Tuesday, October 13, 2015

बाबुराम जी, हिसिलालाई अघि लाएर कसरी बन्छ नयाँ शक्ति ?

काठमाडौं, असोज २६ । एमाओवादी नेत्री तथा बाबुरामपत्नी हिसिला यमीको आर्थिक पारदर्शिताको कुरालाई लिएर बेलाबेला चर्चा हुने गर्छ । बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला र उनी स्वयं मन्त्री भएका बेला आर्थिक उपार्जनमा लागेका कुराहरु धेरै आए, तर यसको प्रमाण अहिलेसम्म कसैले पेस गर्न सकेका छैनन् । तर, हिसिला यमीको नाम लिनेबित्तिकै प्रायः मानिसले उनीप्रति यही गलत धारणा बनाइहाल्छन् । मंगलबार एमाओवादी परित्याग गरेर नयाँ शक्ति निर्माणमा जुटेका बाबुराम भट्टराईलाई उनका कार्यकर्ताले हिसिलाको विषयसँग जोडेर यसबारे प्रश्न गरे ।

बाबुरामले आफ्ना कार्यकर्ता र नेताहरुलाई पार्टी त्याग गर्नाको कारण र अबको भावी योजनाका बारेमा जानकारी दिन आयोजित भेलामा बाबुरामले झन्डै २ घन्टा बढी बोले । उनले आफ्नो भाषणमा माओवादी छाड्नुको कारणदेखि अहिलेको समसामयिक राजनीति र आफ्नै नयाँ पार्टी निर्माणका विषयमा केन्द्रित रहेर बोले ।

लामो भाषण गरेका भट्टराईले आफ्ना कुरा राखिसके पछि उपस्थित कार्यकर्तालाई जिज्ञासा राख्न भने । कार्यकर्ताबाट अनेक जिज्ञासा आए, बाबुरामले त्यसको जवाफ दिँदै गए ।

यस्तैमा बाबुराम बोलिरहेको मञ्चमा उपस्थित कार्यकर्तामध्ये कसैले जिज्ञासा राखेर लेखेको एउटा कागजको टुक्रो पुग्यो । त्यो टुक्रो पहिले कार्यक्रम सञ्चालक बलावती शर्माको हातमा पुग्यो । बलावतीले त्यो कागजको टुक्रो बाबुरामलाई दिइन् । जसमा लेखिएको थियो – अनेक आर्थिक हिनामिनाको आरोप लागेकी श्रीमती हिसिलालाई अघि लाएर कसरी नयाँ शक्ति बनाउँछौं भट्टराई ?’

आफ्नै श्रीमतीको विरुद्द लांक्षना लागेर सोधिएको प्रश्न बाबुरामले बेवास्ता गर्न सक्ने अनुमानविपरीत बाबुरामले उक्त जिज्ञासा आफैंले पढेर सहभागीलाई सुनाए । र, त्यसका बारेमा स्पष्टीकरण दिए ।

‘आफूलाई लागेका कुरा स्पष्ट रुपमा राख्नुपर्छ । तपाईंहरुले आफूलाई लागेका कुरा राखेर यो विषय स्पष्ट पार्ने अवसर दिनुभएकोमा सर्वप्रथम धन्यवाद दिन चाहन्छु,’ बाबुराम भन्दै गए, ‘यो कुरा म आफैंले धेरैपटक सुनेको छु । यो निराधार कुरा हो, यसमा कुनै सत्यता छैन । आरोप लगाएर पुग्दैन, त्यसको प्रमाण पेस गर्न सक्नुपर्छ । हिसिलाले कोसँग, कहाँबाट नाजायज आर्थिक फाइदा लिइन ? कसैले प्रमाण पेस गर्न सक्छ ? यदि कसैले प्रमाण पेस गर्छ भने कानुनबमोजिम कारबाही भोग्न तयार हुनुपर्छ । अरुमाथि अनावश्यक लाञ्छना लगाउन मिल्दैन । यो चरित्र हत्या गर्न खोज्नेहरुको प्रपञ्चबाहेक केही होइन ।’ भट्टराईले आफू आर्थिक अनुशासनमा विश्वास गर्ने भएकाले यस्ता निराधार कुरामा विश्वास नगर्न कार्यकर्तालाई आग्रह समेत गरे । भट्टराईले हिसिलाबारे स्पष्टीकरण दिएपछि कार्यकर्ताले प्रसन्नता व्यक्त गर्दै ताली बजाएका थिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts