Monday, February 29, 2016

दोधारमा खुमबहादुर,संस्थापनसँग जान्छन् कि देउवासँग?

काठमाडौं,फागुन १८ । कांग्रेस नेता खुमबहादुर खड्काले संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवासँग आफ्नो टिमका नेताहरुको समायोजनका लागि लगातार कुरा गरिरहेका छन्। तर उनको वार्ता भने संस्थपान पक्षभन्दा देउवासँग धेरै अगाडि बढिसकेको छ। संस्थापन पक्षले खड्काको माग अनुसार पदाधिकारी लगायत सदस्यको टिममा खड्का पक्षका नेताहरुलाई स्थान दिन नसक्ने संकेत पाएपछि खड्काको सामिप्यता देउवासँग बढेको हो।

अघिल्लो महाधिवेशन पश्चात देउवासँग रुष्ट बनेका खड्काले एक वर्ष अगाडि शेखर कोइरालासँग सहकार्य गर्दै कार्यबाहक सभापति रामचन्द्र पौडेलसँग अलग्गै टिम बनाएर अगाडि बढ्न प्रस्ताव गरेका थिए। तर खड्काको प्रस्तावमा पौडेलले खासै चासो नदिएपछि खड्का र कोइराला पौडेलसँग असन्तुष्ट बनेका थिए।

पारिवारिक एकताको पक्षमा उभिएका कोइराला संस्थापन पक्षभित्रै आन्तरिक सहमति जुटाउन व्यस्त भएपनि खड्का भने १२ औं महाधिवेशनमा जस्तै देउवासँग सहकार्य गर्दै आगडि बढ्न तयार देखिएका छन्।
केही महिना अगाडि स्वास्थ्य समस्याका कारण राजनीतिमा क्रियाशील हुन नसकेका खड्का अधिवेशनको मिति नजिकिदै जाँदा आफ्नै निवासमा बसेर आफ्नो टिमको राजनीतिक गतिविधि बढाएका छन्। फागुन १२ गते आफ्ना पक्षका महाधिवेशन प्रतिनिधि र पार्टी जिल्ला सभापतिहरुको भेला गरी प्रतिनिधिहरुको राय अनुसार खड्का देउवा पक्षसँगै सहकार्य गर्ने कुरामा सकारात्मक बनेका हुन। भेलामा बोलेका झण्डै ७० जना सदस्यमध्ये १० जनाबाहेक अधिकांश सदस्यहरुले आफूहरुको पुरानो राजनीतिक सामिप्यता उठबस संस्थापन भन्दा देउवापक्षसँगै बढी भएको भन्दै देउवासँगै सहकार्य गर्न खड्कालाई सुझाव दिएका थिए।

त्यही राय सुझाव अनुसार खड्काले सकभर आफैलाई महामन्त्री बनाउन र नभए आफ्नो पक्षबाट केन्द्रीय सदस्य पुष्पा भुसाललाई कोषाध्यक्ष र डेढ दर्जन नेताहरुलार्ई केन्द्रीय समिति सदस्यको टिममा राख्न देउवासँग प्रस्ताव गरेका थिए।

खड्काको प्रस्तावबारे छलफल गर्न तयार भएका देउवाले पटक पटक फोन सम्पर्क गरेपनि उनीसँग भेटवार्ता गरी सहमतिमा पुग्न सकिरहेका छैनन्। खड्काको माग अनुसार भुसाललाई कोषाध्यक्ष बनाउन देउवालाई आफ्नै टिमभित्रबाट पनि थुप्रै उल्झन खडा भइरहेका छन्। एकातिर वर्तमान कोषाध्यक्ष चित्रलेखा यादव पदाधिकारीमा मधेसी कोटामा आफै पुनः उक्त पदमा दोहोर्याउन चाहेकी छन भने अर्को तर्फ मधेसकै समूहबाट केन्द्रीय सदस्य अजय चौरसियालाई अघि बढाउन दबाब आइरहेको छ। देउवाले आफूसहितको उम्मेदवारहरुको टिम सार्वजनिक गर्न सकिरहेका छैनन्।
देउवासँग सहमति हुन भइरहेको ढिलाइमा चासो र चिन्ता लिँदै कतिपय खड्का पक्षका नेताहरुले खड्कालाई भेटी जतिसक्दो चाँडो देउवासँग वार्ता गरी टुंगोमा पुग्न आग्रह गरिरहेका छन्। खड्काको पक्षमा केन्द्रीय सदस्य भुसाल, शंकर भण्डारी, नेताहरु देवेन्द्रराज कँडेल, प्रेमध्वज लामा, चन्द्र केसी लगायतका नेताहरु छन्।
मंगलबारसम्म खड्कासँग कुरा मिलेको अवस्थामा देउवाले आफ्नो नेतृत्वको टिम मंगलबार साँझसम्म सार्वजनिक गर्न सक्ने स्रोतको दाबी छ।
-सेतोपाटी

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts