Sunday, March 6, 2016

उहिलेको युनिटी अहिलेको बीमा

- रामचन्द्र भट्ट
नेपाल समाचारपत्र दैनिकमा काम गर्दाताकाको सन्दर्भ हो । सिन्धुलीतिरका दुईजना थिए ‘मार्केटिङ’ विभागमा काम गर्ने । उनीहरुसँग दैनिकजसो क्यान्टिनमा भेट हुन्थ्यो । सारै मिजासिला र भद्र थिए दुबैजना ।
‘तपाईले यो युनिटीको बारेमा केही सुन्नुभएको छ ?’ एकदिन उनीहरुमध्य एकले मसँग जिज्ञासा राखे ।
‘अहँ छैन ।’
‘लौ त्यसो भए यसमा सदस्य बन्नुप¥यो सर । तपाईले तीनजना बनाएपछि उनीहरुले पनि तपाईले जस्तै तीनजना सदस्य थप्दै जान्छन् । त्यसपछि त तपाई के यस्तो पत्रकारिता गर्दै झोला बोकेर हिँड्नुप¥यो ? तपाईका दुखका दिन जान्छन् सर’ अर्काले थपे ।
मलाई सितिमिति अर्काले देखाएको लोभले तान्दैन । क्यान्टिनमा मैले पिएको चियाको पैसा पनि तिर्दै उनीहरु भन्दैगए–‘हामीलाई देख्नुभा छ नि सरले ? समाचारपत्रको मात्र तलबले हामीलाई के हुन्छ र ? हामी यहाँ १० देखि ५ बजेसम्म काम गछौं । समाचारपत्रको यो ब्राण्ड अनि फोरमले गर्दा धेरै ठाउँमा जान्छौं, जनसम्पर्क बढाउन सजिलो भएको छ । हामी त अहिले युनिटीबाट महिनाको ३५ हजार खान्छौं ।’
उनीहरुले एक घण्टा लगाएर युनिटी के हो भन्नेदेखि लिएर यसका लगानीकर्ता को हुन् ? अनि यसमा लाग्दाका फाइदाका बारेमा सुनाए । उनीहरुको कुरा सुन्दा लाग्थ्यो कि यो कतै रत्नपार्कमा बेच्न राखेका औषधि जस्तै त होइन । टाउको दुखेपनि निको बनाउने, पेट दुखेपनि चट्टै पार्ने, । काटेको ठाउँमा दल्दा पनि हुने, गानोगोला जेलाई पनि निको बनाउने औषधि भनेर जो रत्नपार्कमा कराएर बेचिन्छ ।
युनिटीमा लाग्दा निशुल्क बिमा, हुनेदेखि छोराछोरीलाई पठनपाठन सबै सित्तैमा हुनेसम्म भने उनीहरुले । नहुने काम कुनै थिएन युनिटीबाट । सबै मिल्छ–मात्र सदस्य बन्नुप¥यो ।
उनीहरुले मलाई सदस्य बनाउन हरसंभव प्रयास गरे । तर मैले म जे छु त्यसैमा ठीक छु, मलाई कुनै ठूलो महत्वाकांक्षा केही छैन भनेपछि उनीहरु विस्तारै लाखापाखा भए । म पनि समाचारपत्रबाट पाखा लागेर नागरिक दैनिकमा पुगेँ ।
त्यसको झण्डै पाँच वर्षपछि २०६६ को एक हिउँद ती दुई भाईसँग भेट भयो–बानेश्वरस्थित तत्कालिन संविधान सभा भवनको पश्चिमपट्टि सडकमा । युनिटीबाट धेरै मान्छे ठगिएपछि सरकारले प्रतिवन्ध लगायो । अनि त्यसका नाइकेहरुमा भागाभाग भयो । छोटा नाइकेहरु चाँहि संविधान सभा पश्चिमको सडक कव्जा गरेर तत्कालिन सरकार र अर्थमन्त्रि सुरेन्द्र पाण्डेलाई तथानाम गाली गर्दैथिए । अनि त्यही हुलमा भेटिए ती दुई भाई ।
‘हेर्नुस, यो संस्था नराम्रो हुँदै होइन । मान्छे खराब भयो भन्दैमा लाखौ मान्छेको अर्बौै लगानी सरकारले डुबाइदिने ?’ दुईभाई मध्य एकले मसँग जिज्ञासा राखे । ‘मलाई थाहा थियो यो दिन आउँछ भनेर त्यसैले तपाईहरुले जतिनै लोभ देखाउँदा पनि म आकर्षित भइन,’ मेरो जवाफ थियो । उनीहरु पछिल्लो समयमा समाचारपत्र समेत छाडेर पुरै युनिटीमा संलग्न थिए । महिनाको ८०÷९० हजार रुपैयाँ कमाई हुँदो रहेछ । अनि किन समाचारपत्रमै झुण्डिरहनु ?
अन्ततः युनिटी सदाको लागि बन्दै भयो । थाहा छैन ठूलो रकम खेलाउने बानी परिसकेका ती दुई भाई यतिखेर कहाँ भौतारिइरहेका छन् ।
अमेरिकामा यतिखेर ‘इन्सुरेन्स’ का नाममा युनिटीकै जस्तै गरि प्रोडक्ट बिक्री भइरहेको रहेछ । त्यो पनि नेपालीले नेपालीलाईनै फँसाउनेगरि । बिमाका नाममा २० वर्षसम्म डलर तिरिरहने अनि २० वर्षभित्र मरिएन भने त्यो पैसा पुरै फँस्ने, मरियो भने परिवारले रकम पाउने जुन हिसाबले अहिले बाहिर बजारमा चर्चा भएको छ त्यो युनिटीभन्दा कुनैपनि हालतमा अलग प्रकारको होइन ।
नेपालीहरु, जस्ले बिमाको नाममा यो प्रोडक्ट किनेका छन् तिनीहरु यस्तो अवस्थामा छन् कि–नत अघि बढ्नका लागि मनले मान्छ, नत पछि हट्ननै सक्ने स्थिती छ । अघि बढौं भने तिरेको डलर फिर्ता आउने कुनै ग्यारेन्टी छैन । पछि हटौं त अहिलेसम्म जे जति हजारौं डलर तिरिएको छ त्यो सबै ‘ढुस’ हुन्छ । नेपालीको अवस्था ‘भुङ्ग्राबाट उम्केको माछा तावामा’ भनेझैं छ ।
यो टिप्पणीकारले बुझेसम्म बीमा भन्ने चिज भविष्यमा आइपर्ने संभावित कुनै खतरालाई मोल्नका लागि पहिलेदेखिनै गरिने लगानी वा दायित्वको हस्तान्तरण हो । तर अहिले अमेरिकाको नेपाली समाजमा अधिकांशले साथीभाई, चिनजान, नातेदारबाट लिएका केही बीमा नामधारी ‘प्रोडक्ट’ बाट त्यो प्रतिफल पाउन अवस्था नरहेको स्वयम् खरिदकर्ता एवं ग्राहकहरुले बताइरहेका छन् ।
बीमा भन्ने चिज आपूm स्वस्थ हुँदामात्र लिन सकिन्छ । रोगी व्यक्ति कोही कसैलाई पनि बीमा कम्पनीले यो प्रोडक्ट दिँदैनन् । अर्थात रोगीलाई बीमा गर्दा कम्पनीलाई खतराको संभावना ज्यादा हुन्छ, जुनसुकै बेला चुक्ता गर्नुपर्ने कारणले गर्दा बीमा गर्नुपूर्ब राम्रा र स्तरीय कम्पनीहरुले अनिवार्य स्वास्थ परिक्षण गर्छन् ।
अर्को कुरा व्यक्तिको मानवमूल्य भन्दा धेरैको बीमा कम्पनीले स्विकृती पनि दिँदैन । बीमा गर्दा व्यक्तिको आम्दानी, उसको खर्चका क्षेत्रहरु सबै हिसाब गरिन्छ । तिर्नसक्ने रकमलाई मात्र कम्पनीले स्विकार गर्छन । तर अमेरिकाका केही कम्पनीहरुले व्यक्ति वा परिवारको आम्दानी महिनाको एकहजार पाँचसय भएपनि चारसय डलर प्रिमिमय तिराएर बीमा नामका प्रोडकट बेचिरहेको रहस्य समेत यतिखेर खुलेको छ ।
मानवमूल्य भन्दा बढी रकमको बीमा किन्न सल्लाह दिने एजेन्ट वा बीमा अभिकर्तापनि देखिए यतिखेर । अनि कतिपयले त आफ्नो कमिसन ज्यादा आउने भएर यस्तो काममा संलग्न भएको पनि भेटिएका छन् । किनकी उनीहरुले बीमा गर्नेको आर्थिक अवस्था, उसको क्षमताको विचारै नगरि आफ्नो नाफमात्र हेरेर सर्वसाधारण नेपालीलाई फँसाएर कमिसन बढाउने दाउ गरेको तथ्य उजागर भएको छ ।
कति समयसम्मको बीमा ग्राहकलाई आवश्यक परेको हो ? त्यसको बारेमा राम्रोसँग जानकारी दिनुपर्ने, यसका प्रकृयाका विषयमा समेत जानकारी राम्रोसँग जानकारी दिएरमात्र बीमा गर्नुपर्नेमा एजेन्टहरुले ठूलो ‘स्पाइरल बाइण्डिङ’ दिएर गोलमोटल भाषामा बताउने गरेको समेत जानकारी आएको छ । अनि अन्तिममा ‘मलाई विश्वास गर्नुहोस्, यो एक दिनको व्यबसाय होइन, नेपाली समाजका प्रतिष्ठित व्यक्तिहरुका नाम लिँदै फलानो फलानो पनि सदस्य भएर यो बीमा किन्नुभएको छ’ भन्दै भिडाउने गरेको तथ्य समेत बाहिर आइसकेको छ । तर यो विषयमा यतिखेर सबै एजेन्टहरु चुप छन् । बाहिर चर्चा भए अनुसार उनीहरु आफ्ना ग्राहकलाई थामथुम पार्न सामाजीक सञ्जाल र यो विषयमा लेख, समाचार लेख्ने पत्रकार अनि मिडिया विरुद्ध मुद्धा दायर गर्ने धम्की पनि दिदैछन् भन्ने सुनिन्छ । औपचारिक रुपमा कोही बोल्दैनन् । यदि यसो हो भने यो उनीहरुको अर्को ठूलो महाभुल हुनेछ । किनकी एउटा गल्तीबाट जोगिन जसरी सिलसिलेबर रुपमा अपराधीले अरु अपराध गर्दै हिँड्छ नेपाली समाजका सदस्यलाई बीमाको नाममा निकम्मा प्रोडक्ट बेच्नेको हविगत त्यो भन्दा गतिलो अवश्य हुनेछैन ।
उनीहरुले प्राप्त गर्ने कमिशनका विषयमा नेपाली समाजका कसैको पनि गुनासो छैन । मात्र निकम्मा प्रोडक्ट, त्यो पनि गोलमटोल कुरा, विश्वासलाई घात गरेर भिडाइयो भन्नेमा मात्र समाजका सदस्यहरुको चिन्ता र चासो हो । काम गरेपछि कमिसन स्वभाविक रुपमा मिल्ने कुरा हो । तर आफ्नै समाजका आमा–बुबा, दाजुभाई, दिदीबहिनीहरुलाई यस्तो निकम्मा चिज राम्रोसँग बुझाउँदा पनि नबुझाई भिडाउँदा उहाँहरुले धेरैपटक सोचविचार गर्नुपथ्र्यो । अनि लामो समयदेखि यस्तो नियम कानुनको कडाई भएको मुलुकमा बस्दा उहाँहरुले निकै ख्याल पनि गर्नुपथ्र्यो । आफ्नोमात्र स्वार्थलाई हेरेर यस्तो चिज आफ्नै समाजका सदस्यलाई भिडाउनु कुनै पनि हालतमा क्षम्य हुनसक्दैन ।
संसारमा द्रुतगतिमा जे पनि प्रगति हुन्छ त्यसको टिकाउ लामो हुँदैन । प्राकृतिक रुपमा भएको वृद्धिदरनै लामो समय टिकाउ हुन्छ । अस्वभाविक वृद्धिदर भनेको सुन्निनु हो मोटाउनु होइन । असहज वृद्धिदरको चाँडै अन्त्य हुन्छ भन्ने ध्रुबसत्य हो । जसरी युनिटीमा लागेर सुरुमै मैले उल्लेख गरेका दुई दाजुभाईले कमाए । पछि कम्पनीनै बन्द भएपछि उनीहरु घरनघाटका भए । सञ्चालकहरु जेलमा सडे । अहिले अमेरिकामा नेपाली समाजका सदस्यलाई बीमाको नाममा निल्नु र ओकल्नुको प्रोडक्ट भिडाउनेको अवस्था त्यस्तो नआओस् । काम गर्दा कमजोरी भएको छ भने यति ठूलो प्रजातन्त्र र मानव अधिकारको ग्यारेन्टी भएको मुलुकमा नेपाली समाजकै अघिल्तिर आएर स्विकार्न सक्नुपर्छ । उल्टो बाहिर–बाहिर बाह्र सत्ताइस कुरा गर्दै अरु सर्वसाधारणलाई ‘मुर्गा’ बनाउने योजनामा कोही लागिरहन्छ भने तिनले एकदिन समाज र राज्यबाट अवश्य दण्ड भोग्नुपर्नेछ ।

–himalayakhabar.com

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts