Tuesday, November 3, 2015

सभापतिमा लोभ नगर्न कोइरालालाई आग्रह

काठमाडौं, कातिक १८ । कांग्रेस सभापति सुशील कोइरालालाई आगामी महाधिवेशनबाट सभापति बन्ने चाहना नराख्न पार्टी सदस्यहरूले आग्रह गरेका छन् । केन्द्रीय समितिको जारी बैठकमा सदस्यहरूले प्रधानमन्त्रीमा उम्मेदवारी दिनु नेतृत्वको कमजोरी भएको आरोपसमेत लगाएका छन् । केन्द्रीय समितिको मंगलबारको बैठकमा पनि केन्द्रीय सदस्यहरूले नेतृत्वको विरोध गरेका हुन् । केही सदस्यले भने नेतृत्वको बचाउमा धारणा राखेका छन् । प्रधानमन्त्रीमा सुशील कोइरालाको उम्मेदवारीले पार्टीलाई गम्भीर क्षति पुर्‍याएको भन्दै केही सदस्यले अब सभापतिमा लोभ नगर्न सुझाब दिएका थिए ।

हचुवाको भरमा नेतृत्वले गरेको निर्णयले पार्टीलाई दूरगामी असर पार्ने उनीहरूको भनाइ छ । केन्द्रीय सदस्यहरू बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, सूर्यमान गुरुङ, नवीन्द्रराज जोशी, केशवकुमार बुढाथोकीलगायतले कोइरालाको उम्मेदवारी पुष्टि हुन सक्ने आधार नै नदेखिएको धारणा राखेका थिए । प्रधानमन्त्रीमा उम्मेदवारीसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायतका पद पनि कांग्रेसले गुमाउनुपरेको उनीहरूले बताएका थिए । तर, सदस्यहरू डा. शेखर कोइराला, डा. मीनेन्द्र रिजाल, प्रवक्ता दिलेन्द्रप्रसाद बडू, गुरुराज घिमिरे, महेन्द्र शर्मा र कल्याण गुरुङले भने प्रधानमन्त्रीमा कोइरालाको उम्मेदवारीको बचाउ गरेका छन् ।

प्रतिस्पर्धी एमालेसँग गठबन्धन बनाउन आवश्यक नभएको भन्दै उनीहरूले प्रधानमन्त्रीमा उम्मेदवारी लोकतान्त्रिक अभ्यास भएको बताएका थिए । तीन दिनदेखि जारी बैठकमा सदस्यहरूले गुटगत रूपमा विरोध र समर्थनमा बोलेका छन् । सोमबारको बैठकमा प्रधानमन्त्रीमा कोइराला उम्मेदवार बनेको विषयमा शीर्ष तीन नेताबीच आरोप–प्रत्यारोप चलेको थियो । २६ सदस्यले अझै बोल्न बाँकी रहेकाले बुधबार पनि बैठक चल्ने केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts