Saturday, June 18, 2016

नेपालमै दुईवटा समानान्तर सरकार : एउटा सदनबाट, अर्को जेलबाट

काठमाडौं,असार ५ । बारा चैनपुरका २५ वर्षीय प्रमोद साह गत जेठ १५ मा गणतन्त्र दिवस अवसरमा पर्साको वीरगन्ज कारागारबाट रिहा भए । असल चालचलन भएको बताउँदै सरकारले उनको आधा कैद मिनाहा गरेको हो । कारागार प्रशासनलाई ४० हजार रुपैयाँ बुझाएर आफू छुटेको उनले बताउने गरेका छन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ – सुन व्यवसायीको अपहरण गरी फिरौती लिएको अभियोगमा पुर्पक्षका लागि गत महिना कारागार चलान भएका प्रहरी हवल्दार विनय सिंह, पूर्वजवान अरविन्द सिंह र कारोबारी दीपक सिंहलाई पहिलो दिन नाइकेले गोलघरमा कुटपिट गर्दै कैद गरे । घरबाट पैसा मगाउन राजी भएपछि मात्र उनीहरूलाई बाहिर निकालियो । स्रोतका अनुसार आफन्तबाट भोलिपल्ट ६५ हजार रुपैयाँ मगाएर नाइकेलाई बुझाएका थिए ।

गत पुस १४ मा रिहा भएका वीरगन्ज १६ तेजारथटोलका रामकृपा ठाकुरले कारागारमा बसुन्जेल मासिक तीन हजार रुपैयाँ नाइकेलाई बुझाउँदै आएका थिए । निर्धारित मितिभन्दा एक दिन पनि ढिला हुँदा नाइकेले शौचालय सफा गर्न लगाउने र खाना खान निषेध गर्ने गरेको उनको भनाइ छ । खोटा चलनमा साढे तीन वर्ष कैद सजाय काटेका ठाकुरले समयमा मागेजति पैसा बुझाउन नसक्दा धेरै पटक कुटाइ खाएका छन् ।

वीरगन्ज कारागारका चौकीदार दारा सिंह भनिने दुर्गा पटेल ०५९ कात्तिक ६ देखि लागूऔषध मुद्दामा सजाय काटिरहेका व्यक्ति हुन् । भाइनाइके नियुक्त भएका विदेशी साह अपहरण ज्यान कसुरमा ०६६ पुस ७ देखि कैदमा छन् । परिवारमा कमाउने अन्य सदस्य नभए पनि चौकीदार र भाइनाइके नियुक्त हुनेबित्तिकै दुवैले नयाँ घर निर्माण गरेका छन् । साहले पर्साको हरपतगन्ज ३ मा हालै दुईतले पक्की घर बनाएका छन् । चौकीदार पटेलले वीरगन्ज १५ मुर्लीस्थित पुरानो घर भत्काएर नयाँ निर्माण थालेका छन् । घरको झ्याल र ढोकाका लागि कारागारकै पुरानो काठ प्रयोग गरिएको पाइएको छ ।

यसअघि चौकीदार रहेका चाचा भनिने मोहम्मद शेख सफीले दुई वर्षे कार्यकालमा जिल्लाको बेल्वा र जितपुरमा पक्की घर निर्माण गरेका थिए । शान्ति सुरक्षामा चुनौतीको कारण देखाउँदै कारागारले गत पुस २३ मा चाचालाई केन्द्रीय कारागार काठमाडौं चलान गरेपछि दारा उनको ठाउँमा नियुक्त भएका हुन् । चाचाको कार्यकालदेखि नै साह भाइनाइके छन् । एक वर्षअघि नै कैद भुक्तान भइसके पनि पनि चौकीदार चाचा जेलमै थिए । जेल भित्रबाटै कमाउनका लागि कैद भुक्तान भएपछि पनि उनी जरिवाना नतिरी लामो समय बसेका हुन् । कारागार व्यवस्था विभागले काठमाडौं सरुवा गरेपछि उनी जरिवाना तिरेर छुटेका छन् ।

राणाकालमा स्थापना भएको वीरगन्ज कारागारमा अहिले एक हजार एक सय नौ कैदीबन्दी छन् । क्षमताभन्दा दोब्बर संख्या हुँदा कोचाकोच भएर बस्न बाध्य कैदी कारागारको आन्तरिक प्रशासन हेर्ने चौकीदार र भाइनाइकेको आर्थिक र शारीरिक शोषणबाट प्रताडित बन्दै आएका छन् । सुरक्षाको डरले जेलभित्र कोही बोल्न सक्दैनन् तर सजाय काटेर बाहिरिने बित्तिकै भेटिनेहरूलाई अवैध असुली र यातनाका किस्सा सुनाउने गर्छन् । कारागारलाई सुधार गृहका रूपमा विकास गर्ने सरकारी योजना छ । तर, त्यो प्रभावकारी कार्यान्वयनमा आएको पाइँदैन । उल्टो, अवैध असुली र अपराधको अखडा बनेको छ ।

‘भ्रष्टाचार’को जालो
जेलमा आन्तरिक प्रशासनको जिम्मेवारी कैदीलाई नै दिइन्छ । कारागार व्यवस्था नियमावलीमा असल चालचलन भएकाबाट नाइके र चौकीदार छान्ने प्रावधान छ । तर, आर्थिक चलखेल गर्न सक्ने, भित्रै गुन्डा पालेर रकम संकलन गर्ने व्यक्ति चौकीदार बन्दै आएका छन् । जेलर र स्थानीय प्रशासनलाई खुसी बनाउन सक्ने कैदी पहिलो रोजाइको चौकीदार बन्छन् । मासिक १५ लाखदेखि २० लाख रुपैयाँसम्म मासिक अवैध असुली हुने गरेको छ । रासन वितरण, मेस सञ्चालन र पसल चलाउने जिम्मा नाइकेकै हुन्छ । भेटघाट गराउने जिम्मेवारी पनि उनीहरूकै हुन्छ । पैसावाला कैदीलाई राम्रो ठाउँमा सुताउने, फोन गर्न दिने, जतिखेर पनि मान्छे भेट्न पाउने सुविधा चौकीदारले उपलब्ध गराउँछन् ।

कैदीबन्दीले दैनिक सात सय ग्राम चामल र ४५ रुपैयाँ पाउँछन् । नुन, तेल, तरकारी, साबुनलगायत दैनिक उपभोग्य सामग्री जेलभित्रैको पसलबाट खरिद गर्नुपर्छ । ‘बाहिर ३० रुपैयाँमा पाइने दाँत माझ्ने ब्रस भित्र ७५ रुपैयाँ पर्छ,’ छुटेर आएका एक व्यक्तिले भने, ‘तरकारी दोब्बर मूल्यमा खरिद गर्नुपर्छ ।’ जेलर चक्रपाणि गौतमले कारागार भित्रको महँगी नियन्त्रण गर्न आवश्यक प्रयास गरिने बताए ।

जेलमा ‘बाउन्सर’
आन्तरिक प्रशासनको विरोधमा उत्रिने कैदीलाई नियन्त्रणमा राख्न चौकीदारले एक दर्जन ‘बाउन्सर’ पालेका छन् । त्यसबाहेक कैदी सुत्ने १२ वटा कोठामा १र१ बाउन्सर खटाइएको छ । उनीहरूका लागि जेलमै जिमखाना खोलिएको छ ।

‘मांसाहारी खानासँगै कहिलेकाहीं बाउन्सरहरूलाई जेलमै मदिरासमेत व्यवस्था गरिन्छ,’ कैदी भन्छन्, ‘नाइके र चौकीदारले उनीहरूलाई मासिक तलबसमेत दिने गरेका छन् ।’ उनीहरूको कपडा अन्य कैदीले धोइदिनुपर्छ । जेलभित्रको ज्यादती र अवैध असुलीबारे आफन्तलाई बताउन निषेध गरिएको छ । आफन्त भेट्न आएका बेला कैदीसँगै चौकीदारका मान्छे पनि छेउमा उभिइरहेका हुन्छन् । भित्रको नकारात्मक कुरा गर्नेबित्तिकै भेट्ने समय समाप्त भएको बताउँदै भित्र लगेर पिट्न थाल्छन् । उनका अनुसार जेलभित्र टोली प्रवेश गर्नेबित्तिकै नाइके र उनका मान्छे वरिपरि हुन्छन् । टोली सदस्यले केही प्रश्न सोध्यो भने उनीहरू नै जवाफ फर्काउँछन् । चौकीदारको विरोधमा कुरा काटेको भन्दै केदी दिनअघि मात्र कैदी नन्दन झाको हात भाँचिदिएका थिए । उद्दण्ड प्रवृत्तिका र जेलभित्र पनि सुरक्षा चाहिने कैदीलाई मात्र गोलघरभित्र राख्ने हो । तर, वीरगन्ज कारागारमा नयाँ आउने जुनसुकै कैदीलाई पनि कुटपिट गरेर पहिलो दिन गोलघरभित्र राख्ने गरिएको छ ।

कैदीहरूका अनुसार निश्चित रकम घरबाट मगाउन राजी भएपछि मात्र गोलघरबाट निकाल्छन् । चौकीदाररनाइकेको त्रासले भित्र बसुन्जेल कैदीबन्दीले विरोध गर्ने आँट गर्दैनन् । अवैध असुली मात्र होइन, जेल स्थानान्तरण, कैद मिनाहा सिफारिस, मुद्दा मिलाइदिने भन्दै ठूलो रकम असुल्ने गरिएको छ । ‘पर्सा मुसैलीका रामएकबालसँग तीन लाख ५० हजार र परवानीपुरका रिजवान हवारीसँग चार लाख ८० हजार रुपैयाँ मुद्दा मिलाइदिने भन्दै चौकीदारले लिए,’ परिवारिक स्रोत भन्छ, ‘पैसा लिएर मुद्दा मिलाउनुको साटो दुवैलाई अन्यत्र सरुवा गरिदिए ।’

‘हालै सरुवा भएर आएकाले अन्य अनियमितताबारे बुझेर कारबाही गर्छु,’ जेलर चक्रपाणि गौतमले भने, ‘जोसुकै कैदीलाई कुटपिट गरी गोलघरमा राख्न पाइँदैन ।’

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts