Sunday, December 20, 2015

वैदेशिक रोजगार प्रवर्द्धनका लागि बोर्डले सहयोग गरेको कार्यक्रममा आर्थिक अनियमितता

काठमाडौं, पुष ५ । आप्रवासी दिवसको पूर्वसन्ध्यामा गरिएको एक कार्यक्रमको खर्चमा आर्थिक हिनामिना भएको पाइएको छ । अघिल्लो हप्ताको सोमबार वैदेशिक रोजगार पत्रकार समाजको ब्यानरमा भएको ‘फ्रि भिसा र फ्रि टिकट कार्यान्वयन र वास्तविकता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोर्डले लगानी गरेको रकममा हिनामिना भएको हो । संयुक्त राष्ट्रसंघले डिसेम्बर १८ तारिखलाई अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउँदै आएको छ । सोही सन्दर्भमा डिसेम्बर महिनाको १८ तारिखमा ‘१६औं अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालमा पनि मनाइएको हो ।

उक्त कार्यक्रमका लागि आवश्यक रकम भन्दै समाजले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डसँग हल भाडा, खाना खर्च, उपस्थितिहरुलाई भत्ता तथा अन्य शीर्षकमा दुई लाख २४ हजार रुपैयाँ लिएको स्रोतले बतायो । तर, उक्त कार्यक्रमका लागि आवश्यकताभन्दा बढी पैसा बोर्डले समाजलाई दिएका कारण केवल केही पत्रकारहरु मोटाउने काममात्र भएको पनि स्रोतले दाबी गरेको छ ।

b7be91d1-44c0-464f-bdc5-d60f6c2b9a16

त्यति ठूलो परिमाणमा रकम लिएको समाजले कार्यक्रमको नाममा केवल ४० देखि ५० हजार रुपैयाँ मात्र खर्च गरेको कार्यक्रमका एक सहभागीले बताए । उनका अनुसार अनामनगरस्थित युनियन हाउसमा भएको उक्त कार्यक्रममा उपस्थित ५२ जनालाई छ सय १५ रुपैयाँका दरले खाना खुवाइएको तथा अन्य मसलन्द खर्चबाहेक कार्यक्रममा अन्य खर्च देखिँदैन । स्रोतले अगाडि भन्यो, ‘बोर्डबाट रकम ल्याउँदा कार्यक्रममा उपस्थित सबैलाई भत्ताको व्यवस्था गर्नुपर्ने भनिएको थियो तर, कोही पनि उपस्थितलाई भत्ता त्यहाँ दिइएको छैन ।’

यता बोर्डका सहायक निर्देशक दिपेन्द्र पौडेलले भने दुई लाख २४ हजार रुपैयाँ दिइएको बताए । उनले भने, ‘आप्रवासी कामदार दिवसको पूर्वसन्ध्यामा कार्यक्रम गर्छौं भन्दै आएका पत्रकारलाई कार्यक्रमका लागि दुई लाख २४ हजार रुपैयाँ दिइएको छ ।’ उनले उक्त कार्यक्रमबारे जानकारी आउन बाँकी रहे पनि पत्रकार समाजसँग सहयोगसम्बन्धी ‘एग्रीमेन्ट’ भएको बताए ।

प्रष्ट रुपमा सरकारी खर्चमा भएको उक्त कार्यक्रममा उल्लेख्य रुपमा सरोकारवाला र सञ्चारमाध्यमहरुको उपस्थिति गराउने भनिए पनि समाजकै पदाधिकारीबाहेकका सञ्चारकर्मीहरु त्यहाँ उपस्थित नभएको स्रोत बताउँछ । कार्यक्रमबाट बचेको करिब एक लाख ७० हजार रुपैयाँ रकम समाजमा आबद्ध रहेका पदाधिकारी र केही सदस्यहरुले बाँडीचुँडी खाएको र कार्यक्रमस्थलको बिलसमेत गत बिहीबारसम्म भुक्तानी नगरेको स्रोतको भनाइ छ ।

यसअघि पनि समाजले गर्ने आम्दानीको खर्च पारदर्शी नभएको भन्दै गुनासाहरुसमेत आउने गरेका थिए । वैदेशिक रोजगार, आप्रवासन तथा यससँग सरोकार राख्ने विषयमा कलम चलाउँदै आएका सीमित पत्रकारहरुको संलग्नतामा स्थापना भएको समाजले कोही पनि नयाँ सदस्यहरु थप्न नचाहेको बरु, भएकालाई समेत बाइपास गरेर वर्तमान नेतृत्व हावी भएको स्रोत बताउँछ । संस्थापक अध्यक्ष शम्भु पोखरेल भए पनि उनको सक्रियता समाजमा अचेल कमै देखिएको छ । हाल समाजमा ‘युवा र रोजगार’ कार्यक्रमका सञ्चालक निरञ्जन ज्ञवाली अध्यक्ष छन् ।

 

त्यसैगरी बरिष्ठ उपाध्यक्षमा ताजा बहस दैनिकका सम्पादक मानछिरिङ्ग तामाङ (हाल पत्रिका बन्द र उनी विदेश पलायन), उपाध्यक्षमा जनसवाल दैनिकका सम्पादक रामजी बगाले, महासचिवमा नेपाल टेलिभिजन प्लसमा ‘रोजगारका कुरा’ चलाउने हरि थापा, सचिवमा नेपाल टेलिभिजनमा ‘रोजगारीका आवाज’ कार्यक्रम चलाउने तथा अर्थ र रोजगार मासिकका सम्पादक उद्धव भट्टराई रहेका छन् भने कोषाध्यक्षमा समकालीन साप्ताहिक पत्रिकाका सम्पादक तथा मध्यान्ह दैनिकसँग आबद्ध रहेका रेशम पौडेल र सदस्यहरुमा कोमल दुलाल, घनश्याम आचार्य र रिना श्रेष्ठ रहेका छन् । समाजको सल्लाहकार मध्यान्ह दैनिकका सम्पादक मदन श्रेष्ठ हुन् ।

यता यसबारे प्रतिक्रिया दिँदै वैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष निरञ्जन ज्ञवालीले भने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट गएको शुक्रबारसम्म पैसा निकासा नभएको बताए । उनले भने, ‘हामीले दुई लाखको हाराहारीमा कार्यक्रमका लागि प्रपोजल पठाए पनि बोर्डले पैसा निकासा नै गरेको छैन ।’ साथै उनले कार्यक्रम राम्रो भएको बताए । आर्थिक अनियमितता भएको रहेछ नि भन्ने प्रश्नमा भने उनले त्यसलाई ठाडै इन्कार गर्दै हल्लाको पछि नलाग्न आग्रह गरे । यस्तै वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेसँग प्रतिक्रिया लिनखोज्दा सम्पर्क हुनसकेन ।

साभार: खरीबोट डटकम

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts