Monday, December 28, 2015

सभासद् घले भन्छन्– ‘भूकम्पले मुलुकमा नयाँ अवसर खडा गरिदियो’

हेमन्त शंकर आचार्य – धादिङ, पुष  १३ ।  धादिङ क्षेत्र नं. १ का सभासद् धनबहादुर घलेले गत वैशाख १२ मा गएको विनाशकारी भूकम्पले मुलुकमा नयाँ अवसर खडा गरिदिएको बताएका छन् । जिल्लाको दार्खा गाउँ विकास समितिमा सञ्चालित भलिवल खेलको पुरस्कार वितरणका लागि ‘क्रिसमस डे’का दिन (शुक्रबार) आयोजना गरिएको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
‘भूकम्पका कारण बाजेले बनाएको घर भत्कियो त के भो अब नयाँ बन्छ,’ उनले भने– ‘त्यसका लागि सरकारले दुई लाख रूपैयाँ अनुदान र तीन लाख रूपैयाँ बिनाधितो ऋण दिनेछ ।’ सरकारले दिने उक्त पाँच लाख रूपैयाँको बजेटमा एउटा गाउँमा कम्तिमा पनि नौ–दश लाखको घर बन्ने भन्दै सभासद् घलेले भत्किएको घर बनाउन हतार नगर्न स्थानीयलाई आग्रह गरेका छन् । गाउँमा घडेरी, ढुङ्गा र माटो खरिद गर्न नपर्ने र काठसमेत कतिपयको आफ्नै बारीमा उत्पादन हुने भएकाले श्रम र सीपको बाहेक पैसा नलाग्ने घलेको तर्क थियो । ‘यदि तपाइँहरूले सरकारले दिएको नक्सा नहेरी आफूखुशीले घर बनाउनुभयो भने सरकारले दिने अनुदान र ऋणबाट वञ्चित हुनुहुनेछ,’ घलेले भने– ‘सरकारले तयार पारेको विभिन्न नक्सा हेरेर आफूलाई मनपर्दो घर बनाउनुहोस्, पैसा पाउने कुरामा कुनै चिन्ता नगर्नुहोस् ।’
भूकम्प जानेवित्तिकै सभासद्हरू गाउँ नआएकोमा स्थानीयले चित्त नदुखाउन आग्रह गर्दै उनले भने ‘हामी गाउँ आएको भए राहत र उद्दारको टोली आउने थिएन, हामी गाउँ नआएर भएपनि राहत तथा उद्दारको टोली चाँडै गाउँ पठाएका थियौं ।’ भूकम्पमा परी जिल्लामा ९० हजार घर क्षतिविक्षत हुनुका साथै चार सय ६७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये दार्खामा मात्रै ६४ जनाको ज्यान गएको थियो । भूकम्पमा परी मृत्यु हुनेलाई श्रद्धाञ्जली अर्पण गर्दै सभासद् घलेले कार्यक्रममा मृतकका आफन्त तथा घाइतेहरूप्रति समवेदना प्रकट गरेका थिए ।
अर्को एक प्रसङ्गमा घलेले जिल्लाको विकासमा आफूहरू तल्लिन भएर लागि परेको बताउँदै अब सिङ्गो धादिङले चाँडै नै मुहार फेर्ने बताएका छन् । ‘सदरमुकाम धादिङबेंशीबाट किम्ताङफेदीसम्म अहिलेसम्मकै ठूलो (४७ करोड रूपैयाँ) को विकास बजेटको टेन्डर पारेका छौं, यो टेन्डर हामी सभासद्का लागि पनि खुशीको कुरा हो,’ उनले भने– ‘जनताको प्रतिक्षामा रहेको डुङडुङे खोलामा आगामी वर्षभित्र पुल निर्माण सम्पन्न हुनेछ ।’ पुल निर्माण भइसकेपछि धादिङका धेरै जनता लाभान्वित हुने उनको भनाई थियो ।
लक्षित कार्यक्रमप्रति केन्द्रित हुँदै सभासद् घलेले प्रभु यशु ख्रीष्टको बारेमा चर्चा गर्दै नेपालले सबै धर्मलाई सम्मान गर्न जानेको र सोही कारणले मुलुकलाई धर्मनिरपेक्ष बनाइएको बताएका थिए । विश्व क्रिसमेस डे कै अवसर पारेर गाविसमा भलिवलजस्तो नेपालीको लोकप्रिय खेलको आयोजना गरेको भन्दै उनले आयोजकलाई धन्यवाद दिएका थिए । ‘नेपालीको शरिरलाई तन्दरुस्त राख्ने माध्यम नै खेल हो,’ उनले भने– ‘नेपालीले शरिर तन्दरुस्त राख्न व्यायाम गर्नुपर्छ भन्ने जानेकै छैनन्, अनि नखेलेर भो अब ।’ हरेक मानिसको शरिरलाई व्यायामको आवश्यकता पर्ने भन्दै उनले केटाकेटीको शरिर खेलेर बलियो बन्ने तथा बुढाबुढीको शरिर नखेलेरै कमजोर बन्ने तर्कसमेत गरेका थिए । त्यसकारण पनि सबैले शारिरिक व्यायाम गर्न आवश्यक रहेको घलेले औंल्याएका थिए ।
अभिषेक ब्रिचेत मण्डलीको मुख्य आयोजना तथा स्मार्ट ओभरसिज प्रा.लि र लोटस पोलिक्लिनिक एन्ड गाईग्नोष्टिक सेन्टर प्रा.लि. काठमाडौंको प्रायोजनमा भएको उक्त वडा स्तरीय भलिबल खेलमा दार्खा गाविसभरका नौ ओटा समूह सहभागी भएका थिए । जसमा हिमालय युवा क्लव (वडा नं. ७) पहिलो, चन्द्रादेवी युवासमाज (वडा नं. ६) दोस्रो र ल्याप्चेकुण्ड संरक्षण समाज (वडा नं. ४) तेस्रो भएका थिए । विजेताहरूलाई क्रमशः ट्रफी, मेडल र प्रमाणपत्रसहित ३० हजार, १५ हजार र सात हजार पाँच सय रूपैयाँ पुरस्कार प्रदान गरिएको थियो भने विनोद तामाङ गोञ्जा नेतृत्वको समूहले सान्त्वना प्राप्त गरेको थियो ।
कार्यक्रममा आईटी नेपालका प्रतिनिधि सञ्जु रिजाल, हास्य कलाकार मरिचमानसिंह (बल्छी ध्रुवे), स्मार्ट ओभरसिज प्रा.लि काठमाडौंका सञ्चालक तोम्बुलाल तामाङ, लोटस पोलिक्लिनिक एन्ड गाईग्नोष्टिक सेन्टर प्रा.लि.काठमाडौंका सञ्चालक प्रदिप फ्युवा, गाउँका विद्यालय शिक्षक तथा प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधि, सामाजिक कार्यकर्ता, चर्चका पास्टरहरूलगायतका व्यक्ति व्यक्तित्वहरू र स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रायोजक संस्थाका सञ्चालकद्वय तामाङ र फ्युवा दार्खा निवासी भएपनि काठमाडौंका व्यवसायी हुन् । उनीहरूले समाजसेवाको भावनाले आफ्नो गाउँमा खेलकुदको विकासका लागि केही रकम खर्चिको बताए । प्रायोजकहरूले कार्यक्रमका लागि आर्थिक व्यवस्थापन गर्नुका साथै सभासद् र केही कलाकार तथा पत्रकारहरूलाई हेलिकप्टरमार्फत शुक्रबार दार्खा पु¥याएका थिए । दार्खामा यसअघि पनि विभिन्न स्थानीय सङ्घ तथा संस्थाहरूले खेलकुदमैत्री कार्यक्रमहरू गर्दै आएका छन् । त्यस्ता सामाजिक कार्यक्रमहरूमा स्मार्ट ओभरसिज र लोटस पोलिक्लिनिकले आर्थिक सहयोग गर्दै आएको लोटसका सञ्चालक प्रदिप फ्युवाले बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts