Thursday, August 4, 2016

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भएको छ। महराको नेतृत्वमा पहिलो चरणमा गौरीशंकर चौधरी र दलजित श्रीपाली मन्त्री बन्ने भएका छन्। चौधरीले कृषि र श्रीपालीले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।

गृह नपाएको झोकमा केसी मन्त्री बन्न मानेनन्, निधी र लेखकको मात्र सपथ

काठमाडौं,साउन २० । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले गृह मन्त्रालय नपाएपछि सपथ लिन गएनन् । प्रचण्ड सरकारमा कांग्रेसले पहिलो चरणमा पठाएको तीन मन्त्रीमा केसीको तयगरेपनि सभापति शेरबहादुर देउवालाई आफू मन्त्री नबन्ने खबर पठाएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले उनलाई रक्षा वा स्वास्थ्य मध्ये एक रोज्न भनेका थिए । देउवाले भने सरकारमा पार्टीको नेतृत्व गर्ने गरी विमलेन्द्र निधिलाई उपप्रधान एवं गृहमन्त्री दिएका छन् । केसीले मन्त्रिमण्डलमा कांग्रेसको नेतृत्व गरेर गएका बिमलेन्द्र निधिभन्दा आफू वरिष्ठ भएकाले कि त आफ्नो नेतृत्वमा कांग्रेस सरकारमा जानुपर्ने नभए आफूले गृहमन्त्रालय पाउनुपर्ने अडान लिएका थिए।

बिमलेन्द्र निधिको नेतृत्वमा यसअघि तीन जनाको सपथ हुने भनिएपनि अर्जुननरसिंह केसीको मन्त्रीबन्न नमानेपछि निधी र रमेश लेखकले मात्र आज पद तथा गोपनियताको सपथ लिने भएका छन्। निधिले उपप्रधानसहित गृह र लेखकले भौतिक योजना मन्त्रीको सपथ लिँदछन्।

प्रचण्डलले लिए देश र जनताका नाममा सपथ, आजै कार्यभार सम्हाल्ने

काठमाडौं,साउन २० । नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मुलुको ३९ औं प्रधानमन्त्रीका रूपमा पद तथा गोपनियताको सपथ लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा प्रचण्डलाई सपथ खुवाएकी हुन् । दाहालले देश र जनताका नाममा सपथ लिएका छन्।

सपथ ग्रहण कार्यक्रममा दाहाल भादगाउँले टोपी, सर्ट,पाइन्ट र कोटमा सजिएका थिए।सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, सभामुख, प्रधानन्यायाधीश, संवैधानिक अंगका प्रमुखहरु, सुरक्षा अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायत सहभागी थिए । प्रचण्ड यसअघि २०६५ सालमा पनि प्रधानमन्त्री बनेका थिए । उनी दुईपटकसम्म प्रधानमन्त्री बन्ने नेपालको पहिलो कम्युनिष्ट नेता बनेका छन् ।

Wednesday, August 3, 2016

‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित,को हुन प्रचण्ड ?

काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री पदमा निर्वाचित भएका छन्। कुल खसेको ५७३ मतमा ३६३ मत पाएर प्रचण्ड मुलुकको ३९औं प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । बुधबार संसदमा भएको मतदान पश्चात सभामुख ओनसरी घर्तिमगरले प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरिन्। संसदमा हाल कायम रहेका ५९५ सदस्य मध्ये कुल खसेको ५७३ मतको ३६३ मत पक्षमा र २१० मत विपक्षमा खसेको थियो । एमाले, राप्रपा नेपाल, नेकपा माले, नेमकिपा, नेपाल समता पार्टी लगायतका २१० सांसदले विपक्षमा मतदान गरेका थिए।

उनलाई कांग्रेस, मधेसी मोर्चा लगायतका दलले निर्वाचित गरेका हुन्। प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएको यो दोस्रो पटक हो । यसअघि २०६५ सालमा पनि प्रचण्ड प्रधानमन्त्री बनेका थिए । गणतान्त्रिक नेपालमा दुईपटक प्रधानमन्त्री बन्ने प्रचण्ड पहिलो कम्युनिष्ट नेतासमेत बनेका छन् ।

नाम : पुष्पकमल दाहाल प्रचण्ड

(कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहालबाट नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरिएको, भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, प्रचण्ड, निर्माण, प्रचण्ड)

बाबुको नाम : मुक्तिराम दाहाल

–आमाको नाम : भवानी दाहाल

–श्रीमति : सीता दाहाल (२०२६ मा विवाह)

–जन्मस्थान : ढिकुर पोखरी गा.वि.स., वार्ड नं. २, लेवाडे, कास्की, गण्डकी अञ्चल

–जन्म मिति : २०११ साल मंसिर २६ गते

–६ बहिनी, २ भाईमध्ये पहिलो सन्तान

–बसाँइ सराई २०१९ सालमा ढिकुर पोखरी –२ बाट चितवन भरतपुर, शिवनगर गा.वि.स.मा भएको ।

– छोरीहरु : ज्ञानु दाहाल, रेणु दाहाल, गंगा दाहाल

–छोरा : प्रकाश दाहाल

–भाई : गंगाराम दाहाल

– बहिनीहरु

– अप्सरा भण्डारी, सिता अधिकारी, कमला पौडेल, विष्णु भण्डारी, सरस्वती पाठक

– प्राथमिक शिक्षा : महेन्द्र प्राथमिक विद्यालय, ढिकुर पोखरी

–माध्यामिक शिक्षा : नारायणी विद्या मन्दिर मा.वि., शिवनगर

– आई.एस्सी. : पाटन संयुक्त क्याम्पस

– वि. एस्सी., एजी.: रामपुर कृषि क्याम्पस

–अध्यापन : नारायणी विद्या मन्दिर मा.वि., शिवनगर, डण्डा मा.वि., नवलपरासी, भीमोदय मा.वि., आरुघाट, गोरखा

–कर्मचारी सेवा : यू.एस.एड ०३२

राजनैतिक जीवन :

२०२८ सालमा पुष्पलाल समूहमा पार्टी सदस्यता

२०३१ सालमा माक्र्सवादी अध्ययन समूहको गठन

२०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश ÷ २०३५ सालमा पूर्णकालीन

२०३६ सालमा चितवन जिल्ला समिति सदस्य निर्वाचित

२०३८ सालमा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको महासचिव

भूमिगत जीवन २०३८ सालदेखि २०६३ सालसम्म

२०४० सालमा अखिल नेपाल युवक संघको केन्द्रीय समितिको अध्यक्ष

२०४१ सालमा ने.क.पा. (मशाल) को केन्द्रीय समिति सदस्यमा निर्वाचित – पाँचौ महाधिवेशनबाट

२०४२ सालमा ‘मशाल’को केन्द्रीय समितिको पोलिटव्युरो सदस्य

२०४६ सालमा ने.क.पा. (मशाल)को महामन्त्री

२०४८ सालमा ने.क.पा.(एकता केन्द्र) को महामन्त्री

२०५१ सालमा ने.क.पा.(माओवादी) को महामन्त्री

२०५७ सालमा दोश्रो राष्ट्रिय सम्मेलनबाट ने.क.पा.(माओवादी)को अध्यक्ष

२०५८ सालमा जनमुक्ति सेना, नेपालको सर्वोच्च कमाण्डर

२०६३ साल असार २ गते काठमाण्डौंमा भूमिगत जीवनबाट सार्वजनिक

२०६४ चैत्र २८ मा भएको संविधानसभा निर्वाचनामा काठमाडौं १० रोल्पा २ वाट विजय

२०६५ साउन ३१ मा गणतान्त्रिक नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री

२०६६ बैशाख २० मा प्रधानमन्त्रीवाट राजीनामा

२०६९ मा हेटौडा महाविधेशनबाट पार्टी अध्यक्ष

२०७० मा भएको दोस्रो संविधानसभा चुनावमा सिराह–५ बाट विजयी

२०७१ विराटनगर सम्मेलनबाट पार्टी अध्यक्ष

२०७३ जेठमा पार्टी एकता, पार्टीको नाम माओवादी केन्द्र

२०७३ साउन १८ मा प्रधानमन्त्रीका लागि मनोनयन दर्ता

२०७३ साउन १९ मा प्रधानमन्त्री निर्वाचित

Tuesday, August 2, 2016

प्रचण्ड प्रधानमन्त्रीमा दोहोरिने पहिलो कम्युनिस्ट नेता

काठमाडौं,साउन १९ । प्रधानमन्त्री दौडमा एकल प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधवार निर्वाचित भए उनले प्रधानमन्त्रीमा दोहोरिने पहिलो कम्युनिस्ट नेता हुनेछन्। नेपालमा प्रजातन्त्रयता पाँच कम्युनिस्ट प्रधानमन्त्री बनेपनि कोही दोहोरिन पाएका छैनन्। नागरिक दैनिकमा समाचार छ।
२०५१ सालको मध्इावधिमा सबैभन्दा ठूलो दल बनेपछि नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी देशका पहिलो कम्युनिस्ट प्रधानमन्त्री बनेका थिए। ९ महिना अल्पमतको सरकार चलाएर चर्चाको शिखरमा पुगेका अधिकारीपछि कम्युनिस्ट पार्टीले देशको नेतृत्वका लागि करिब १४ वर्ष कुर्नु परेको थियो।

विभिन्न कालखण्डमा नेकपा एमाले र नेकपा माले संयुक्त सरकारमा सहभागी भएपनि पहिलो संविधानसभाको निर्वाचनपछि मात्रै दोस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर कम्युनिस्ट पार्टीले पाएको थियो। त्यतिबेला तत्कालीन एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वमा सरकार बनेको थियो। त्यो सरकार पनि ९ महिनाभन्दा बढी टिक्न सकेन।

निधिको नेतृत्वमा कांग्रेस सरकारमा जाने

काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र निधिले पार्टीको नेतृत्व गर्ने भएका छन्। नयाँ गठबन्धन निर्माणमा सक्रिय नेता निधिलाई नै सभापति शेरबहादुर देउवाले नेतृत्वसहित सरकारमा पठाउने तयारी गरेका हुन्।
प्रधानमन्त्रीको सपथसँगै कांग्रेसका तर्फबाट निधिसहित केही नेताले सपथ लिने देउवा निकट स्रोतको दाबी छ। बाँकी मन्त्रालयमा भने पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघका महाधिवेशनपछि मात्र मन्त्री पठाउने देउवाले आन्तरिक गृहकार्य गरेका छन्।

‘पहिलो चरणमा पार्टीका तर्फबाट २/३ जनाको संख्यामा सरकारमा सहभागी गराउने तयारी छ,’देउवानिकट स्रोतले भन्यो,‘बाँकी मन्त्रालयमा केही समयपछि मात्र मन्त्री सहभागी हुनेछन्।’ एकैपटक मन्त्री पठाउँदा त्यसको असर नेविसंघ महाधिवेशनमा पर्नसक्ने भन्दै देउवाले चरणबद्ध रुपमा पठाउने रणनीति बनाएको स्रोतको दाबी छ। नागरिक दैनिकमा समाचार छ।

गच्छदार र थापालाई मन्त्री नबनाउन मोर्चाको दबाब

काठमाडौं,साउन १९ । मधेसी मोर्चाका नेताले सरकारमा राप्रपा नेपाल र लोकतान्त्रिक फोरमलाइ नल्याउन अनौपचारिक रुपमा दबाब दिएका छन् । उनीहरुले कमल थापा र विजय कुमार गच्छादारलाई मन्त्री बनाए सरकारमा सहभागी नहुने सर्त समेत राखेको स्रातको भनाइ रहेको आजको राजधानी दैनिकमा समाचार छ ।

तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबार राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टेलिफोन गरी सरकारमा आउन आग्रह गरेका थिए । उनले थापालाई वर्तमान सरकारमा सम्हालेको जिम्मेवारीकै हैसियत दिन तयार रहेको बताएका थिए । राप्रपा नेपालले सरकारमा जाने की नजाने भनेर निर्णय गरेको छैन । गच्छदारको पार्टीले भने सरकारमा जाने निर्णय गरिसकेको छ । मधेसी मोर्चाका नेताले प्रचण्डलाई सरकारमा ल्याए आफूहरु सरकारमा नजाने बताएका थिए ।

Empower Nepal Tour- Himalayan Melodies of Sur Sudha, USA

The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundation.

On Aug 19, they will be performing in Springfield, VA
On Aug 20 Washington DC and
On Aug 21 Baltimore, MD

This is a unique opportunity to listen to the peaceful folk tunes and classical melodies from Nepal. We will be using the proceeds of this show to support the Wounded Heroes Trek of Hope and ongoing Earthquake Relief work in Nepal.

पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो, केमा कति घट्यो ?

काठमाडौं,साउन १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको हो। मूल्य घटाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ७३ रुपैयाँ कायम भएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ३७५ रुपैयाँ कायम भएको छ। घटाएको मूल्य मंगलबार राति १२ बजेबाट लागू हुने नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए।

Monday, August 1, 2016

‘सुशासन समिति लोकमान कार्कीको मतियार बन्यो’-अभियन्ता डा.गोविन्द केसी

काठमाडौं,साउन १८ । सामाजिक अभियन्ता प्रा.डा.गोविन्द केसीले संसदको सुशासन समिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको मतियार बनेको आरोप लगाउनुभएको छ ।
समितिले आफूलाई बोलाएको उल्लेख गर्दै उनले कार्कीलाई बोलाउन सकेमात्र आफू पनि उपस्थिति हुने बताउनुभएको छ ।

‘मलाई सुशासन समितिले बुधबार आउन सक्नु हुन्छ भनेर बोलाएको छ । तर, समितिले सात दिन बितिसक्दा पनि लोकमानलाई उपस्थित गराउन सकेको छैन,’ केसीले भने,‘उपसमितिका मान्छेहरु लोकमानकै बचाउमा लागिरहेका छन् ।’संसदको सुशासन समिति मुलुकको सबै अंगले काम गरको छ वा छैन यसको अनुगमन गर्नुका साथै निर्देशनसमेत दिन सक्ने निकाय हो ।

आफ्नो स्वास्थ्यस्थिति समेत बताउँदै ‘लोकमानलाई बोलाउन सक्नु हुन्न, मलाई बोलाएर के अर्थ हुन्छ ?’ भनि प्रश्न गरेको बताउनुभयो । अख्तियार प्रमुख कार्कीले समितिले बोलाएपछि घाँटीमा संक्रमण भएको भन्दै एक साता आराम गर्नु परेको पत्र पठाएको कान्तिपुर दैनिकमा समाचार छ ।

सरकार नबन्दै कांग्रेसमा चरम विवाद, पौडेलले बोलाए गोप्य भेला

काठमाडौं,साउन १८ । नेकपा माओवादी केन्द्रसँग सहकार्य गर्दै सरकार गठनको अन्तिम तयारीमा लागेका बेला नेपाली कांग्रेसभित्रै गम्भिर विवाद देखिएको छ। सभापति शेरबहादुर देउवाले आफूलाई बाइपास गरी एकलौटी रुपमा अघि बढेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले कडा आपत्ति जनाएपछि कांग्रेसभित्रको विवाद सतहमा आएको हो।
सभापति देउवाको कार्यशैलीप्रति आक्रोशित बनेको पौडेल पक्षधरले प्रधानमन्त्री निर्वाचनमा आवश्यक रणनीति तय गर्न भन्दै मंगलबार आफू पक्षधर केन्द्रीय सदस्यको भेला समेत बोलाएका छ।

पटकपटक गरिएको आग्रह अस्वीकार गर्दै सभापति देउवा एक्लै हिडेपछि भेला बोलाउन बाध्य भएको पौडेल पक्षधरको भनाई छ। पौडेल पक्षधर नेताहरुले सरकारको विषयमा निर्णय लिन तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेको राजधानी दैनिकमा समाचार छ। सभापति देउवाको बूढानिलकण्ठस्थित निवासमै पुगेर पौडेल पक्षधरले धम्कीसहित बैठक बोलाउन सुझाव दिएका छन्। पौडेलसहित उनी पक्षधर नेताहरु सोमबार साँझ देउवा निवास पुगेका थिए। देउवा निवास जानुअघि पौडेल पक्षधर नेताहरुले अनामनगरस्थित सम्पर्क कार्यालयमा बैठक गरेका थिए।

वैठकमा उनीहरुले पार्टी सभापतिलाई भेटेरै दबाब दिने निर्णय गरेका हुन्। सोही निर्णयअनुसार देउवा निवासमै पुगेर देउवालाई बैठक बोलाउन र अहिलेसम्मका सबै गल्ती सच्याउन पौडेल पक्षले भनेको हो।

प्रधानमन्त्री निर्वाचनमा एमालेलाई साथ दिने को–को ?

काठमाडौं,साउन १८ ।  व्यवस्थापिका–संसद्को कुनै सदस्यले आफूलाई नेपालको संविधानको धारा २९८ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनी मंगलबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न पाउने गरी कार्यतालिका तोकिएको छ । उम्मेदवारले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उम्मेदवारीको सूचना दर्ता गराउनुपर्ने निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

एमालेले प्रधानमन्त्री निर्वाचनमा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई उम्मेदवार उठाउने तयारी गरेको छ । उपाध्यक्ष वामदेव गौतमले उम्मेदवारीका लागि संसदीय दलको नेता बनाइनुपर्ने सर्त अघि सारेपछि प्रधानमन्त्री केपी ओली नेम्वाङलाई उठाउने निष्कर्षमा पुगेका हुन् । यद्यपि, उम्मेदवारीको औपचारिक टुंगो भने मंगलबार बिहान बस्ने स्थायी समिति बैठकबाट लगाउने एमालेको तयारी छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गौतमलाई तत्काल दलको नेता बनाउने सम्भावना नरहेकाले नेम्वाङ नै पार्टीबाट उम्मेदवार बन्ने स्रोतको दाबी छ ।

पाँच सिटको नेकपा माले, चार सिटको नेमकिपा, तीन सिटको राष्ट्रिय जनमोर्चा, दुई सिटको नेपाल परिवार दल र एक सिटको बहुजन शक्ति पार्टी अहिलेसम्म प्रतिपक्षमा बस्ने देखिएका छन् । दुई सिट रहेको राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपाल र एक–एक सिट भएका खम्बुवान राष्ट्रिय मोर्चा, अखण्ड नेपाल पार्टी, जनजागरण पार्टी नेपाल, मधेस समता पार्टी नेपाल, दलित जनजाति पार्टी नेपाल प्रस्ट रूपमा खुलिसकेका छैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सामसुङको नयाँ फोन ‘जे म्याक्स’ बजारमा, के-के छन् यसको विशेषता ?

एजेन्सी । दक्षिण कोरियाली मोबाइल कम्पनी सामसुङले ग्यालेक्सी सिरिजको नयाँ ट्याबलेट ‘जे म्याक्स’ बजारमा उपलब्ध गराएको छ । ग्यालेक्सी जे म्याक्स नामबाट सार्वजनिक भएको यो ट्याबलेटमा ७ इन्चको डिस्प्ले स्क्रिन राखिएको छ। यसको मूल्य १३ हजार ४ सय भारतीय रुपैयाँ तोकिएको छ। यो स्मार्टफोनको विशेषता भनेको यसको ठूलो स्क्रिन हो। ७ इन्च डिस्प्ले भएको ‘जे म्याक्स’ कालो र सुनौलो रङमा उपलब्ध छ।
यसका साथै एन्ड्रोइडको ५.१ भर्सन ललीपप अपरेटिङ सिस्टममा काम गर्नेछ। १.५ जीबी र्याम दिइएको यो ट्यावलेटमा १६ जीबीको इन्टरनल मेमोरी राखिएको छ जसलाई बढाएर माइक्रो एसडी कार्डमा २ सय जीबीसम्म बढाउन सकिन्छ। यसमा डबल सिम सपोर्ट गर्ने सुविधा छ। ९ मेगा पिक्सेल क्यामरा जडान गरिएको यसमा २ मेगा पिक्सेलको फ्रन्ट क्यामरा समाहित छ। यो ट्याबलेटको ब्याट्री ४ हजार एमएएच राखिएको छ। साथै यसमा डाटा सेभिङ मोड सुबिधा उपलब्ध छ।

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts