काठमाडौं,बैशाख ३१ । केपी ओली नेतृत्वको सरकार परिवर्तन गराउन लागि परेको नेपाली काँग्रेस मुलतः असफल देखिएको छ । काँग्रेसको अल्पमत पक्षले सभापति शेरबहादुर देउवाले कुनै तयारी नै नगरिकन सरकार परिवर्तनको योजना अगाडि सारेका कारण असफलता हात लागेको भन्दै सभापतिले पार्टी डुबाएको आरोप लगाउन थालेका छन् । विशेषगरी १३ औं महाधिवेशनमा सभापतिको पदमा हारेका रामचन्द्र पौडेल पक्षधरले सभापति देउवाका कारण काँग्रेस असफल भएको भन्दै उनीमाथि नैतिकताको प्रश्न उठाएका छन् ।
आजको जनआह्वान साप्ताहिकमा खबर छ – काँग्रेसका नेताहरु प्रकाशमान सिंह, दिलेन्द्रप्रसाद बडु, मिनेन्द्रप्रसाद रिजाललगायत दुई दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताले काँग्रेस सभापति देउवा र उनको नजिकका मान्छेहरुको ताल ठिक नभएको भन्दै आपत्ति जनाइसकेका छन् । देउवाको तरिका नै ठिक नभएको भन्दै उनीहरुले पार्टीलाई रसातलमा पु¥याएको बताएका छन् ।
त्यसो त पछिल्लो पटक सरकार परिवर्तनको खेलमा देउवाले खेलेको खेल कच्चा खेल भन्दा फरक थिएन । आफू भित्रका समेत नमिलाकन एमाओवादीसँगको सम्वाद गर्नु नै उनको लागि घातक बनेको छ । खुला रुपमा भारतीयलाई हस्तक्षेपका लागि काँग्रेस परिचालित भएको जनताको नजरमा स्थापित भएको भन्दै काँग्रेस भित्रै उठेको असन्तुस्टिलाई सम्बोधन गर्ने तर्फ देउवाले कुनै कदम चालेका छैनन् । त्यसो त उनले कुन विषयलाई सार्वजनिक गर्ने हो कुन विषयलाई नगर्ने हो भन्ने बारेमा समेत ध्यान दिन सकेका छैनन् ।
पछिल्लो दिनमा खड्ग ओली नेतृत्वको सरकारले आफुखुसी मनलाग्दी निर्णय गर्न थालको छ । तर काँग्रेस प्रमुख प्रतिपक्षी भएर पनि त्यसका विरुद्धमा कुनै पनि कदम चाल्न सकेको छैन । सरकारको कामलाई क्रस चेक गर्ने दायित्व काँग्रेसको हो तर त्यसलाई उसले कुनै पनि रुपमा आफ्नो भूमिका निर्वाह गर्न सकेको छैन । काँग्रेस भूमरीमा हराएको पन्छी जस्तो बनेको छ । खड्ग ओली सरकारलाई काउन्टर दिने नाममा भारतीय हस्तक्षेपलाई आमन्त्रण गर्ने तर त्यसलाई वस्तुनिष्ठ निरुपण गर्ने तर्फ पनि कुनै पहल नगरेको काँग्रेस भित्रै आरोप लागेको छ ।
पछिल्लो पटक सरकार परिवर्तनको खेल समेत असाध्यै कच्चा रहेको पौडेल पक्षको आरोप रहेको छ । नातीको पास्नीका लागि भन्दै अमेरिका गएका रामचन्द्र पौडेल कहिले फर्कने हुन् त्यसको कुनै ठेगान छैन, तर यता उनकै पक्षका भनिएका नेताहरुले भने सभापति देउवाको दोहोलो काढ्न सुरु गरेका छन् । कच्चा खेलले कोही कसैको पनि भलो गर्दैन भन्ने कुरालाई हेक्का राख्न नसक्दा काँग्रेस रसातलमा गएको भन्दै सभापति देउवा विरुद्ध उजुरी हाल्न गएका प्रकाशमानलगायतका नेतालाई भने उनले पहिले आफ्नो अनुहार ऐनमा हेर्नृ र सभापति विरुद्ध बोल्न भन्दै हकारेर पठाएका थिए ।
देउवा निवास पुगेका प्रकाशमानले सरकार परिवर्तन र पार्टीको पछिल्लो अवस्थाका बारेमा सामान्य कुरा गरेपनि मिनेन्द्र रिजाल भने घोस्से मुन्टो लगाएर बसेका थिए । उनले एक शब्द पनि नबोलेको बताइन्छ । त्यसो त देउवा र रिजालबीच लामो समयदेखि राम्रो सम्बन्ध रहेको छैन । देउवाको आडमा नै काँग्रेसको राजनीतिमा आएका मिनेन्द्रले देउवा विरुद्ध नै गतिविधि गरेर आफूलाई कोइराला परिवारको नजिक पु¥याएका थिए । कोइराला परिवारको आर्शिवाद र भारतको आडमा सूचना तथा सञ्चार मन्त्री समेत बन्न सफल भएका रिजाललाई देउवाले यो लोभी बाहुनलाई किन ल्याएको भन्दै उल्टै प्रकाशमानलाई हप्काएका थिए ।
प्रकाशमानले होइन दाइ जान्छु भन्यो र मैलै जाउ न त भनेर ल्याएको भन्दै थामथुम पारेका थिए । यसलाई बाहिर ननिकालीकन म तिमीहरुसँग कुरै गर्दिन भन्दै देउवा भोक्किएपछि प्रकाशमानले लौ मिनेन्द्र तपाई यसो चिया कफी लिदै गर्नुस् हामी एक छिन सम्वाद गर्छौ भन्दै मिनेन्द्रलाई बाहिर निकालेका थिए । यो सँग म कुरा गर्छु, यसले मलाई के के गरेको छ भन्दै प्रकाशमानसँग गुनासो गरेका थिए ।
हेर प्रकाश तिमीप्रति मेरो कुनै गुनासो छैन, तिम्लाई अहिले पनि म राम्रै मान्छु तर यो मिनेसँग मेरो सम्बन्ध हुन सक्दैन , देउवा अलिक नरम भएर भने । देउवा र प्रकाशमानबीच भएको सम्वाद उदृत गर्दै स्रोतले भन्यो यो मिने केन्द्रीय सदस्यमा समेत हार्ने थियो कसरी जित्यो हँ । यसलाई कुनै पनि जिम्मा दिने कुरा हुँदै हुन्न बरु तिमीहरुलाई यसो मिलाएर भागबन्डा गरौला तर मिनेको पक्षमा कुनै पनि प्रस्ताव लिएर नआउनु म स्वीकार गर्न सक्दिन ।
No comments:
Post a Comment