Tuesday, July 12, 2016

यस्तो छ सरकार गठनको अंकगणित,ओलीसरकारलाई मधेसी मोर्चाले मात्र बचाउन सक्ने !

काठमाडौं,असार २८ । केपी ओेली सरकारबाट बाहिरिएको नेकपा माओवादी केन्द्र कांग्रेससँग मिलेर प्रचण्डको नेतृत्वमा सरकार बनाउने प्रयासमा जुटेको छ । ठूलो दल कांग्रेस पनि प्रचण्डलाई बहुमतीय सरकारको प्रधानमन्त्री बनाउन सकारात्मक देखिएको छ । तर, दोस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री हुनु पर्ने उसको शर्त छ ।

माओवादीले नयाँ सरकार गठनको तयारी गरे पनि प्रधानमन्त्री ओली संसदको सामना गर्ने तयारीमा छन् । यदि प्रधानमन्त्री ओलीले राजीनामा दिएनन् भने संसदमा अविश्वासको प्रस्तावको सामना गर्नु पर्ने हुन्छ । त्यस्तो अवस्थामा संसदभित्रको जोड घटाउ महत्वपूर्ण हुन्छ ।

प्रचण्ड-देउवाको पल्ला भारी

संसदमा अहिले ५९७ सदस्य छन् । जसमा माओवादी सांसद ल्यारक्याल लामा निलम्बित छन् । अर्थात ५९६ सासद मतदानका लागि योग्य रहनेछन् ।

प्रचण्डलाई प्रधानमन्त्री बन्न २९८ सदस्यको समर्थन आवश्यक पर्छ । माओवादी आफैंसँग ८२ सांसद छन् । संसदको ठूलो दल कांग्रेससँग २०६ सांसद छन् । माओवादी र कांग्रेस मिल्ने हो भने २८८ मत पुग्छ र प्रधानमन्त्री बन्न मात्र १० सिट चाहिन्छ ।

यस्तो अवस्थामा प्रचण्डलाई प्रधानमन्त्री बन्न त्यति गाह्रो छैन । मधेसी मोर्चासँग ३४ मत छ भने फोरम लोकतान्त्रिकसँग १४ मत छ । साना दलहरु पनि छन्, जसले पदीय भागवण्डामा सहमति हुने हो भने समर्थन गर्न सक्छन् ।

ओलीलाई मधेसी मोर्चाले मात्र बचाउन सक्ने !

प्रधानमन्त्री ओलीले संसदमा अविश्वासको प्रस्तावको सामना गर्छु भनिरहेका छन् । यदि बिश्वासको मत लिने उनको प्रयास हो भने त्यो त्यति सहज भने छैन ।

ओलीले राजीनामा नदिएमा उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने देखिन्छ । यस्तो अवस्थामा ओलीले आफ्नो पक्षमा बहुमत अर्थात २९८ मत देखाउनुपर्छ । प्रधानमन्त्री बन्दै गर्दा ओलीले कुुल ५८७ मत मध्ये ३३८ मत पाएका थिए । जसमध्ये तीन सांसद भएको नेकपा संयुक्तले यसअघि नै समर्थन फिर्ता लिइसकेको छ ।

अहिले माओवादीले पनि समर्थन फिर्ता लिएपछि बाँकी सबै समर्थन कायम राख्दा पनि ओलीसँग २५२ मत मात्र रहनेछ । उनलाई पदमै रहिरहन ४६ मत चाहिन्छ ।

कांग्रेस र माओवादीबाहेक सबै दल ओलीको पक्षमा मात्र सरकार बच्न सक्छ । जसमा ठूलो संसद संख्या भएको राजनीतिक शक्ति यतिबेला मधेसी मोर्चा मात्र देखिन्छ । अर्थात् अब मधेसी मोर्चाले मात्र ओली सरकार बचाउन सक्छ किनकी उसँग ३४ सांसद छ । मधेसी मोर्चालाई आफ्नो पक्षमा ल्याउनु ओलीका लागि लगभग असम्भव जस्तै देखिन्छ ।

ओली प्रधानमन्त्री हुनु अगाडीदेखि नै मधेसी मोर्चा आन्दोलनमा छ र उसले ११ बुँदे माग राखिरहेको छ । र, अब यदि सरकार गठनको प्रक्रियामा सामेल हुँदा मोर्चाले ओलीबाट ती माग पुरा गराउन खोज्नेछ । प्रधानमन्त्रीका रुपमा ओलीका बोली र ब्यबहार सम्झिँदा एमाले नेतृत्व र ओलीले मोर्चाका माग सुन्नसम्म पनि सक्ने देखिन्न ।
-अनलाइनखबर

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts