Saturday, February 27, 2016

जमिन दक्षिणतिर नसर्दा काठमाडौं उच्च भूकम्पीय जोखिममा

काठमाडौं,फागुन १६ । उच्च भूकम्पीय जोखिममा रहेका काठमाडौंलगायत विभिन्न सत्रवटा जिल्लामा जमिनको हलचलबारे जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) मा आधारित अध्ययन सकिएको छ । वैशाख १२ को विनाशकारी भूकम्पपछि फ्रेन्च युनिभर्सिटी सा भ्वाँसँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालयको भूगर्भ विभागले विभिन्न सत्र जिल्लामा जीपीएस प्रणालीबाट जमिनको चालबारे अनुसन्धान सुरु गरेको थियो । ‘फिल्ड मेजरमेन्ट’ सकिएर जीपीएस डिभाइससहितका सम्पूर्ण डाटा प्रशोधन तथा विश्लेषणका लागि फ्रान्समा पठाइएको छ ।
जमिनको चालबारे गरिएको अनुसन्धानमा संलग्न भूगर्भविद् प्राडा अनन्त गजुरेलका अनुसार वैशाख १२ को ठूलो भूकम्पपछि जमिनको मुभमेन्ट धेरै सक्रिय देखिएको अन्नपूर्ण पोष्टडटकममा समाचार छापिएको छ ।
जीपीएसको प्रारम्भिक अध्ययनलाई हेर्दा काठमाडौं अझै पनि भूकम्पको उच्च जोखिममा छ । ‘वैशाख १२ को भूकम्पपछि काठमाडौंको उत्तरतर्फको भूभाग सर्दै काठमाडौंको दक्षिणमा आएर ‘लक’ भएको छ ।

उत्तरतिरको भाग सरिरहेको छ । तर काठमाडौंको दक्षिणतिरको भूभाग मुभ भएको छैन’, गजुरेलले भने, ‘उत्तरतिरबाट सर्दै वा धकेलिँदै आएको भूभाग दक्षिण्तिर मुभ नभएर लक हुँदा यहाँ पावर सञ्चय भइरहेको छ । उत्तरतिरको भूभाग दक्षिणतिर सर्दै गर्दा दक्षिणको भूभाग पनि दक्षिणतिर सर्दै जानुपर्छ । त्यो भइरहेको देखिँदैन ।’

गजुरेलका अनुसार काठमाडौंको दक्षिणमा आएर लक भएको भूभाग जति छिटो बिस्तारै चिप्लिएर (क्रिप) दक्षिणतिर सर्छ, त्यति नै बढी पावर दक्षिणतिरबाट रिलिज हुन्छ अनि काठमाडौंमा जोखिम घट्दै जान्छ । गजुरेलका अनुसार काठमाडौंमा अडिएको प्लेट उत्तरतिर सर्दै जाँदा दक्षिणतिर शक्ति (इनर्जी) सञ्चय भइरहेको छ ।

गजुरेल भन्छन्, ‘काठमाडौंको १० देखि १५ किलोमिटर मोटाइको भूभाग बिस्तारै चिप्लिएर दक्षिणतिर महाभारत हुँदै चुरे पर्वततिर मुभ भएमा सञ्चय भएको इनर्जी छिटो रिलिज हुन्छ तर वैशाख १२ गतेपछि लक भएको भूभाग अहिलेसम्म दक्षिणतिर क्रिप भएको छैन । वैशाख १२ को भूकम्पपछि सक्रिय भएको जमिनको मुभमेन्टसम्बन्धी विस्तृत डाटा छिट्टै आउने गजुरेलले बताए । ‘डाटालाई व्यवस्थित र विश्वसनीय ढंगबाट प्रशोधन तथा विश्लेषण गर्ने प्रविधि तथा जनशक्ति हामीकहाँ नभएकाले पेरिस पठाइएको हो’, गजुरेलले भने, ‘अब नेपालभित्रै पनि जीपीएस डाटा प्रशोधन र विश्लेषण गर्ने प्रणाली विकास हुँदैछ । त्यसका लागि तयारी भइरहेको छ ।’

जीपीएस प्रणालीबाट काठमाडौं, भक्तपुर, ललितपुर, काभे्र, सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, सिन्धुली, रामेछाप, मकवानपुर, बारा, दोलखा, रसुवा, धादिङलगायत जिल्लामा जमिनको चालबारे अध्ययन गरिएको थियो । जीपीएस अनुसन्धानमा नेपाली टोलीको नेतृत्व त्रिभुवन विश्वविद्यालयका भूगर्भ विभागका प्राडा गजुरेलले गरेका छन् भने फ्रेन्च युनिभर्सिटीका तर्फबाट प्रा. फस्वाँ जुहान संलग्न छन् ।

यसैगरी जापानको टोकियो युनिभर्सिटीको भूकम्प अनुसन्धान प्रतिष्ठानसँगको सहकार्यमा पनि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भूगर्भ विभागले भूकम्पीय जोखिमबारे अनुसन्धान गरेको छ । दुई महिना लामो अनुसन्धान सकिएर यसबाट संकलित डाटा तथा सूचनालाई विश्लेषणका लागि टोकियो युनिभर्सिटीमा पठाइएको छ । सेप्रुबेसीदेखि हेटौंडाको सुपारीटारसम्म पाँच किलोमिटर दूरीमा रहेका ३५ इपिसेन्टरमा डिभाइस राखेर भूकम्पको गहिराइ (डेप्थ) बारे अनुसन्धान गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts