पोखरा,मंसिर २७ । कृषि विकास मन्त्री हरिबोल गजुरेलले एकीकृत नेकपा (माओवादी) मा रहेका दुई चार मन्त्री र पाँच सातजना नेतालाई कारबाही नगरेसम्म पार्टी सुध्रिँदैन भनेर आफुले पार्टीको केन्द्रीय समितिको बैठकमा बोलेको बताएका छन् । पत्रकारको एक प्रश्नको जवाफमा मन्त्री गजुरेलले नातावाद र कृपावाद पञ्चायतकालदेखिकै रोग हो र नयाँ संविधान जारी भएपछि पनि यो रोग सबै पार्टीबाट हट्न नसकेकामा चिन्ता व्यक्त गरे ।
देशले चरम सङ्कट भोगेका बेला अहिलेको सरकारको विकल्पमा अर्को सरकार बन्न नसक्ने समेत बताए छन् । क्रान्तिकारी पत्रकार सङ्घ कास्कीले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गजुरेलले नेपाली जनताले नाकाबन्दी छिटो खुलोस्, मधेसी मोर्चा र सरकारबीचको वार्ता सफल होस् र इन्धन तथा खाद्यान्नको आपूर्ति सहज होस् भन्ने मात्रै चाहेको उल्लेख गरे ।
सरकार परिवर्तन होस् भन्ने चाहना जनताको छैन भन्दै उनले यसै सरकारमा नेपाली काँग्रेस पनि सहभागी भएको भए मुलुकले भोगिरहेको सङ्कट छिटो समाधान हुने थियो भने । मन्त्री गजुरेलले देशले भोगिरहेको नाकाबन्दी केही दिनभित्र हट्ने र देशमा इन्धनलगायत अत्यावश्यक वस्तुको आपूर्ति सहज हुने र यसका लागि मधेसवादी दल पनि सकारात्मक देखिएको जानकारी दिए ।
No comments:
Post a Comment