काठमाडौँ, ५ पुस ।
सुशील कोइरालाले पार्टी सभापति र प्रधानमन्त्री दुवै पदमा पुग्न नदिने निश्चित देखेपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेल अब कोइराला समूहसँग औपचारिक सम्बन्ध विच्छेदको चरणमा पुगेका छन् । पौडेलले कोइरालासंग अन्तिम पटक सल्लाह गर्ने र आफूलाई सभापति उम्मेदवार बनाउन कोइराला सहमत नभए उनलाई छाडेर नयाँ समूह बनाउने तयारी पौडेलको छ । कांग्रेसको १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा नेताहरूले गुट परिवर्तन गर्न लागिरहेका बेला पौडेलले कोइरालासंग निर्णायक वार्ता गर्न लागेको स्रोतले जनाएको छ । सुशील कोइरालालाई अब सभापति उम्मेदवार नहुन रामचन्द्र पौडेल, कृष्ण सिटौला, नरहरि आचार्य, महेश आचार्य लगायतले दबाब दिइरहेका छन् ।
तर कोइराला आफै सभापति दोहोरिने प्रयासमा छन् । उनलाई कुनै पनि हालतमा उम्मेदवार बनाउन सशांक कोइराला, आनन्द ढुंगाना, दिलेन्द्र बडु, दिलवहादुर घर्ती, दिपक गिरीहरू लागिपरेका छन् । यदि कोइराला पावरमा नरहे आफूहरूको बिजोग हुने देखेर उनीहरूले कोइरालालाई उम्मेदवार बनाउन लागेको आरोप पौडेल पक्षको छ । अहिले कोइराला समूहमा प्रष्ट रुपमै दुइधार देखिएको छ ।
रामचन्द्रलाई उम्मेदवार बनाउन कोइरालाले नमानेको खण्डमा पौडेल यसपटक उनको समर्थनमा हुने छैनन् । उनका सामु कि त देउवासंग मिल्ने वा अर्को प्यानल बनाउने विकल्प छन् । स्रोतका अनुसार, देउवाले रामचन्द्रलाई सहयोगको हात अघि बढाइसकेका छन् । आफूलाई सभापति बनाउन सघाउने हो भने पौडेललाई प्रधानमन्त्री बनाउन सघाउने आश्वासन देउवाले दिएका छन् । पौडेलका लागि कोइरालालाई साथ दिनुभन्दा देउवासंग सम्झौता गरेर जानु फाइदाजनक हुने सुझाव उनका निकटस्थहरूले पनि दिएका छन् । ‘हिजो पनि रामचन्द्र दाइलाई देउवाले साथमा लिन खोजेकै हो, पार्टी फुटाउने भेलाबाट अचानक कोइरालातिर लागेर हिंडेका हुन्, त्यसयता कोइरालाहरूले उनलाई प्रयोगमात्र गरे कहिल्यै अघि बढ्न दिएनन्’ देउवा पक्षधर एक नेताले भने । रामचन्द्रले देउवासंग मिल्न जानु भनेको कोइराला पराजित हुने निश्चित हुनु हो । त्यो अवस्थामा कोइराला पक्षबाट सुशील उम्मेदवार नहुन सक्ने एक नेताले बताए ।
कोइराला कुनै पनि हालतमा कांग्रेसको नेतृत्व कोइराला परिवारबाट बाहिर जान दिदैनन् । वीपीले कृष्णप्रसाद भट्टराईलाई नेतृत्व हस्तन्तरण गरे बाहेक अहिलेसम्म कांग्रेस कुनै न कुनै रुपमा कोइराला परिवारकै नेतृत्वमा छ । गिरिजाप्रसादले करीव १८ वर्ष नेतृत्व गरेपछि सुशील कोइरालामा हस्तान्तरण भएको नेतृत्व अब सशांक कोइरालामा हस्तान्तरण गर्नेगरी वातावरण बनाउन लागिएको छ । त्यसका लागि अहिले सुशील सभापति हुने र पछि सशांकलाई उपसभापति बनाएर गिरिजाले सुशीललाई कार्यवाहक दिए जस्तै कार्यवाहक सभापति सशांकलाई बनाउने डिजाइन भित्रभित्रै भइरहेको छ । त्यही कारण रामचन्द्र पौडेलले कोइराला समूहबाट सभापति उम्मेदवार बन्न पाउने सम्भावना छैन ।
राम बाहिरिए के होला ?
यदि रामचन्द्र कोइराला समूहबाट बाहिरिए भने के हुन्छ ? यो प्रश्न अहिले कांग्रेसमा उठिरहेको छ । कांग्रेसको राजनीतिमा रामचन्द्र पौडेल आफैंमा ठूलो शक्ति होइनन् । उनको आफ्नै लोभी स्वभावका कारण धेरै नेता कार्यकर्ता बोकेर बस्न उनी सक्दैनन् । तर, पनि कांग्रेसको राजनीतिमा पौडेल कता लाग्छन् भन्ने कुराले मनोवैज्ञानिक अर्थ राख्छ । अहिले सुशीललाई रामचन्द्रले छाड्ने भन्नुको अर्थ धेरै प्रभावशाली नेताहरू सुशीलबाट अलग हुने अवस्था छ । कृष्ण सिटौला, चन्द्र भण्डारी, नविन्द्रराज जोशी, अर्जुन जोशी, अर्जुन नरसिंह केसी, गगन थापा लगायतका नेताहरू त्यो अवस्थामा अलग समूहमा पुग्न सक्छन् । रामचन्द्रले अलग समूह बनाउने अवस्थामा कोइराला र देउवा खेमाका कतिपय नेताहरू पनि त्यसमा सहभागी हुने दावी गरिएको छ । तर, देउवा समूह अहिले एकढिक्का छ ।
शेरवहादुर देउवा यसपटक जित्ने चुनावमात्र लड्नेछन् । यो कुरा रामचन्द्रले पनि बुझेका छन् । महाधिवेशन प्रतिनिधि छनौट भइसक्दा आफ्नो अवस्था सुदृढ नदेखेमा देउवा सभापतिको उम्मेदवार बन्ने छैनन् । त्यो अवस्थामा देउवा पक्षबाट उम्मेदवार बन्ने नेता पूर्णबहादुर खड्का बाहेक प्रभावशाली कोही छैनन् । देउवा फेरि चुनाव लडेर सुशील कोइरालासंग पराजित हुनेगरी कुनै पनि हालतमा सभापति उम्मेदवार बन्न नसक्ने प्रष्ट भइसकेकाले पनि रामचन्द्रका लागि देउवासंगको सहकार्य फलदायी हुन सक्छ । देउवा खेमाबाट देउवा बाहेक सभापतिको अर्को उम्मेदवार विमलेन्द्र निधि पनि हुन् । तर, निधि पछिल्लो समयमा कांग्रेसभित्र अलोकप्रिय भएका छन् । मन्त्री हुँदा भ्रष्टतन्त्रका पक्षधर, विशेष त नाकाबन्दीको समर्थन गरेर उनी आलोचित भएका छन् ।
देउवा आफू सभापति उम्मेदवार हुँदा पनि महामन्त्री उम्मेदवार कोइराला खेमाबाटै आयात गर्ने पक्षमा छन् । देउवाको महामन्त्रीमा एक नम्बर उम्मेदवार कृष्ण सिटौला नै हुन् भने त्यसपछि पूर्णबहादुर खड्का र अर्जुन नरसिंह केसीको नाम चर्चामा छ । देउवा जिताउने मूल्यमा महामन्त्रीमा देउवाका परम्परागत भित्रियाहरू बालकृष्ण खाँण, ज्ञानेन्द्रवहादुर कार्की लगायतले कुनै दावी गर्ने छैनन् । यदि देउवा सभापति हुने भएमा अब बन्ने सरकारमा कांग्रेसबाट पौडेललाई प्रधानमन्त्री बनाउने आश्वासन देउवाले दिनेछन् र आवश्यकता परे लिखित सहमति गर्न समेत तयार रहेको सन्देश उनले पठाएका छन् । त्यसो हुनु भनेको कांग्रेसमा कोइराला परिवारको विरासत ढल्नु हो । अहिले कांग्रेसमा देउवा र कोइरालाको भागबण्डा ६० र ४० भए पनि शक्तिको हिसाबले ५५ र ४५ छ । रामचन्द्र पौडेल देउवातिर लागे भने यो समीकरणले ठीक ट्रयाक लिन पनि सक्छ । – विक्लीनेपालबाट
- See more at: http://ift.tt/1S3hA1B
No comments:
Post a Comment