काठमाडौं, कातिक ११ । राष्ट्रपति निर्वाचनमा भाग नलिने घोषणा गरेको आन्दोलनतरत मधेसी मोर्चाको मुख्य घटक सद्भावना पार्टीकी सांसद माधवी रानी साहले पनि राष्ट्रपति निर्वाचनमा भाग लिएकी छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राष्ट्रपति निर्वाचनमा सहभागी नहुने बताएपनि मोर्चाकै एक घटक सदभावनाकी सांसद साहले भने मतदान गर्नुभएको हो । धनुषाकी साह महतो नेतृत्वको सद्भावना पार्टीको समानुपातिकबाट सांसद बन्नुभएको हो । यसअघि प्रधानमन्त्रीको चुनावमा सहभागी भएको मोर्चा राष्ट्रपतिको चुनावमा भने मतदानमा भाग नलिने निर्णय गरेको थियो ।
साहले भनिन्-‘चुनावमा भाग नलिने कुरा मलाई थाहा भएन, म बाहिरबाट आएँ, त्यहाँ (संविधानसभा० पुगेँ र भोट हालेँ ।’ आफू परिवारसहित पटनाबाट बिहानमात्र काठमाडौं आइपुगेको र आराम गरेर राष्ट्रपतिको चुनावमा भोट हाल्न बानेश्वर पुगेको साहले बताउनुभयो ।
बिहान ११ देखि २ बजेसम्म भएको मतदानमा कुल ५ सय ९७ जना सांसद मध्ये ५ सय ४९ जनाले मतदान गरेका छन् । नेपाली कांग्रेसकी शिला खड्का र एमाओवादीका भक्तिप्रसाद पाण्डे मतदानमा अनुपस्थित हुनुहुन्थ्यो । खड्का पति खुमबहादुरको उपचारका लागि दिल्लीमा हुनुहुन्छ ।
No comments:
Post a Comment