Friday, April 1, 2016

अमेरिकाका जनसम्पर्क फुटको सँघारमा

सभापति विष्टलाई पदच्युत गरेको दावी, उनीहरुले विधानै पढेका छैननः सभापति विष्ट 

न्युयोर्क (अमेरिका) । एकताको अधिवेशन नाम दिएर गत वर्ष ड्यालसमा नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन भएको डेढ वर्ष नपुग्दै संस्था विभाजनको स्थितीमा पुगेको छ ।
विहीबार वरिष्ठ उपसभापति धनन्जयनरसिंह केसी सहितका केही पदाधिकारीहरुले सभापति आनन्द विष्टलाई निलम्बन गरेको विज्ञप्ती जारी गरेका छन् । यो विज्ञप्तीमा सभापति विष्टमाथि नौ वटा आरोप लगाउँदै निलम्बन गरिएको र केसीलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको जनाइएको छ ।
कांग्रेसको गत महिना काठमाडौंमा भएको महाधिवेशनमा जाने प्रतिनिधि छनौटको विवाद अहिले छताछुल्ल भएको छ । महाधिवेशनमा जान नपाएकाहरुले अहिले न्यूयोर्कमा हुन लागेको ‘नेपाली परेड’ समारोहको विषयलाई उठाउँदै अवैधानिक रुपमा अघि बढेको प्रतिकृया सभापति विष्टले दिएका छन् ।
‘उहाँहरुलाई नेपाली कांग्रेस पार्टीको प्रकृति, विधान अनि यसको सभापतिमा निहित शक्तिका बारेमा केही ज्ञान छैन,’ सभापति विष्टले भने–‘मलाई निलम्बन गर्नेहरुले एक पटक पार्टीको विधान पढुन् अनि मसँग वहश गर्न आउन् ।’
कांग्रेसको विधानले कुनै पनि निर्वाचित सभापतिलाई हटाउन कृयाशील सदस्यको ५१ प्रतिशतले साधारण सभा बोलाउने माग गर्नुपर्छ । त्यसपछि साधारण सभामा दुई तिहाई बहुमत भयो भनेमात्र सभापति हटाउन विधानले बाटो दिएको छ । तर जनसम्पर्क समिति अमेरिकाका केही पदाधिकारीहरुले टेलिफोन बैठकका आधारमा सभापति विष्टलाई निलम्बन गरेको विज्ञप्ती जारी गरेका छन् ।
जनसम्पर्क समिति अमेरिकामा झण्डै दुईहजार कृयाशील सदस्य छन् । सभापति हटाउन एकहजार भन्दा बढीले लिखित रुपमा साधारण सभाको माग गर्नुपर्छ । तर उपसभापति केसी सहितका केही पदाधिकारीको नाममा जारी विज्ञप्तीले प्रचलित कांग्रेस विधान र मान्यतालाई धोती लगाएको प्रतिकृया विष्टले दिए ।
‘उहाँहरुको यो हर्कतले अमेरिकामा रहेका सारा नेपालीलाई लाज लागेको छ,’विष्टले भने । नेपालमा कांग्रेस भनेर मरिमेट्ने र यहाँ आएर पनि संस्थामा आवद्ध भएकालाई समेत यो घटनाले लज्जित हुनुपर्ने अवस्था सिर्जना गरेको उनले बताए ।
सभापति विष्टलाई निलम्बन गरेर आफु  कार्यवाहक सभापति भएको घोषणा गर्दै विज्ञप्ती जारी गर्ने केसी समूहमा महासचिव मुनिन्द्र नेम्वाङ, अर्का उपसभापति चेतप्रसाद पौडेल, सचिव इश्वर सापकोटा लगायतका छन् ।
काठमाडौंमा भएको कांग्रेस महाधिवेशनमा सभापति विष्टले ६ जनाको नाम प्रतिनिधिमा सिफारिस गरेका थिए । तर उपसभापति केसीले विमति जनाउँदै काठमाडौंबाटै अरु ६ जनाको नाम सिफारिस गरेका थिए । तर केन्द्रले अन्तिममा कांग्रेसको प्रचलित मान्यता अनुसार सभापतिकै सिफारिसलाई मात्र मान्यता दिएपछि महाधिवेशन प्रतिनिधि हुन काठमाडौं पुगेकाहरु हिस्स परेर फर्किए ।
अहिले यही रिस फेर्न नेपाली संस्कृति झल्काउने कार्यक्रममा जनसम्पर्क समिति सहभागि भएको कुरालाई आधार बनाएर सभापतिलाई निलम्बन गरिएको भन्दै नौटंकी प्रदर्शन भएको छ । ‘उहाँहरुको भनाई मैले केही पनि कुरा कार्यसमितिमा सल्लाह गरिन भन्ने छ । के हो यो सल्लाह भनेको ? कोही पत्रकारले केही सोधिहाल्यो भने के म कार्यसमितिको बैठक राखेपछिमात्र बोल्छु भन्नु ? यो पनि कुनै तुकको कुरा हुन्छ ?’ विष्टले हिमालय खबरसँग भने ।
उता कार्यवाहक सभापति भएको घोषणा गरेका केसीले भने विज्ञप्ती मार्फत जनसम्पर्क समितिका च्याप्टरहरुलाई निष्कृय बनाएको, हरहिसाब पारदर्शी नभएको, मनोमानी ढंगले निर्णयहरु गरेको जस्ता आरोप लगाएका छन् ।
यो विवाद चुलिँदै गएमा अमेरिकामा फेरि जनसम्पर्क समिति दुईवटा हुने संभावना बढेको छ । गत वर्षको ड्यालस अधिवेशनमा दुई पक्षबीच प्यानलै बनाएर चुनाव भएको थियो । चुनावमा सभापतिमा विष्टले जितेपनि पदाधिकारीमा उनको प्यानलका अधिकांशले हारेपछि अहिले संस्थामा निकै ठूलो धु्रबीकरण र विवाद खडा भएको छ ।
‘म अब बैठक बोलाउँछु, के भन्छन् साथीहरु सुन्छु । म अघि बढ्ने भनेको कांग्रेसको विधान अनुसार हो । अधिवेशनबाट निर्वाचित भएको म कोही दुुईचारजनाले टेलिफोन गफका आधारमा हटाएको घोषणा गर्दैमा हट्ने होइन,’ विष्टले भने । महाधिवेशनमा विष्टले शेरबहादुर देउवालाई जिताउन निकै ठूलो सहयोग गरेका थिए । उनी देउवा निकटका रुपमा परिचित छन् । त्यसो हुँदा विष्टलाई हटाउन सजिलो अवस्था छैन ।
‘साथीहरुले अनावश्यक विवाद गरेर आफ्नो पद र गरिमालाईनै अवमूल्यन गरिरहेका छन् । सभापति विष्टलाई हटाएर त देखाउन् अनि यिनमा ताकत रहेछ भन्ने मानौंला, होइन भने यस्ता नाटक नगर्दा हुन्छ,’ विष्ट निकट जनसम्पर्क समितिका एक पदाधिकारीले भने ।

–हिमालय खबर

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts