस गरेका छन् । प्रचण्डको प्रस्तावमाथि बिहीबारदेखि केन्द्रीय सदस्यले धारणा राख्नेछन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts