Sunday, November 1, 2015

किन बढारियो सबैभन्दा ठूलो पार्टी कांग्रेस ?

काठमाडौं,कातिक १६ । कांग्रेस केन्द्रीय सदस्यहरूले राज्यका प्रमुख पदमा पराजयबारे नेतृत्वसँग जवाफ मागेका छन् । उनीहरूले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख पद गुमाउनुको कारण शीर्ष तीन नेतृत्वसँग मागेका हुन् ।

राजनीतिक समीक्षा गर्न र १३औँ महाधिवेशनको तयारी समिति गठनको छलफलका लागि आइतबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा सदस्यहरूले पार्टीको यस्तो अवस्था आउनुको प्रस्ट कारण दिन माग गरेका थिए । तर, केन्द्रीय सदस्यहरूको प्रश्नको उत्तर नदिई सभापति सुशील कोइरालाले बैठकमा महाधिवेशनको एजेन्डा प्रस्तुत गर्न महामन्त्री कृष्णप्रसाद सिटौलालाई निर्देशन दिएका थिए ।

त्यसलगत्तै सिटौलाले विभिन्न तयारी समिति, संयोजक र सदस्यको नाम प्रस्ताव गरेका थिए । महामन्त्री सिटौलाको प्रस्तावपछि अधिकांश केन्द्रीय सदस्यहरूले कांग्रेसले के गर्दा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख गुमायो भन्ने प्रश्न गर्दै सभापति कोइराला, नेता देउवा र उपसभापति पौडेलले लिखित जवाफ दिन माग गरेका थिए ।

बैठकमा केन्द्रीय सदस्य बालकृष्ण खाँण, डा. प्रकाशशरण महत, डा. रामशरण महत, गोपालमान श्रेष्ठ, शंकर भण्डारीसहितले शीर्ष नेताबाट लिखित–अलिखित प्रस्ताव आएपछि सदस्यलाई धारणा राख्न सहज हुने बताएका थिए । ‘केन्द्रीय पदाधिकारीको राष्ट्रिय राजनीतिमा संविधान जारीपछि यसको कार्यान्वयन, पार्टीले सबैतिर बढारिने गरी भोग्नुपरेको पराजयको कारण किन आयो भन्ने सदस्यहरूको प्रश्न छ,’ केन्द्रीय सदस्य खाँणले नयाँ पत्रिकासँग भने, ‘यी सबैको उत्तर पदाधिकारीबाट खोज्दै भविष्यको कांग्रेसको बाटो तय गर्न आग्रह गरेका छौँ । अब पदाधिकारीले सोमबार जवाफ दिएपछि सदस्यहरूले थप सुझाब राख्नुहुन्छ ।’

औपचारिक र व्यवस्थित हुन नसकेको बैठकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ आक्रोशित हुँदै पार्टी नेतृत्व किन विचलित भयो भन्दै प्रश्न गरेका थिए । ‘सबैभन्दा ठूलो पार्टीको हालत किन यस्तो भयो ? नेतृत्वले पहिले प्रस्ट पार्नुपर्‍यो,’ श्रेष्ठले सभापतितिर इंगित गर्दै भने, ‘हारिँदै छ भन्ने जान्दाजान्दै तपाईं किन चुनाव लड्नुभयो, कुन–कुन शक्तिकेन्द्रका मान्छेले प्रधानमन्त्रीमा लड्न तपाईंलाई उद्यत् गरे, पहिले यसको जवाफ दिनुपर्छ ।’ श्रेष्ठ यत्तिमै रोकिएनन् उनले भने, ‘यो पार्टी हो, क्लब होइन । मधेसवादी दलले प्रधानमन्त्रीमा भोट हाले, तर राष्ट्रपतिमा किन हालेनन् ? यसको जवाफ पनि तपाईंहरूले दिनुपर्छ ।’

शीर्ष नेताबीच सहमति नहुने र हार्ने अवस्थामा मात्रै कुलबहादुर गुरुङलाई राष्ट्रपतिको उम्मेदवार बनाइएको भन्दै उनले असन्तुष्टि जनाए । केन्द्रीय सदस्य डा. रामशरण महतले शीर्ष नेता बसेर गरेको निर्णयका कारण कांग्रेसको हालत यस्तो भएको भन्दै लिखित रूपमा तीन नेताले जवाफ दिएपछि सदस्यहरूलाई धारणा राख्न सहज हुने टिप्पणी गरे ।

‘तपाईंहरू तीनजना बसेर गरेको निर्णयपछि अहिलेको अवस्था आयो भनिँदै छ,’ महतले भने, ‘संविधान निर्माणपछि कांग्रेसको निर्णय र प्रक्रियाबारे पदाधिकारीहरूको अफिसियल एजेन्डा सकेसम्म लिखित रूपमा आयो भने सदस्यलाई सुझाब दिन सजिलो हुन्छ ।’

सहमहामन्त्रीबाट राजीनामा दिएका केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले पार्टीका सबै घटनाक्रमको साक्षी आफू रहेको भन्दै समय लिएर सबै कुरा विस्तारमा भन्न पाउनुपर्ने माग गरे । ‘संविधान निर्माणसहितका ९० प्रतिशत गतिविधिको साक्षी म हुँ,’ खड्काले बैठकमा भने, ‘सहमहामन्त्रीबाट राजीनामा दिएको छु । मेरो राजीनामाको वास्तविक कारण मैले भन्न पाउनुपर्छ ।’

सदस्यहरूले बीचबीचमा उठ्दै यसरी टिप्पणी गर्न थालेपछि सभापति कोइरालाले सबै यथार्थ भन्ने र प्रस्ट्याउने भन्दै अर्को बैठक सोमबार बस्ने जानकारी गराए । ‘सब प्रस्ट हुन्छ, प्रस्ट्याइन्छ,’ बैठक पेचिलो हुने देखेर अर्को बैठकमा छलफल हुने संकेत गर्दै कोइरालाले भने, ‘पार्टीसँग जोडिएका सबै यथार्थ आउँछ चिन्ता नगर्नुस् ।’

अर्का केन्द्रीय सदस्य शंकर भण्डारीले हिजोका दिनमा नेताहरूले आफूखुसी नेतृत्व दिने गरे पनि अब यस्तो रवैया मान्य नहुने बताए । यस्तो गरिए केन्द्रीय समिति बाहिर पनि कांग्रेस रहेको उनको भनाइ थियो । ‘हिजो मन्त्री आफूखुसी बनाउनुभयो, आफूखुसी नियुक्ति दिने जिम्मेवारी दिने हुँदै आएको छ, अब त्यसरी गर्न पाउनुहुन्न,’ भण्डारीले भने, ‘अब कसैलाई जिम्मेवारी दिँदा यो–यो कारणले प्रस्ताव गरियो भनेर केन्द्रीय समितिले निर्णय गर्नुपर्छ । अन्यथा केन्द्रीय समितिबाहिर पनि कांग्रेस छ भनेर बुझ्नुस् ।’ बैठकमा बलबहादुर केसी, कुलबहादुर गुरुङ, मानबहादुर विश्वकर्मा, दीपक गिरीले पनि धारणा राखेका थिए ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts