Tuesday, January 26, 2016

मधेस आन्दोलनको मूख्य वाहक उपेन्द्र र राजेन्द्र किन दुईतिर

काठमाडौं,माघ १३ । ६ महिनायता जारी मधेस आन्दोलनको मूख्य वाहक मधेसी मोर्चाभित्र असमझदारी चुलिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध चार दलमध्ये संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव ‘संघीय गठबन्धन’को वकालत गर्दैछन्, सद्‍भावना अध्यक्ष राजेन्द्र महतो भने ‘मधेसी महागठबन्धन’को।

दुई दिनअघि राजधानीमा सकिएको फोरम केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष यादवले राजनीतिक प्रतिवेदनमै मधेस(पहाड जोड्ने गरी संघीय गठबन्धन बिस्तार गर्नुपर्ने प्रस्ताव गरे। अघिल्लो वर्ष निर्मित संघीय गठबन्धनमा यसअघि नै चार मधेसी र पाँच पहाडी जनजाति पार्टी आबद्ध छन्।

यादवले संघीयता पक्षधरको गठबन्धनमार्फत् आन्दोलन अघि बढाउने जानकारी दिए। यादवद्वारा प्रस्तावित गठबन्धनमा मधेसी मोर्चाका चार दलसहित पहाडकेन्द्रित लिम्बुवान पार्टी, भर्खरै नयाँ शक्तिमा आबद्ध नेपा: राष्ट्रिय पार्टी, पासाङ शेर्पाको सामाजिक लोकतान्त्रिक पार्टी, परशुराम तामाङ नेतृत्वको संघीय गणतान्त्रिक जनमुक्ति पार्टीलगायत छन् ।

उता सद्भावना अध्यक्ष महतोले मंगलबार बिहान विराटनगर शान्तिचोकस्थित आफ्ना एक कार्यकर्ताको घरमा तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्तालाई भेटदै प्रस्तावित महागठबन्धनमा आउन आग्रह गरे। कान्तिपुर दैनिकमा समाचार छ – मोर्चाआबद्ध दलहरुले संघीय गठबन्धनमै अरु शक्तिलाई समेट्न सकिने अडानविपरीत महतोले छुट्टै महागठबन्धन बनाउने प्रस्ताव गरेका हुन्।

महागठबन्धनमा गुप्तासहित शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिकसमेत समेट्ने महतोको योजना छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts