कञ्चनपुर,पुष १२ । शुक्लाफाँटा वन्यजन्तु आरक्षमा दुई दिनको अवधिमा प्रकृतिको कुचिकारका रुपमा रहेका अठार गिद्ध मरेको अवस्थामा फेला परेका छन् । खरखडाईका लागि आरक्ष पिपरैया क्षेत्र खुला गरेको अवस्थामा पुस ९ गते १२ र १० गते छवटा गरी १८ वटा गिद्ध मरेको अवस्थामा फेला परेको आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकालले बताए ।
एकै पटक यति धेरै सङ्ख्यामा गिद्ध मर्नुको कारण खुल्न नसके पनि गिद्ध मरेको ठाउँ नजिकै दुईवटा गाईसमेत मरेको अवस्थामा फेला परेकाले वन्यजन्तुको चोरी शिकारीमा संलग्न गिरोहले गाईमा विषादी राखेको हुन सक्ने उनले बताए ।
‘मरेका गाईको सिनो खान गएका गिद्ध विषादीका कारण मरेको हुन सक्छ’, उनले भने । मरेको अवस्थामा फेला परेका गिद्धको परीक्षण गर्नका लागि धनगढी र काठमाण्डु पठाउँदै छौँ उनले भने, ‘परीक्षणपछि गिद्ध मर्नुको कारणबारे यकिन गर्न सकिने छ ।’ शुक्लाफाँटा वन्यजन्तु आरक्ष गिद्ध संरक्षणका लागि सुरक्षित क्षेत्रका रुपमा मानिँदै आएको थियो ।
विश्वमा गिद्धका २३ वटा प्रजाति पाइने गरे पनि नेपालमा गिद्धका नौवटा प्रजाति मात्रै पाइने गरेका छन् । जसमध्ये कञ्चनपुरमा हालसम्म डङ्गर र सानो खैरो जातका गिद्ध देखापरेका छन् ।
पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक नेपाल, भारत र पाकिस्तानमा सन् २००६ मा प्रतिबन्धित भए पनि दक्षिण एसियामा यसको प्रयोग लुकीछिपी रुपमा हुने गरेकाले गिद्धहरु मर्ने क्रममा कमी नआएको संरक्षणविद्हरुको भनाइ रहेको छ ।
नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये पाँच प्रजातिका गिद्ध नेपालबाट मात्रै नभएर विश्वबाट नै लोप हुने खतरामा परेका छन् ।
No comments:
Post a Comment