काठमाडौं,मंसिर १४ । महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसका प्रभावशाली नेताहरुले गुट अदल बदल गर्ने क्रम सुरु हुन थालेको छ । अहिलेसम्म सभापतिका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेलले औपचारिक अभियान थाले पनि सुशील कोइरालाले मुख खोलेका छैनन् । तर, कोइराला पक्षले सुशीललाई नै अघि सार्ने निश्चित छ । त्यो अवस्थामा रामचन्द्र पौडेल सुशीलको मतियार बन्ने वा तेस्रो टिम बनाउने बाहेक अन्य विकल्प हुने छैनन् । यद्यपि, पौडेलले अनामनगरमा पार्टी कार्यालय खोलेर ताउर माउर गर्न थालेका छन् ।
रामचन्द्रले सुशील कोइराला अहिले पार्टीभित्र र बाहिर पनि अलोकप्रिय भएको भन्दै आफूलाई अघि सार्न माग गरेका छन् । पौडेलले पाउने चान्स एकदमै कम छ । सुशील आफैंले निकटस्थहरुलाई बोलाएर एक कार्यकाल पुनः सभापति हुने चाहना व्यक्त गरेको स्रोतले बतायो ।
पछिल्लोपटक देउवा निकटका विमलेन्द्र निधि र चित्रलेखा यादवलाई कोइराला पक्षले आफूतिर तान्न खोजेको छ । त्यस्तै कोइराला पक्षका कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलाई देउवाले तान्न खोजेका छन् । देउवाले महामन्त्रीको उम्मेदवार कोइराला पक्षबाट आउने नेतालाई बनाउने चर्चा चलेको छ । सिटौलाले यसपटक देउवालाई साथ दिने भने पनि उनी अहिलेसम्म मौन छन् ।
देउवा यसपटक हार्ने चुनाव लड्दैनन् । उनी सबैतिरबाट जित्ने आँकलन भएपछि मात्रै उम्मेदवार बन्ने छन् । महाधिवेशन प्रतिनिधिहरुको छनोट भइसकेपछि हार्ने संख्या देखिएमा देउवा उम्मेदवार नबन्ने चर्चा कांग्रेसमा चलेको छ । त्यो अवस्थामा कांग्रेसको राजनीति अर्कै बाटोमा जान सक्छ । यद्यपि देउवाले अहिलेसम्म हार्ने कल्पनै नगरेको उनीनिकटका नेताहरु बताउँछन् । आजको साँघु साप्ताहिकमा खबर छ ।
देउवाले खुमबहादुर, चित्रलेखा, विमलेन्द्रलाई आफूबाट कुनै पनि बेला छुट्टिने सम्भावित सूचीमा राखेका छन् । त्यस्तै, कोइरालाबाट अलग्गिने सूचीमा कृष्ण सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायत छन् । सभापतिको उम्मेदवार बन्न नपाएको खण्डमा रामचन्द्र पनि सुशीलसँग नरहन सक्छन् । किनकि यसपछि उनको सभापति र प्रधानमन्त्री दुवै पदमा पुग्ने सम्भावना सकिनेछ ।
No comments:
Post a Comment