काठमाडौं,मंसिर २ । नेपाली महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आउनु भएकी अमेरिकी महिला म्यागी डोइनले सिएनएन हिरो २०१५ को उपाधि जित्नुभएको छ । अमेरिकाको न्यु जर्सीकी २८ वर्षकी डोइनले नेपाली महिला तथा बालबालिकाको जीवनस्तर सुधारमा गरेको प्रयासका लागि सिएनएन हिरो २०१५ को उपाधि दिइएको हो । डोइनले बिलिन्कनाव फान्डेसन मार्फत नेपाली बालबालिकाको शिक्षा तथा महिलाको जीवनस्तर सुधारका लागि काम गर्दै आउनुभएको छ ।
१८ वर्षको उमेरमा नेपाल भ्रमणमा आउनुभएकी डोइनले त्यसयता नेपाली बालबालिका र महिलाको क्षेत्रमा काम गर्दै आउनुभएको छ । उहाँले त्यसबेला नै व्यक्तिगत खर्चबाट पाँचहजार अमेरिकी डलर नेपाली बालबालिका तथा महिलाका लागि खर्च गर्नु भएको थियो । नेपाल गएपछि आफ्नो जीवनले नयाँ मोड लिएको डाइनले बताउनुभएको छ । आफूले नजन्माए पनि अहिले आफू ५० बालबालिकाको आमा बन्न पाएकोमा खुशी लागेको भन्दै उहाँले नेपालले पनि आफूलाई छोरीको रुपमा स्वीकार गरेर साथ र सहयोग दिएकोमा धन्यवाद पनि दिनुभएको छ ।
डोइन सिएनएन हिरोका लागि मनोनयनमा परेका १० जना मध्येबाट अनलाइन भोटिङको मार्फत विजयी बन्नु भएको हो । उहाँले एक लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नु हुनेछ । यस्तै मनोनयनमा परेका प्रत्येक १० जना दिइने १० हजार अमेरिकी डलर पनि उहाँले पाउनु हुनेछ । यो रकम बिलिन्कनाव फाउन्डेसनमार्फत नेपाली महिला र बालबालिकाको क्षेत्रमा खर्च गरिने उहाँले बताउनुभएको छ ।
उहाँले आउँदो डिसेम्बर ६ अर्थात मंसिर २० गते हुने एक विशेष कार्यक्रममा सम्मान प्राप्त गर्नु हुनेछ । डोइनको बिलिन्कनाव फाउन्डेसनले ४४ जना बालबालिकाका लागि सुरक्षित आवास बनाएको छ । यस्तै तीन सय ५० विद्यार्थीका लागि विद्यालय पनि बनाएको छ । यस्तै सुर्खेतमा महिलाका लागि एउटा सिकाइ केन्द्र बनाएको छ ।
No comments:
Post a Comment