काठमाडौं,असोज २६ । हिन्दु धर्मालम्बीहरुको महान चाड बडा दशैको पहिलो दिन आज घटस्थापना गरी घर घरमा जमरा राखिँदैछ । आजको दिन दियो कलश र गणेशको पूजा सहित माटोको पूर्ण घडामा गाइको गोवर टाँसी जौ मकै रोपेर घटनस्थापना गर्ने सनातन हिन्दु परम्परा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाको साइत आज बिहान ११ बजेर २५ मिनेटमा रहेको छ । त्यसैगरी सरकारी कार्यालय र सेनाको झन्डा फेर्ने साइत असोज २७ गते बुधबार बिहान ११ बजेर ३५ मिनेटमा शुभ रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो । आज काठमाडौको हनुमानढोकास्थित दशै घरमा पनि घटस्थापना गरी जमरा राखिँदैछ ।
यसरी राखिएको जमरा दशैको अन्तिम दिन कोजाग्रत पूर्णिमामा विसर्जन गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको रुपमा मनाइने यो पर्वको नवरात्रीभर शक्तिपीठहरुमा बली दिइनुका साथै दशै घरमा प्रत्येक दिन दुर्गा सप्तशती र भगवतीको पूजा आराधना गरिन्छ । आजको दिनदेखी वडादशैँ अवधिभर नवरात्र मेला पर्वका रुपमा शक्तिपीठ तथा घटस्थापना गरिएको स्थपाना घरमूली अथवा पण्डित पुरोहितद्वारा सप्तशती चण्डी र भगवती स्तोत्र परायण गरिन्छ ।
कात्तिक १ गते आइतबार पचली भैरबको यात्रा परेको छ । कात्तिक ३ गते मङ्गलबार फूलपातीका दिन बिहान १० बजेर ५५ मिनेटमा तुलजा भवानीको यात्राको साइत जुरेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत त्यसै दिन बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । फूलपाती भित्र्याउन भने साइतको आवश्यकता नपर्ने अध्यक्ष गौतमले बताउनुभयो । कात्तिक ४ गते बुधबार महाअष्टमी व्रत र त्यसै दिन राति कालरात्री पूजा गर्नुपर्ने पनि समितिले जानकारी गराएको छ ।
कात्तिक ५ गते बिहीबार महानवमी र विजयादशमी एकै दिन परेको छ । ‘त्यस दिन महानवमीको पूजापाठ आदि कार्य सकेर मात्र विजयादशमीको पूजापाठ सुरु गर्नुपर्ने शास्त्रीय विधि रहेको छ,’ अध्यक्ष गौतमले बताउनुभयो । कात्तिक ५ गते बिहीबार देवी विसर्जनको साइत बिहान १० बजेर ४५ मिनेटमा रहेको छ भने टीकाप्रसाद ग्रहणको साइत खोज्नेका लागि बिहान १० बजेर ५५ मिनेटको साइत उत्तम रहेको छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्न हुने भए पनि साइत नै खोज्नेका लागि मात्र १० बजेर ५५ मिनेटको साइत उत्तम भएको पनि अध्यक्ष गौतमले स्पष्ट पार्नुभएको छ । शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीकाप्रसाद ग्रहण गर्न साइत नचाहिने पनि उनले जानकारी दिनुभयो ।
विजयादशमीका दिन गरिने तुलजा भवानीको यात्राका लागि कात्तिक ५ गते बिहान ११ बजेर १ मिनेटको साइत र स्थिर आसनका लागि बिहान ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको छ । खड्ग यात्राको साइत कात्तिक ५ गते विजयादशमीकै दिन ११ बजेर ५५ मिनेटमा राम्रो रहेको छ । दुर्गा पक्षमा विधिअनुसार दिइने सम्पूर्ण बलिलाई कात्तिक ९ गते सोमबार समाप्त गर्नुपर्नेछ । त्यस दिन बेलुकी ८ बजेर १३ मिनेटदेखि पूर्णिमा तिथि लाग्ने र मध्यरातमा पनि पूर्णिमा परेकाले कोजाग्रत पूर्णिमा ९ गते नै मनाउनुपर्ने शास्त्रीय विधि रहेको समितिको ठहर छ । पूर्णिमा व्रत भने कात्तिक १० गते मङ्गलबार परेको छ । आकाशदीप दान र कात्तिक स्नान आरम्भ पनि कात्तिक १० गते मङ्गलबार नै सुरु गर्नुपर्नेछ । यस वर्ष आठ रात नौ दिनको नवरात्र परेको छ ।
नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रुपमा दुर्गा देवीको पूजा पाठ गरिने भए पनि तिथिको घटबढका कारण यस वर्ष पनि गत वर्षकै जस्तोे योग परेको हो । नौ दिन दश रात लगाएर गरिने कार्य भएकैले नवरात्र भन्ने गरिएको हो । चैतको नवरात्रभन्दा ठूलो पर्वका रुपमा मनाइने भएकाले शरद ऋतुको आश्विन शुक्ल पक्षमा पर्ने दसैँलाई बडादसैँ पनि भन्ने गरिन्छ ।
No comments:
Post a Comment