Wednesday, December 30, 2015

राहतमा रजाइँ कर्मचारी, सेना र प्रहरीले रक्सी र कुखुरासँग साटे राहत

गोरखा,पुष १५ । नेपाली सेनाको चौबीसै घण्टा डयुटी हुने ब्यारेकभित्रको गोदामबाट राहत सामग्री हरायो भन्दा अनौठो लाग्छ । प्रहरी नै चोरीमा संलग्न थिए भनेर पत्याउन अझ मुस्किल पर्छ । तर, घटनाले त्यही पुष्टि गरेको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिको गोदामबाट राहत सामग्री गायब भएको घटना सुनेर भूकम्पपीडित छक्क परेका छन् । ‘कार्टुनभित्र बाल्टी, थाल र प्रेसर कुकर राखिएको थियो,’ समितिका एक सदस्यले भने, ‘कार्टुनबाट प्रेसर कुकर गायब पारियो । थाल र बाल्टी जस्ताको तस्तै छ ।’ कान्तिपुर दैनिकमा सुदीप कैनी लेख्छन् भूकम्पका बेला जिविसको गोदामको सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई दिइएको थियो । प्रहरीले नै राहत सामग्री चोरेपछि गोदाम नेपाली सेनाको ब्यारेकमा सारियो । ब्यारेकको भण्डार कक्षबाट पनि स्तरीय, महँगा र राम्रा राहत सामग्री हराएको स्रोतले बतायो । ‘राहत सामग्री कर्मचारी, सेना प्रहरीले रक्सी र लोकल कुखुरासँग साटेर भोज गरे’, उनले भने । भोजमा प्रमुख जिल्ला अधिकारीसमेत सहभागी भएको ब्यारेक स्रोतले जनाएको छ । कति राहत सामग्री आए, कति गोदाममा बाँकी छ आधिकारिक तथ्यांक समितिसँग छैन । ‘सयौं राम्रा टेन्ट, ब्ल्यांकेट, कुकर, फिल्टर र चामललगायत खाद्यान्न कर्मचारी र सेना प्रहरीका अधिकृतले घरसम्म पुर्‍याएँ,’ गोदाममा खटिएका कर्मचारीले भने । प्रजिअ उद्धव तिमल्सेनाले गोदाम हेर्न तनहुँ व्यास नगरपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र हडखलेलाई काज सरुवा गरेर ल्याएका थिए । उनैले सबैभन्दा बढी राहतमा अनियमितता गरेको स्रोतको दाबी छ । प्रजिअ र राजनीतिक दलको निर्देशनमा उनले राहत सामग्री वितरण गरेका थिए । समितिको निर्देशनमा मात्रै राहत सामग्री बाँडेको प्रजिअ तिमल्सेनाले दाबी गरे । उनले ब्यारेकभित्र गोदामको सामग्री नहराउनु पर्ने बताए । ‘राहत सामग्री आवश्यकताअनुसार वितरण गर्ने र बाँकी रहेको रेडक्रसलाई जिम्मा लगाउने निर्णय भएको छ,’ उनले भने । पहुँचका आधारमा भन्दा पनि आवश्यकताका आधारमा सामग्री वितरण गरिएको दाबी उनले गरे । राजनीतिक दलहरू पनि राहत अनियमितता गर्नबाट अछुतो रहेनन् । कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाललगायत ८ पार्टीलाई स्तरीय म्याट भागबन्डा गरेर वितरण गरियो । भूकम्पपीडितका लागि आएको म्याट पार्टीहरूले भागबन्डा गरेर लिएका हुन् । १ हजार ५ सय म्याट आफूखुसी बाँडेर सकिएको छ । छोप्राक गाविसमा सबैभन्दा बढी राहत सामग्री वितरण भएको समितिको तथ्यांक छ । छोप्राक अन्य गाविसको तुलनामा भूकम्पले अत्यन्तै कम क्षति भएको हो । नेताहरूले राजनीतिक पहुँचका आधारमा राहत साम्रगी वितरण गर्दा कम प्रभावित गाविसमा धेरै राहत पुगेको कर्मचारीहरू बताउँछन् । दलहरूले अस्थायी टहरो बनाउने बेला स्वयंसेवक खटाएका थिए । तिनका लागि भन्दै कांग्रेस, एमाले र एमाओवादीले राहतमा आएको चामल, नुन, तेल, चिउरा, दाललगायत सामग्री ठूलो परिमाणमा लगेको राहत वितरण समितिका सदस्यहरू बताउँछन् । भूकम्पपीडितहरूका लागि आएको १० लाख मूल्यबराबरको राहतको जेनेरेटर प्रमुख जिल्ला अधिकारीले आफ्नो निवासमा लगेर जडान गरे । ८ वटा जेनेरेटर सेना, प्रहरी, सशस्त्र प्रहरीलगायत सरकारी कार्यालयले प्रयोग गर्दै आएका छन् । भूकम्पबाट अति प्रभावित गाविसहरू स्थानीय लघु जलविद्युत् आयोजना मर्मत नहुँदा अझै पनि अन्धकारमा छन् । चिनियाँ सरकारले जेनेरेटरसहित ८० वटा स्तरीय टेन्ट राहतका लागि पठाएको थियो । ती टेन्ट पनि सरकारी कार्यालयहरूले प्रयोग गरेका छन् । भवनमा क्षति नपुगेका सेना, सशस्त्र र नेपाल प्रहरीले पनि सुरक्षित सुत्न टेन्ट लगेर टाँगेका हुन् । कतिपय दुर्गमका भूकम्पपीडितले अहिलेसम्म टेन्ट नपाएर पालमै बास बस्न बाध्य छन् । १५ सयभन्दा बढी स्तरीय टेन्ट सरकारी कार्यालय र विद्यालयहरूले मात्र प्रयोग गरेका छन् । ती अहिले उपयोगविहीन भएको भूकम्पपीडितहरू गुनासो गर्छन् । किरा परेको चामल वितरण गोदाममा थन्किएर किरा परेको चामल भूकम्पपीडितलाई वितरण गर्न थालिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले घुन र किरा लागेर बिग्रिएको चामल प्रभावित बस्तीका सर्वसाधारणलाई वितरण गर्न सदरमुकामबाट पठाउन थालेको छ । विश्व खाद्य कार्यक्रम डब्लूएफपीका प्राविधिकहरूले चामलबाट घुन, किरा हटाएपछि वितरणमा पठाउन थालेको खाद्य संस्थान गोरखाका प्रमुख गंगाप्रसाद शाहले जानकारी दिए । ‘समितिले गुम्दा, आरुआर्वाङ, लापु गाविसमा चामल वितरण गर्न भनेपछि ढुवानी गर्न थालेका छौं,’ उनले कान्तिपुरसँग भने । चामलमा परेको किरा मार्न सेल्फस नामक औषधि प्रयोग गरेर फिमिकेसन (पानीमा औषधि मिसाएर छर्किने विधि) गरिएको उनले बताए । बोरा खोलेर औषधि छर्किएको चामल ४ दिनसम्म पालले छोपेर राखिएको थियो ।‘फिमिकेसन गरेपछि प्राविधिकहरूले चामल खान हुने बताएका छन्,’ उनले भने, ‘८० जना कामदार लगाएर चामलको किरा मारिएको हो ।’ किरा परेको प्रत्येक बोरा फुटाएर सफा गरेको शाहले दाबी गरे । किरा र चिसोका कारण बिग्रिएको कतिपय चामल नष्टसमेत गरिएको उनले जानकारी दिए । सोमबार मात्रै गुम्दा गाविसको वडा नम्बर १, २ र ३ मा वितरण गर्न ३५ क्विटल चामल पठाइएको छ । संस्थानको गोदाममा रहेको चामलमा किरा परेको सार्वजनिक भएपछि संस्थानको क्षेत्रीय कार्यालयले अनुगमन गरेको थियो । ‘अनुगमनका क्रममा चामल खान नहुने गरी बिग्रेको भेटिएन,’ खाद्य संस्थानका गण्डकी अञ्चल प्रमुख अम्बिकाप्रसाद घिमिरेले भने । भूकम्पपीडितका लागि राहत र दुर्गमका बासिन्दालाई सहुलियत मूल्यमा बिक्री गर्न जिल्ला आएको खाद्य संस्थानको चामलमा गोदाममै घुन र किरा पर्न थालेको थियो । यसअघि पनि किरा मार्न औषधिले तीनपटक स्प्रे गरिएको थियो । फिमिकेसनसमेत गरेर चामलमा ४ पटक औषधि छर्किएको छ । राहतमा बंगलादेशबाट आएको ५० किलोग्रामको ७ सय बोरा, ३० किलोको १२ सय ३५ बोरा र खाद्य संस्थानको सहुलियत मूल्यको एक हजार दुई सय ४२ क्विटल चामलमा घुन, चिल्सा र किरा परेको हो । चामललाई फिमिकेसन विधिबाट उपचार गरेपछि किरामुक्त भएको खाद्य संस्थानले दाबी गरेको छ । चामल केलाउन सहभागी कामदारले भने औषधिका कारण चामलमै मिसिएर किरा मरेको बताए । खाद्य संस्थानको चामल भने सहुलियत मूल्यमा बिक्री गर्न दुर्गमका माछिखोला र सिर्दिबास डिपोमा पठाउने तयारी गरिएको छ । तातो लुगाका लागि रकम अभाव भूकम्पपीडितका लागि न्यानो लुगा किन्न सरकारले पठाएको रकम अपुग भएपछि अन्योल भएको छ । करिब ७० करोड रकम आवश्यक भए पनि सरकारले ४० करोड रुपैयाँ मात्र पठाएको हो । १६ गाविस र दुई नगरपालिकाका पीडितका लागि वितरण गर्ने रकम अभाव भएको हो । अपुग भएको ३० करोड रुपैयाँ गृह मन्त्रालयसँग माग गरिएको पौडेलले बताए । ‘मन्त्रालयलाई तुरुन्त रकम पठाइदिन अनुरोध गरेर पत्राचार गरेका छौं,’ उनले भने । मंगलबारसम्म १३ गाविसका ११ हजार दुई सय ४८ घरधुरीलाई न्यानो कपडा किन्न १० हजार वितरण गरिएको छ । ४० करोडमध्ये ८ करोड ९९ लाख ८० हजार मात्र वितरण भएको हो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts