काठमाडौं,साउन ११ । संसदको सुशासन समितिले बोलाएको बैठकमा अख्तियार प्रमुख लोकमान सिंह कार्की अनुपस्थित भएका छन् । काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा अख्तियारले हस्तक्षेप गरेको सम्बन्धमा मंगलबार बोलाईएको बैठकमा आफूलाई घाँटीमा समस्या भएको भन्दै कार्की अनुपस्थित भएका हुन् । अख्तियारका तर्फबाट बैठकमा सचिव शान्तराज सुवेदी, वेगेन्द्रराज शर्मा, कानुनविज्ञ भानुभक्त पोखरेल, प्रवक्ता कृष्णहरि पुष्करलगायत आठ जना कर्मचारी उपस्थित भएका थिए ।
कार्कीले समितिलाई पत्र पठाउँदै घाँटीको समस्याको कारण एक सातासम्म बोल्न समस्या हुने र चिकित्सकको सल्लाहअनुसार एण्टीबायोटीक प्रयोग गरिरहेकोले उपस्थित हुन नसकेको बताएका छन् ।
बैठकले चिकित्सा क्षेत्रमा अख्तियार जोडिएको विषय र काठमाडौं विश्वविद्यालयमा हस्तक्षेप गरेको विषयमा छानविन गर्न पाँच सदस्यीय उपसमिति गठन गरेको छ।
उदय नेपाली श्रेष्ठ, जनकराज जोशी, पदमनारायण चौधरी, नरसिंह चौधरी र मिलन राजवंशी रहेको पाँच सदस्यीय समिति गठन गरेको हो । वरिष्ठ चिकित्सक गोविन्द केसीले अख्तियार कार्कीमाथि चिकित्सा क्षेत्रका विकृतिमा भ्रष्टहरूसँग मिलेर साथ दिने गरेको, आफ्नो र आफन्तको निहित स्वार्थका लागि काम गर्ने गरेकोलगायत आरोप लगाउँदै महाअभियोग माग गरी १६ दिनसम्म अनसन बसेका थिए। छानविन समितिले दस दिनभित्रमा के भएको हो भनी प्रतिवेदन सुशासन समितिमा पेश गर्नेछ।
No comments:
Post a Comment